सडकले तोड्यो सम्बन्ध
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–९ चिलाउने र अयाँरखालीका बासिन्दा एउटै परिवारका सदस्यजस्तै हुन्। वर्षौंदेखि मिलेर बसेका उनीहरू सोमबारको घटनापछि एक अर्कासँग नबोल्ने अप्ठ्यारो स्थितिमा पुगेका छन्। यसको कारक भने नगरपालिकाले वा कुनै पनि निकायले बजेटै नदिएको सडक आफुखुसी निर्माण गर्नु नै बनेको छ।
चिलाउनेदेखि पार्ससम्मको सडक निर्माणका क्रममा अयाँरखालीकी गौरी जोशीलाई डोजरले घाइते बनाएपछि अहिले दुवै गाउँका बासिन्दाबीच फाटो देखिएको छ। उनीहरू एक पक्षले अर्को पक्षलाई दोष लगाइरहेका छन् भने पुरानो सौहार्दतामा समेत भाँजो फाट्दै गएको छ।
‘मेरो छोरालाई हानेर घाइते बनायो। मेरै जमीनमा डोजर चलायो। म उनीहरूसँग दिल खोलेर कसरी बोल्न सक्छु ? ’, स्थानीय वृद्ध विष्णुदत्त जोशीले भने। ‘हामीले सहमति गरेर सडक लैजाउ भनेको हो। हाम्रै जमीनमा डोजर चलाउने, अनि हामीमाथि नै जाइलाग्ने ? यो अवस्थामा उनीहरूलाई आफ्ना भनेर कसरी मान्नु ? ’
बिना बजेटका सडकले विवाद दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा निर्माण भइरहेको चिलाउने–पार्स सडक र चिलाउने–अयाँरखाली–पार्स सडक बिनाबजेट काटिएको पाइएको छ। नगरपालिकाको मौखिक आश्वासनमै दुवै पक्षले सडक निर्माण गर्दा विवाद देखिएको छ। ‘सडक निर्माण गर्छौं भनेर दुवै पक्ष नगरपालिकामा आएका हुन्। तर हामीले सहमति गरेर मात्रै सडक निर्माण गर्नु, तिहारपछि दुवै पक्ष मिलेर निर्माण अघि बढाउनु भनेका थियौं,’ नगरप्रमुख थापाले भने। ‘दुई पक्षबीच सहमति नहुँदा झडपको स्थिति आयो। हामीले दुवै सडकमा रकम विनियोजन गरेका छैनौं। त्यसैले हामीले निर्माणको आदेश पनि दिएका छैनौं।’
सुन्नाखानदेखि पार्ससम्मको सडक निर्माणका लागि दुई वर्षअघि उपभोक्ता समिति बन्यो। समितिले चिलाउनेसम्म वडा कार्यालयको ४ लाखको सहयोगमा करिब डेढ किलोमिटर सडक बनायो। चिलाउनेबाट सडक कताबाट लैजाने भनेर दुवै पक्षबीच विवाद भएपछि अहिले गाउँ नै दुई फ्याक भएको छ।
चिलाउने, अयाँरखाली हुँदै पार्ससम्म सडक जोड्ने एउटा पक्ष र चिलाउने हुँदै पार्ससम्म सडक जोड्ने अर्को पक्ष भएपछि विवाद बढेको हो। ‘हामीले पनि सहमति गरेर सडक लैजाऔं भनेका हौं। तर जमीनवाला पक्षले सहमति नगर्दा यस्तो घटना भयो। यो घटनाले गाउँ नै छिन्नभिन्न बनाइदियो,’ स्थानीय मनिराज जोशीले भने, ‘सडक हामीलाई पनि आवश्यक थियो, उनीहरूलाई पनि आवश्यक थियो। दुवै पक्ष मिलेर गरौं भन्दा पनि मानेनन्। अहिले आपसमै मनमुटाव उत्पन्न भएको छ।’
‘दुवै गाउँका दिदीबहिनी मिलेर काम गथ्र्यौं। हामी एकै परिवारका मान्छे हौं। यसरी हामीलाई डोजरले हुत्याउलान् भनेर सोचेकै थिइनँ,’ स्थानीय भागरथी जोशीले भनिन्, ‘हाम्रो खेतमा डोजर नचलाऊ भन्दा हामीमाथि नै जाइलागे। अहिले नजिकै पनि नपर्ने स्थिति भएको छ। डोजरले सडक नकाटेको भए यस्तो हुने थिएन।’
सडककै कारण दुई पक्षबीच मनमुटाव बढ्दै गएको वडा सदस्य हंशराज जोशीले बताए। उनले भने, ‘हामीले दुवै ठाउँमा सडक निर्माण गर्नुपर्छ भनेर प्रयास गरीरहेका थियौं। सोमबार एक्कासी अप्रिय घटना भयो। यसले हामीलाई पनि दुःखित तुल्याएको छ। दुवै पक्षले मिलेर काम गरेको भए यस्तो हुँदैनथ्यो। यसले गाउँमा विखण्डन ल्याएको छ।’
घटना राजनीतिकरण हुँदै
सोमबार डोजरले महिलालाई हुत्याएपछि त्यहाँ अहिले राजनीतिक रंग पनि देखिन थालेको छ। चिलाउनेदेखि अयाँरखालीसम्मको सडकलाई कांग्रेस र चिलाउनेदेखि पार्ससम्मको सडकलाई नेकपाको सडकको रूपमा हेरिन थालेको छ।
‘अहिलेसम्म गाउँमा राजनीतिक विभाजन थिएन। हामीहरू आपसमा मिलेरै बसेका थियौं। यो घटनालाई राजनीतिक रूपमा पनि हेर्न थालिएको छ,’ स्थानीय भवानीदत्त जोशीले भने, ‘अब एक गु्रप कांग्रेस र अर्को गु्रप नेकपा निकट देखिन थालेको छ। यसले हामीलाई फाइदा गर्दैन।’
‘हामीले सडक बनाउन चार दिनसम्म सहमति गर्ने समय मागेका थियौं। तर हाम्रो कुरा नसुनी सत्ताको आडमा डोजर चलाइयो। यसले हामीलाई निकै दुःखित बनाएको छ,’ वृद्ध गोपालदत्त जोशीको यो भनाइले पनि घटना राजनीतितिर मोडिन थालेको आभास हुन्छ।
ग्वाल्लेकमा सडक निर्माणका लागि दुवै पक्षलाई आपसी सहमति गरेर मात्रै काम अघि बढाउन आग्रह गरेको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए। उनले भने, ‘हामीले राजनीतिक रूपमा त्यस्तो केही पाएका छैनौं। दुवै पक्षले सडक मागे। तल्लो सडकमा जमीनको विवाद थियो, मिलाएर मात्र सडक काट्न भनेका थियौं। तर सहमति नगर्दा घटना भयो।’
डोजरधनी भवानीदत्त जोशीले पनि आफूलाई सहमति भइसकेको भनेर सडक निर्माणका लागि बोलाएका दाबी गरेका छन्। उनले भने, ‘हामीले सहमति गरेर सडक निर्माणका लागि आउनोस् भने तर यता विवाद रहेछ। मैले डोजर नहालौं भन्दा निर्माण पक्षले पनि मानेनन्। जमीनवाला पक्षले पनि अगाडि बढ्न नदिने ढिपी गरेपछि यस्तो अवस्था आयो।’
छानबिन समिति घटनास्थलमा
डोजरले स्थानीयमाथि आक्रमण गरेको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले गठन गरेको छानबिन समितिले पनि बुधबार घटनाबारे जानकारी लिएको छ। घटनास्थलमा पुगेर दुवै पक्षसँग जानकारी लिनुका साथै घटनाका अन्य पक्षबारे पनि बुझेको लिएको छानबिन समितिका संयोजक एवं सहायक सीडीओ लोकेन्द्रसिंह नेगीले बताए। उनले भने, ‘हामीले डोजरले महिलालाई हुत्याएको ठाउँ र सम्बन्धित पक्षसँग छलफल गरेका छौं। प्राप्त जानकारीको विश्लेषण गरेर प्रतिवेदन पेस गर्नेछौं।’

कांग्रेसले गठन गरेको छानबिन समितिले पनि बुधबार नै घटनास्थल पुगेर स्थानीयसँग छलफल गरेको छ। ‘हामीले ग्वाल्लेकमा भएको घटनाबारे स्थानीयसँग छलफल गर्यौं। दुवै पक्षसँग कुराकानी गरेका छौं,’ समिति संयोजक बहादुरसिंह थापाले भने, ‘डोजरले महिला हुत्याउने काम अमानवीय भएको बताए। दुई पक्षबीच सहमति नहुँदा घटना भएको रहेछ। यसमा संयम अपनाउन दुवै पक्षसँग आग्रह गरेका छौं।’
छलफलबाट प्राप्त भएका तथ्यहरूलाई प्रतिवेदन बनाएर पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने संयोजक थापाले बताए। उनले भने, ‘दुवै पक्षबाट धेरै कुरा आएका छन्। हामी प्रतिवेदनसहित ती कुरा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नेछौं।’
प्रतिक्रिया दिनुहोस !