म्हः पूजा : आफ्नै मन शुद्धिकरणको पर्व
बर्दिबास : बर्दिबासका नेवारहरुले सामूहिकरुपमा म्हः पूजा गरेका छन्। बर्दिबास नेवा समाजले बर्दिबास नगरपालिकाभित्रका सबै नेवारलाई म्हःपूजाको लागि भेला गराएको हो।
पञ्चधुरा माइस्थान मन्दिरमा उनीहरुले सामूहिकरुपमा म्हः पूजा गरेका हुन्।
व्यक्ति स्वंयमले आफैलाई आफैले गर्ने पूजालाई म्हः पूजा भनिएको बर्दिबास नेवा समाजका अध्यक्ष धननारायण श्रेष्ठले जनाए। मनलाई स्वच्छ र साकारात्मक बनाउन प्रत्येक वर्ष दिवाली सकिएपछि भाइटिका अघिले दिन साँझमा मन, वाणी र शरीरलाई शुद्धिकरण गर्न नेवार जातीले म्हः पूजा गर्दै आएका छन्।
पूजाले भोलिका दिनमा विगत झैँ जोस र जाँगरको पुनर्ताजगी गराउँछ भन्ने विश्वास रहिआएको छ। यही विश्वासका साथ सुरु भएको म्हः पूजाले हाम्रो तिहार पर्वलाई अझ विशेष मनाउँदै आएको साथी बचत तथा ऋण सहकारी संस्था अध्यक्ष उत्तमकुमार श्रेष्ठले उल्लेख गरे।
पूजा द्वापर युगदेखि सुरु भएको हुनसक्ने अनुमान गरिन्छ। अध्यक्ष श्रेष्ठ भन्छन्,‘भगवान् खोज्दै मन्दिर धाउनु पर्दैन, मानवको मनभित्र ईश्वरको रुप हुन्छ।’ अरुको भरमा नपरेर आफ्नै कर्ममा विश्वास गर्नुपर्छ भन्ने भावले यो पर्वलाई परापूर्वकालदेखि जीवन्त बनाइराखेको उनको भनाई छ।
भक्तिवादी कठोर युगमासमेत कर्मवादी विचार बोकेको म्हः पूजाले हरेक मानिसभित्र क्षमता हुन्छ, त्यो क्षमताको जस भगवानलाई नदेऊ, भगवान तिम्रै आत्म हो भन्नेमा जोड दिएको छ।
आफ्नो शरीरको तान्त्रिक विधिबाट पूजा गरिन्छ। यो पूजा गरेर वर्षभरि शरीरमा चोट नलाग्ने, विरामी नहुने, सुखशान्ति प्राप्त हुने कामना गरिन्छ। त्यसैले परिवारका सबै सदस्य एकै स्थानमा भेला भएर सामूहिक पूजा गर्छन्।
म्हः पूजा गर्ने समयमा सबैभन्दा पहिले मण्डप बनाइन्छ। त्यसमा ५४ देवी–देवताको प्रतीकको रुपमा ५४ वटा चक्का बनाइन्छ। त्यसमा अष्टदिक्पाल, अष्टमात्रिका लगायतको नाममा तेलको धारा बनाइन्छ। म्हः पूजाका क्रममा जति पनि प्रयोग हुने मखमलको फूल र ओखरले त्यागको भावनाका लागि प्रेरणा मानिन्छ।
सुरुमा तेलको धारा बनाइन्छ। त्यसपछि चामलको पिठोमा बेसार मिसाइन्छ। त्यसमाथि र® राखिन्छ। हरेकको चक्काहरुमा भर्खरै काटेर ल्याएको नयाँ धान राखिन्छ। यो भित्र्याउन त्यसमाथि अक्षता राखिन्छ। अक्षतामाथि फूल र त्यसमाथि जजंका राखिन्छ। यसलाई पञ्चतत्वको प्रतीक मान्ने गरिएको छ। त्यसपछि दायाँ बायाँ सुकुण्डा र त्यसमाथि कुचो राख्ने गरिन्छ। त्यही दिनदेखि नयाँ कुचो पनि प्रचलनमा ल्याउने गरिन्छ।
बाबु, आमा र छोराको प्रतीकको रुपमा सुकुण्डा राख्ने गरिन्छ। यहाँ रहेको दियो, कलश र गणेशको पनि प्रतीकात्मक अर्थ हुन्छ। दियो सूर्यको प्रतीक हो। कलश सातवटा तीर्थको जलको प्रतीक हो। गणेश छोराको प्रतीक हा । त्यसको साथमा पानस पनि नभई हुँदैन। त्यसपछि नयाँ कुचो राखिन्छ।
त्यसपछि आत्मपूजा वा देहपूजा गरिनेहरुको नाममा पाँचकोठा (पञ्चतत्वको प्रतीक) भएको मण्डप बनाइन्छ। त्यो मण्डपमा दीप प्रज्वलित गर्ने र धुप बाल्ने गरिन्छ। त्यसपछि थकाली नकींले मण्डपमा पूजा गरेर अर्घ दिने, सबैलाई टीका लगाएर मण्डपमा पूजा गर्ने गरिन्छ। त्यसबेला हरेकलाई फलफूल रोटी र लामो जजंका दिने चलन छ। अण्डा, माछा, बाराको परिकार पूजाको अन्त्यमा सगुन दिन्छन्, कसैले सगुन लिँदैनन्।
प्रतिक्रिया दिनुहोस !