जीवन र प्रकृतिको सेतु छठ

जीवन र प्रकृतिको सेतु छठ

बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेस, पडाड र हिमालसँग प्रेम छ


छठले मधेसलाई छप्पकै छोपेको छ। दसैं, दीपावली र तिहारपछि महान् पर्व नेपालीको घरआँगनमा आइपुगेको छ। मधुर स्वरमा गुञ्जिने छठको कर्णप्रिय गीतले मिथिलाञ्चल झुमेको छ। आस्था र सहअस्तित्वको नामले छठलाई चिनिन्छ।

छठले सबैभन्दा बढी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्छ। त्यसमा पनि किसानका उत्पादनको विशिष्ट स्थान हुन्छ। करिब ७२ प्रकारका कृषि उपजलाई छठ पूजामा प्रसादका रूपमा प्रयोग गरिन्छ। यसले हराउँदै गएको नेपालको कृषि उत्पादनको पहिचानलाई पुनरावृत्ति गराउँछ। कृषिप्रधान देशमा समयमा बीउ र मल नपाएर, उत्पादन बजार नपाउँदा पिरोलिएका किसानलाई छठ पूजाले हर्षित बनाउँछ। छठ हुनुअघिदेखि नै ठेकुवाका लागि बजारमा गहुँ, चामल, सक्खरको खोजी हुन थाल्छ। नरिवल, बाँसका ढाँकी, सुपलीको खोेजिन्छ। यस बेलामा किसानको उत्पादनले भाउ मात्रै पाउँदैनन्, राम्रै बजार पाउँछन्।

लोकपर्व छठले कृषि उत्पादनको महत्त्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन्। प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ। गबडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, स्याउ, सुन्तला, सक्खर (मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ। प्रकृतिको उत्पादनलाई स्वीकार गरिएको छ। नेपालको कृषि पहिचानलाई छठ पर्वले जगेर्ना गरेको छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई छठले जोड्छ। मानव जातिको पीडाप्रति सजग गरी छठ पर्वले हरेक वर्ष दीपावली समाप्तिपछि मानव र प्रकृतिबीच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको संवेदनशील रागात्मक, अटुट संवाद, सम्बन्धको सूत्रधारलाई सबलीकरण गर्न आइपुग्छ।

भनिन्छ– भक्त र भगवान्सँग सीधा वार्तालाप छठ पर्वमा हुन्छ। यो नै एउटा पर्व हो, जसमा पुजारी र पुरोहितको खाँचो पर्दैन। छठमा अर्घ दिइने सूर्य भगवान् प्रत्यक्ष देख्न सकिन्छ। त्यसैले पुजारी चाहिँदैन। छठ उत्सव मनाउँदा परिवारका युवा सदस्यले यी धार्मिक विधि अवलोकन गरिरहेका हुन्छन्। अवलोकनसँगै विधिहरू सीधै सिक्ने र यो क्रम सन्ततिमा सर्दै आएको छ। केही छठ घाटमा सूर्य भगवान्को मूर्ति निर्माण गरी व्रतालुले सूर्य नमस्कार गर्छन्। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन। व्रतालुहरू सूर्यमन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन्। छठ शब्द संस्कृतको ‘षष्ठी’ बाट विकसित भएको इतिहास छ। चार दिवसीय छठ व्रतमा सबैभन्दा कष्ट, कठिनाइ, दौडधुप, श्रमशक्ति र महत्त्वको हिसाबले कार्तिक शुक्ल षष्ठीको दिनै हुन्छ। कार्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामसाथ मनाइने निकै चर्चित पर्व हो छठ। यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो। यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता ( श्रीसपता) को पूजा गरिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ।

निकै पवित्र, सफा सुग्घर र निष्ठापूर्वक मनाइने विशिष्टता लोकपर्व हो छठ। छठ समाजिक सद्भावको दृष्टिकोणले महत्त्वपूर्ण छ। हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बाराबारको अवस्था अझै छ। कानुनी रूपमा छुवाछूतको अन्त्य भए पनि समाजमा छुवाछूत कायमै छ। तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्वकालदेखि नै भत्काएको देखिन्छ। डोमको पानी नचलाउनेहरू छठमा उनीहरूले बनाएका बाँसका सामग्री, ढाँला, सुपती अर्घ दिन प्रयोग गर्छन्।

छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ। हुन पनि जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा छठप्रतिको आस्था दिनानुदिन बढेको छ। एकताका तराईको पनि निश्चित भूभागमा मात्र मनाइने गरिएको यो पर्व राजधानी सहर काठमाडौं हुँदै विदेशसम्म पुगेको छ।

त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन्। धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै वैमनस्य वा द्वन्द्व कहिल्यै हुने गरेको छैन। सबैको पूजा सामग्री राखेको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन्। सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्ट्याएको पहाडी, मधेसी, जातजाति भेद यहाँ सबै टुंगिन पुग्छ। तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ।

अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरूबेला अछूत भनेर तिरस्कार गर्ने समाजका कुलिन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस्, आँचलमा पर्‍यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन्। यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ। सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाइचारा, सामाजिक एकता र सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम र बुद्ध धर्म मान्नेलाई पनि आकर्षित गर्दै आएको छ। पहाड र राजधानी यतिबेला छठमय भएको छ। विदेशमा बस्ने नेपाली पनि छठ मनाउँछन्। बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेस, पडाड र हिमालसँग प्रेम छ। प्रायःजसो मधेसी परिवारमा गरिमामय स्थानमा भएको महिलाको नेतृत्वमा छठ मनाइन्छ। नारीको महत्त्व छठले पनि बढाएको छ। बालबालिका र युवायुवती यस पर्वमा बढी सक्रिय रहन्छन्। पुजन प्रक्रियाको सुरुदेखि समापनसम्म सबै जाति, समुदाय र धर्मका मानिस सहभागी हुने हुनाले यसलाई समानताको पर्व पनि भन्न सकिन्छ। लोकतन्त्रमा सबै बराबर हुन्छ भने झैं छठ पर्वले आफूलाई लोकतान्त्रिक हो भनेर शदीयौंदेखि चिनाएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, विनाकुनै विभेद गरिब र धनी सबैलाई समानरूपले प्रकाश छर्छन्।

सूर्यको प्रकाशविना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन। सूर्यको प्रकाश सबैका लागि बराबर हुन्छ। प्रचण्ड घाम लाग्दा त्यसले गरिबलाई मात्र पोल्दैन, धनीलाई पनि पोल्छ। त्यसैले सूर्यको व्यवहार सबैका लागि बराबर हुन्छ। सूर्यविना विश्वको अस्तित्वको कल्पना गर्न सकिँदैन। सूर्य ऊर्जाकै कारण विश्व जीवित र चलायमान छ, जीवन र प्रकृतिबीचको सन्तुलन कायम छ। भिटामिन ‘डी’ को मुख्य स्रोत सूर्य नै हो। जीवजन्तु समस्त वनस्पतिको जीवनरक्षा सूर्य ऊर्जाले सम्भव भएको विज्ञानद्वारा प्रमाणित छ। सूर्यको किरणमा छालाको रोगका साथै मुटु, जोर्नी र टाउकाको व्यथालाई निको पार्ने सामथ्र्य भएको प्राकृतिक चिकित्सा विज्ञानले पुष्टि गरेको छ। यसरी महारोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुख, पारिवारिक सुख, सुस्वास्थ्य, दीर्घायु आदिको कामना पूर्तिका लागि सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठ पूजा भनिन्छ।

यस पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ। दसैंमा जस्तो बलि प्रथालाई यस पर्वले निषेध गरेको छ। शाकाहारी र अहिंसा भावले अनि शुद्धतालाई निकै महत्त्व दिई छठ पूजा गरिन्छ। व्रतालुहरू यस पर्वमा प्याज, लसुन, माछा, मासु खाँदैनन्। यस पर्वमा सबैको जयजयकार गरिन्छ। छठ पूजाप्रति कामना पूरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ। त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ। एकताका तराईको पनि निश्चित भूभागमा मात्र मनाइने गरिएको छठपर्व राजधानी सहर काठमाडौं हुँदै विदेशसम्म पुगेको छ।

भविष्यमा यो पर्वले पहाड र तराई–मधेसबीच भइरहेको सद्भावलाई थप प्रगाढ बनाउनुका साथै सांस्कृतिक पर्यटकीय विकासको सम्भावनालाई बलियो बनाउने विश्वास गर्न सकिन्छ।

छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधान गीतबाटै बुझ्न सकिन्छ। छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीतसंगीत घरघरमा गुन्जिन्छन्। जसले छठ आएको भान हुन्छ। गीतले छठ आउँदैछ, तयारीमा जुट पनि भन्छन्। अर्थात्, छठ पर्वप्रति सचेत हुन गीतले सघाउ पुर्‍याउँछ। छठ गीतमा पूजाविधि, कामना पूर्तिका लागि माताको स्तुति तथा सामाजिक सद्भाव बढाउने उक्तिहरू पाइन्छन्।

गीत छठ पूजाको अभिन्न अंग हो। यसले छठ पर्वलाई बुझ्न मात्रै होइन, आकर्षक र रौनक बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। छठ नारी सशक्तीकरणको अनुष्ठानको पर्व हो। सूर्यको उपासनाको पर्व भए पनि यसले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ। सूर्यको उपासनामा कृपालु छठी माईको आशिषविना अनुष्ठान पूरा हुनै सक्दैन। यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.