प्राणदाता खान नफालौं

प्राणदाता खान नफालौं

विश्वमा भोकमरी व्यापक छ। खानाकै अभाव मानिस मरिरहेका छन्। सन्तुलित भोजनको अभावमा धेरै बालबच्चा कुपोषणबाट ग्रसित छन्। यो हामी सबैलाई थाहा हुँदाहुँदै पनि किन हामी खानालाई सजिलै फाल्दछौं ? आफ्नो लागि आफैंले प्लेटमा खाना लिँदा आधा मिल्काउन कसले सिकायो हामीलाई ? थोरै लिएर पछि के–के खान मन लाग्छ थपेर खाँदा के फरक पर्ला र ? दुःख गरेर कसैले हाम्रो लागि बनाएर खाना दिएको खाना थालमा छाडेर ठूलो–ठालु हुने सभ्यता नेपालीमा कहाँबाट भित्रियो ? आफूले कति खाइन्छ भन्ने पनि नजान्ने हामी कति बुद्धु हौं ?

कुनै विवाह, व्रतबन्ध वा अन्य यस्तै पर्वको भोजभतेरमा हामीहरूले दिल ठूलो बनाएर खर्च गर्छौं। आफ्नो आर्थिक हैसियतलाई नाघेर ऋण खोजेर ठूलो भोजको आयोजना गर्छौं। भव्य पार्टी दिएपछि आफ्नो र आफ्नाहरूको इज्जत बढ्ने, प्रतिष्ठा बढ्छ भन्ने मानसिकता छ हामीभित्र। त्यही भोजभतेरमा खाना खान आउनेहरूले आधाभन्दा बढी खाना फालेर आफूलाई खान्दानी देखाउन रुचाउँछन्।

त्यही फालिएको खाना खान सडक बालबालिका र अन्य सडक मान्छेहरूको भिड लाग्छ। आफूले फालेको खाना आफ्नै अगाडि आएर कसैले खाँदा पनि लाज नमान्ने कस्ता निर्लज्ज हौं हामी ? एकदुईपटक परेपछि पनि सधैं अनावश्यक भाग लिएर खाना फालिरहने कस्ता असभ्य हौं हामी ?

जसले जीवन धान्छ, जसले प्राण दिन्छ त्यही चिज फालेर आफूलाई ठूलो मान्छे मान्ने, हुनेखाने मान्ने कस्तो निकृष्ट सोचबाट ग्रसित छौं ? आफ्ना खेतबारीमा फलेका धान, मकै, गहुँ, कोदो, जौ, फापर, भटमास आदि खाने कुराहरू खाँदैनौं। जुन खाने कुराहरू पौष्टिक पदार्थबाट निकै भरिपूर्ण हुन्छन्। मेरै पालामा गाउँमा हुँदा कोदोको रोटी खाएको बेला कुनै पाहुना आए भने छिटोछिटो त्यो रोटीलाई कसैले नदेख्ने ठाउँमा फालिन्थ्यो।

जसको खेत छैन उसैलाई चारकोस टाढाबाट बेसाएर ल्याएको चामलखान रहर लाग्थ्यो। आफ्नो खेतबारीमा जे फल्छ त्यही खान हामीले किन हुँदैन ? नेपाल जैविक विविधताले भरिएको देश हो। यहाँ हिमाल, पहाड र तराईमा सबै ठाउँमा केही न केही खेती हुन्छ। त्यही खेतीलाई सबैले व्यवस्थित तरिकाले गर्ने हो भने हामी छिट्टै खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छौं।

जहाँ जे खेती फल्छ सबैले त्यही खेती गरौं। बढीमात्रामा आफ्नै खेतबारीमा फलेको खानेकुरा खाने गरौं। हिमाली भेगमा हुनेहरूले धेरै जसो जौ, फापर, आलु, सेमी आदिमा बढी जोड दिऔं। यसो भनिरहँदा हिमालमा बस्नेले चामल खानै हुन्न भनेको होइन। बढी मात्रमा स्थानीय उत्पादनको प्रयोग गर्न सक्यौं भने स्वास्थ्यको हिसाबले अनि आर्थिक हिसाबले पनि सबैलाई फाइदा हुन्छ भन्न खोजेको हो। त्यस्तै पहाडमा बस्नेहरूले मकै, कोदो, भटमासलाई आफ्नो प्रमुख खाद्यान्नको स्रोत बनाऔं। तराईका बासिन्दाले चामल, गहुँ, आलु आदिलाई पहिलो प्राथमिकतामा राख्दा सबैलाई फाइदा नै फाइदा हुन्छ। त्यसैगरी पशुपालन र फलफूल खेती गर्दा भौगोलिक बनोटअनुसार जहाँ जे राम्रो हुन्छ त्यही गर्नु उपयुक्त हुन्छ। यसले व्यक्ति अनि देश दुवैको समृिद्ध हुन्छ।

चाडपर्व भित्रिएसँगै हाम्रा भान्सामा खाद्यान्नहरू बढी मात्रामा भित्रिन्छन्। रमाइलोसँग चाडपर्व मनाउने नाममा चाहिनेभन्दा बढी खाने चिज बनाउने गरिन्छ। आफ्नो शरीरलाई आवश्यक हुने भन्दा बढी खाँदा झन् बिरामी भएर स्वास्थ्यमा नै गडबडी हुन्छ एकातिर भने आवश्यकताभन्दा बढी पकाएर खाने चिज फाल्नाले आर्थिक रूपमा पनि नोक्सानी हुन्छ।

खाने चिज भनेको हाम्रो प्राण हो। यसको अभावमा कोही पनि बाँच्न सक्दैन। धेरै मानिसको परि श्रमबाट खाने चिज फलाइएको हुन्छ। यो सबै बुझेर पनि खाने वस्तुको सम्मान गर्न जानेका छैनौं। जापानीजहरूले खाना खानुभन्दा अगाडि प्रार्थना गरेर मात्र खाने गर्छन्। हामीलाई भने खाने चिज फाल्दा केही नराम्रो अनुभूति हुँदैन।

द्वितीय विश्वयुद्धमा निकै तहसनहस भएको जापानको अर्थतन्त्र अहिले निकै बलियो भएको छ। त्यहाँको कृषि, त्यहाँको स्थानीय उत्पादनको जगेर्ना र उपभोग, खाने चिजलाई भगवानलाई जस्तै आदर गर्ने जापनिजहरूको बानीले गर्दा नै जापानमा विकास भएको हो। त्यहाँ कसैले आफ्नै स्थानीय खाद्यान्न प्रयोग नगरेर अन्य ठाउँबाट ल्याउन चाहन्छ भने निकै बढी कर तिर्नुपर्छ। जसले गर्दा जहाँ जे फल्छ त्यो नखाएर अन्य आयातित खानेकुरा खाने बानी गर्दैनन्। जसले गर्दा एकातिर स्थानीय उत्पादनले स्थानीयकै आर्थिक विकास भएको हुन्छ भने अर्कोतिर राम्रो, पोषणयुक्त खानाखानाले मानिसहरू स्वास्थ्य र निरोगी हुन्छन्।

जापानिजहरूको औशत आयु बढी हुनुको कारण पनि यही हो। नेपालको संविधानमा नै मौलिक हकको रूपमा खाद्यसम्बन्धी हक छ। यसमा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ। प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ। प्रत्येक नागरिकलाई कानुनबमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भन्ने उल्लेख छ। विकट हिमाली जिल्लाहरूमा अहिले पनि खाद्यान्नको समस्या छ। खाद्यान्नको उत्पादन, उचित भण्डारण र उपभोगको राम्रो व्यवस्था मिलाउने काममा सरकार पनि राम्रो काम गर्न सकेको छैन। चाडबाड भित्रिएसँगै बजार झन् अनियन्त्रित हुन्छ। एक बोरा चामल लिनलाई हप्तौं दिन लाइन लागेर बस्ने अवस्था अझै पनि विद्यमान छ।

खाद्य सम्प्रभुता सुन्ने नारा मात्र भएको छ। किसानले उत्पादन मात्र गर्ने हुन्, भण्डारणको क्षमता उनीहरूमा पुग्न सकेको छैन। किसानले सस्तो मूल्यमा बेच्ने र उपभोक्ताले महँगो मूल्यमा किनेर खानबाध्य छन्। फाइदा लुट्नेमा बिचौलियाहरू नै हाबी भएका छन्। उत्पादन गर्नेलाई नै उचित भण्डारण र मूल्यनिर्धारण साथै बिक्रीवितरण गर्ने सम्मको सबै अधिकार सम्पन्न गराउन सके सबैलाई राम्रो हुन्छ। किसानको जीवनस्तरमा वृद्धि हुन्छ।

चाडबाडसँगै अस्पतालमा बिरामीको संख्या बृद्धि हुन्छ। खानपानमा ध्यान नदिँदा नै यो समयमा बिरामीको संख्या बढेको हो। जहाँ, जुन मौसममा जे फल्छ त्यही चिजलाई प्रमुख खाद्यान्न मानेर खाने बानीमा विकास गर्नु जरुरी छ। खाना बनाउन अल्छी मानेर जंक फुड खाने बानी नगरौं।

प्रायजसो सबै स्कुलको होस्टलहरूमा धेरै खाने कुरा फालिन्छ। होस्टलमा अगाडि खाना खानेहरूले निकै फाल्ने र पछाडिकालाई नपुग्ने भएकाले दालमा पानी थपेर खाएका प्रत्यक्ष देखेका छौं अनि खाएका छौं। हामीले हाम्रा सन्तानलाई खाने कुरा फाल्नु हुन्न भनेर स्कुलिङ गर्न सकेका छैनौं। हरेक घरमा सबैले खाने कुरा जति चाहिने हो त्यति बनाउने बानीको विकास गर्नुपर्छ। खाने चिजलाई आफूले पनि नफाल्ने र अरूलाई पनि फाल्न हुन्न भनेर बुझाउनु हामी सबैको साझा दायित्व हो। खानेकुरा सबैको प्राणदाता हो। यसलाई सबैले आदर गरौं, सम्मान गरौं। झुक्किएर पनि कहीं कसैले खाने कुरा नफालौं। हाइलाइट

खाने चिज सबैको प्राणदाता हो। यसलाई सबैले आदर गरौं, सम्मान गरौं। झुक्किएर पनि कहीं कसैले खाने कुरा नफालौं।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.