बैतडीमा चट्याङ प्रतिरोधी र पहिरो पूर्व सूचना प्रणाली जडान
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिकाले नगरपालिका परिसरमा चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्व सूचना प्रणाली जडान गरेको छ । युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी र हिमालय कन्जर्वेसन गु्रपको प्राविधिक सहयोगमा उक्त प्रणाली जडान गरिएको नगरपालिकाका प्रवक्ता चक्रप्रसाद बताए ।
चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र पहिरोको जोखिम न्यूनीकरणका लागि पहिरो पूर्व सूचना प्रणाली जडान गरिएको उनले बताए । उनले भने, 'अहिले नमूनाको रुपमा नगरपालिका भवनको परिसरमा चट्यांङ प्रतिरोधी प्रणाली र पहिरो पूर्व सूचना प्रणाली जडान गरिएको छ । यो प्रणाली प्रभावकारी भएमा हामी नगरका अन्य क्षेत्रमा पनि जडान गर्नेछौं ।'
चट्याङबाट बच्नका लागि नगरपालिकाको परिसरमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिएको भुगर्भशास्त्री डा.रञ्जनकुमार दहालले बताए । तामाको तारलाई एउटा खाल्डोमा हालेर लाइटिङ रडसँग जोडिएको छ। खाल्डो भवन परिसरभन्दा २० मिटर पर बनाइएको छ।
यसले चट्याङ पर्दा चट्याङ सोसेर जमीनमा विलय गर्छ र चट्याङबाट हुने क्षति कम हुन्छ। यो प्रतिरोधी प्रणालीबाट ५० मिटर वरपर चट्याङको जोखिम नहुने डा. दाहालले बताए । यस्तै नगरपालिका भवन परिसरमै पहिरो पूर्व सूचना प्रणाली पनि जडान गरिएको छ । वर्षा भएको बेला पहिरो जानसक्ने सम्भावना भएमा घण्टी बज्ने प्रविधिसहित पहिरो पूर्व सूचना प्रणाली जडान गरिएको डा. दाहालले बताए ।
जमीन खस्किदै गएमा तलतिरको पाइप पनि खस्कदै जान्छ। पाइप खस्कदा पाइपको टुप्पोमा राखेका गुच्चा पनि खस्छन् र पाइपको तलतिर राखिएको बेलमा ठोकिन्छन्। त्यसपछि घण्टी बज्छ । घन्टी बजेमा पहिरो जाने सम्भावना बुझ्नुपर्छ।
यो प्रणाली अहिले नमूनाको रुपमा जडान भएको र यसले प्रभावकारी रुपमा काम गरेमा केही महिनापछि साइरन नै जडान गर्ने नगर प्रवक्ता शर्माले बताए । नगरपालिका परिसरमा राखिएको चट्याङ प्रतिरोधी प्रणाली र पहिरो पूर्व सूचना प्रणालीबाट विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले नगरपालिकासँग मिलेर विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको र यो प्रणाली सफल भएमा अन्य वडामा पनि विस्तार गरिने रेडक्रसका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस !