‘असंलग्न आन्दोलनको महत्त्व उत्तिकै’

‘असंलग्न आन्दोलनको महत्त्व उत्तिकै’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विश्व परिवेशमा परिवर्तन आए पनि असंलग्न आन्दोलनको महत्त्व र सान्दर्भिकता अझै उत्तिकै रहेको बताएका छन्। अजरबैजानको राजधानी बाकुमा जारी असंलग्न आन्दोलन (नाम) कोे १८औं शिखर सम्मेलनको एक सत्रमा शुक्रबार अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

शिखर सम्मेलनमा नेपाल एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष चयन भएको छ। उपाध्यक्ष चयन भएपछि प्रधानमन्त्री ओलीले नाम सम्मेलनको अध्यक्षता गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले टेलिफोनमा बताए।

शिखर सम्मेलन उद्घाटन गर्दै भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले असंलग्न आन्दोललाई थप सक्रिय बनाउन आवश्यक रहेको बताए। संयुक्त राष्ट्रसंघको ७४ महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले नामलाई अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा प्रवद्र्धन गर्न आग्रह गरे।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभ आउँदो तीन वर्षका लागि नयाँ अध्यक्षमा चुनिएका छन्। उनले नामलाई समयसापेक्ष र प्रभावकारी बनाएर अघि बढाउन लागिपर्ने बताए। सार्कमा समेत नेतृत्व गरिरहेको नेपाल नामको उपाध्यक्षमा चयन भएको छ। हरेक क्षेत्रबाट उपाध्यक्ष रहने प्रावधान छ।

प्रधानमन्त्री ओलीले ‘समसामयिक विश्वका चुनौतीलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको पालना’ विषयमा बाकु कन्भेन्सन सेन्टरमा जारी सम्मेलनमा अध्यक्षता गरेका हुन्। ‘नामको अध्यक्षता लिएका अजरबैजानका राष्ट्रपति अलियेभपछि उक्त सत्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुभएको हो,’ परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘प्रधानमन्त्री ओलीले १९औं राष्ट्र वा सरकार प्रमुखको सम्बोधनसम्म अध्यक्षता गरेपछि अलियेभलाई अध्यक्षता हस्तान्तरण गर्नुभयो।’ नेपाल एसिया प्रशान्त क्षेत्रबाट नामको उपाध्यक्ष भएकाले सत्रको अध्यक्षता गर्ने अवसर जुरेको हो।

‘पारस्परिक अहस्तक्षेप, सहअस्तित्व, सार्वभौमसत्ता, समानता र स्वाधीनताको सम्मानजस्ता विषय विश्वव्यापी रूपमा उत्तिकै सान्दर्भिक छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सम्मेलन बाङडुङको भावनाअनुरूप असंलग्न आन्दोलनको आधारभूत सिद्धान्त र तिनको आधारभूत आवश्यकताअनुसार अघि बढ्न आवश्यक छ।’ शीतयुद्धमा नेटो र वार्साजस्ता शक्तिको पछि नलागेका मुलुकको अगुवाइमा नाम बनेको स्मरण गर्दै ओलीले भने, ‘विश्वमा घातक हतियार बनाउने काम रोकिएको छैन। यसको भण्डारण बढेको छ।’ नेटो र वार्साको दबदबा अन्त्य भए पनि आर्थिक, व्यापारिक, प्राविधिक प्रतिस्पर्धा कायमै रहेको अवस्थामा नामको सान्दर्भिकता उत्तिकै रहेको प्रधानमन्त्रीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको समस्या समाधान गर्न पनि सदस्य मुलुकबीच सहकार्य आवश्यक रहेको बताए। उनले नेपालले ‘सगरमाथा संवाद’ अन्तरगत जलवायु परिवर्तनको समस्याबारे अन्तर्राष्ट्रिय बहस गर्न लागेको जानकारी गराए।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रिया विश्वका लागि अनुकरणीय रहेको दाबी गरेका थिए। प्रधानमन्त्रीले नामलाई नयाँ परिभाषामा अघि बढाउन आवश्यक रहेको बताए। नामको सचिवालय राखेर यसको भूमिका थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोग प्रमुख अमृतबहादुर राईले पनि नाम सम्मेलनमा आफ्नोआफ्नो सत्रमा धारणा राखेका छन्।

प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, सल्लाहकार, परराष्ट्र र अन्य मन्त्रालयका वरिष्ठ अधिकारी, सञ्चारकर्मी तथा अधिकारीहरू छन्। असंलग्न आन्दोलनको संस्थापक राष्ट्रका हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनमा सक्रिय सहभागिता जनाउँदै आएको छ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आइतबार स्वदेश फर्कने कार्यक्रम छ।

ओली भेटवार्तामा सक्रिय

प्रधानमन्त्री केपी ओलीले शुक्रबार भारतका उपराष्ट्रपति एम बैंकया नाइडुसँग भेटवार्ता गरेका छन्। असंलग्न आन्दोलनको १८औं शिखर सम्मेलनको साइडलाइनमा उक्त भेटवार्ता भएको डा. राजन भट्टराईले बताए। नाइडु र ओलीबीच नेपाल–भारत सम्बन्धबारे छलफल भएको थियो। यसअघि प्रधानमन्त्री अ‍ोलीलाई अजरबैजानका राष्ट्रपति इलहाम अलियभले स्वागत गर्दै संक्षिप्त भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मडुरोबीच संक्षिप्त भेट भए पनि दुईपक्षीय वार्ता भने शनिबार बिहान हुने कार्यक्रम छ। राष्ट्रपति अलियभले दिएको रात्रिभोजमा पनि प्रधानमन्त्री सरिक भएका थिए। रात्रिभोजमा पनि अधिकांश नेताहरुसँग संक्षिप्त भेटवार्ता भएको थियो।

प्रधानमन्त्री ओली नेतृत्व टोलीलाई शुक्रबार बिहान बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभ र उपविदेशमन्त्री नादिर हुसेनोभले स्वागत गरेका थिए। सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुख, परराष्ट्रमन्त्री, प्रतिनिधि, १७ पर्यवेक्षक राष्ट्रका प्रतिनिधि र १० पर्यवेक्षक संगठनका प्रतिनिधि सहभागी छन्। सम्मेलन शनिबार सम्पन्न हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.