भुटानी राजाले भने, ‘नेपालमा जन्मेको हुँदा घनिष्ट सम्बन्ध छ’
नयाँ दिल्ली : भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले आफ्नो जन्मस्थान नेपाल भएकाले नेपाल र नेपालीसँग घनिष्ट सम्बन्ध रहेको बताएका छन्। भुटानकालागि गैरआवासिय नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा उनले यस्तो बताएका हुन्।
राजदूत आचार्यले बिहीबार भुटानको राजधानी थिम्पुमा वाङचुक समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको छोटो कुराकानीमा क्रममा उनले यो सम्बन्धबारे पून दोहोर्याएका हुन्। यस अघि नेपालमा भएको पछिल्लो सार्क शिखर सम्मेलनमा काठमाडौं जाँदा वाङचुकले नेपाल आफ्नो जन्मस्थल भएको बताएका थिए। २१ फेब्रुअरी १९८० मा उनको जन्म काठमाडौंमा भएको हो। 
तस्बिर सौजन्य : प्रधानमन्त्री भुटानको ट्वीटरबाट
भेटका क्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रधानमन्त्री के.पी शर्मा ओलीकोतर्फबाट मित्रता तथा शुभकामना सन्देश सुनाएका थिए। प्रत्युत्तरमा वाङचुकले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिएका थिए।
राजदूतले वाङचुक समक्ष नेपाल र भुटानबीच उच्चस्तरीय भ्रमणको आदान प्रदानका साथै मैत्री सम्बन्धलाइ थप विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिए। वाङचुकले नेपाल र भुटानबीचको गहिरो साँस्कृतिक सम्बन्धबारे पनि उल्लेख गरे।
भारतमा बसेर भुटान समेत हेर्ने जिम्मेवारीसहित आचार्यलाई राजदूत नियुक्त गरिएको हो। जिम्मेवारी सम्हालेको झण्डै आठ महिनापछि आचार्यले भुटानमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत ३ फेब्रुअरी २०१९(२०७५ माघ २० गते ) राजदूत पदको सपथ लिएका थिए। उनी १८ फेब्रुअरीमा कार्यभार सम्हाल्न दिल्ली आएका हुन्। उनले १३ मार्च २०१९ मा भारतका राष्ट्रपति रामनाथ कोबिन्द समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए।
राजदूत आचार्यले भुटानका प्रधानमन्त्री डा ल्होत्से छिरिङसँग पनि शिष्टाचार भेट गरेका छन्। आचार्य भुटानका परराष्ट्र मन्त्री टाण्डी दोर्जी ले आयोजना गरेका रात्री भोजमा सहभागी भए। सोही कार्यक्रममा उनले अर्थमन्त्री र भुटानका पूर्व प्रधानमन्त्रीसँग पनि भेट गरेका थिए। ऐतिहासिक र साँस्कृतिक समानता रहेको नेपाल र भुटानबीच सन् १९८३ मा कुटनीतिक दौत्य सम्बन्ध स्थापित भएको हो।
HE Mr. Nilamber Acharya, Ambassador of Nepal to Bhutan presented credentials to His Majesty The King and called on Prime Minister Dr Lotay Tshering.
— PM Bhutan (@PMBhutan) October 17, 2019
Bhutan and Nepal share historical and cultural similarities. Diplomatic relations between the two countries was establishedin 1983. pic.twitter.com/DFDaalWxH7
प्रतिक्रिया दिनुहोस !