ऊर्जा सम्मेलन तयारी अन्तिम चरणमा
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले आयोजना गर्न लागेको ऊर्जा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।
ऊर्जा क्षेत्रमा भएको परिस्थितिजन्य परिवर्तन, देखिएका सुधार, देशभित्र र बाहिर देखिएका क्षेत्रीय विद्युत् व्यापारको अवसर तथा चुनौतीलगायत विषयमा चर्चा गर्न स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान)ले मंसिर ५ र ६ गते ऊर्जा सम्मेलन गर्न लागेको हो।
ऊर्जा सम्मेलनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अभिभावकत्व प्राप्त भएको छ भने, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, नेपाल विद्युत् प्राधिकरण, जलविद्युत् लगानी तथा विकास कम्पनीजस्ता सरकारी निकायको सहकार्य छ।
क्षेत्रीय विद्युत् व्यापारको सम्भावनाको छलफल अगाडि बढाउन छिमेकी मुलुकको व्यापक सहभागिता छ। ऊर्जा सम्मेलनलाई नेपालमा रहेको भारतीय र बंगलादेशी दूतावासबाट महŒवपूर्ण सहयोग छ।
सम्मेलनमा भारत, बंगलादेश तथा चीनबाट ठूलो संख्यामा व्यक्ति तथा संघ संस्थाको सहभागिता हुनेछ। त्यस्तै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, नेदरल्यान्ड, बेलायत, संयुक्त राज्य अमेरिका तथा जापानबाट उत्साहजनक सहभागिता हुने आयोजकले जनाएको छ।
ऊर्जा सम्मेलनमा क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार नियमन, वित्तीय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघीयतामा ऊर्जा परियोजना सञ्चालन र सहजीकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रदर्शनी हुनेछन्।
समावेशी ऊर्जा क्षेत्रसम्बन्धी सम्झौता हुने अपेक्षा राखिएको छ। यसका अलावा ऊर्जा परियोजना निर्माण स्थलमा मागअनुसार भ्रमणको व्यवस्था गरी सहभागीले चाहेको खण्डमा विभिन्न आयोजनाको स्थलगत भ्रमण गरी नेपालमा ऊर्जा क्षेत्रमा भइरहेको विकासको प्रत्यक्ष अवलोकन गराइनेछ।
प्रतिक्रिया दिनुहोस !