महिलालाई हुत्याउने डोजरका मालिक पक्राउ
बैतडी : डोजरले हुत्याएर महिलालाई घाइते बनाएको घटनामा थप तीन जना पक्राउ परेका छन्। डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूविरुद्ध अनुसन्धान गर्न बिहीबार अदालतबाट सात दिनको म्याद लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले बताए।
उनका अनुसार उनीहरूलाई ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान गरिनेछ। डोजर चालकलाई उक्साएको आरोप उनीहरूविरुद्ध लगाइएको छ। ‘हामीले उनीहरूसँग सोधपुछ गरिरहेका थियौं’, उनले भने, ‘सोही आधारमा उनीहरूलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान थालेका हौं।’ आरोप प्रमाणित भए कानुनअनुसार कारबाही हुने उनले बताए।
डोजर चालक किशोर बोहराविरुद्ध १० दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ। दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको थियो।
प्रतिक्रिया दिनुहोस !