सद्‍भाव बढाउँदै छठ

सद्‍भाव बढाउँदै छठ

हेटौंडा : राजेन्द्रप्रसाद सेनोरियालाई वीरगन्जमा गएर छठपूजा गरेको हिजोजस्तो लाग्छ। उनी ५/६ वर्षको हुँदा परिवारसाथ छठपूजा गर्न वीरगन्ज जान्थे। उनी हेटौंडामा बढे। त्यतै पढे र व्यवसाय सुरु गरे।

अनि उनको परिवारले नै हेटौंडामा छठपूजा सुरु गर्‍यो। ‘हाम्रो बुवा आमासहित ४/५ घर मिलेर राप्ती खोला नजिक स्वर्गलोकमा रहेको जरुवा खोलामा छठपूजा सुरु गर्नुभएको थियो’, ५८ वर्षीय सेनोरियाले भने, ‘बिस्तारै छठपूजा गर्नेको संख्या बढ्दै गयो।’

सेनोरियाकी ७० वर्षीय भाउजू गोदावरीदेवी छठपूजाको तयारीमा व्यस्त छिन्। ‘हामीले नै हेटौंडामा छठपूजा सुरुवात गरेका थियौं। अहिले यसमा लाखौं मानिस सहभागी भएको देख्दा खुसी लाग्छ’, उनले भनिन्।

हेटौंडामा सीमित मारवाडी समुदाय र तराईबाट बसाइँ सरेर आएकाहरुले मात्र छठपूजा गर्थे। तर अहिले छठ पहाडी समुदायको पनि प्रमुख पर्व बन्न पुगेको छ। हेटौंडा–४ की गीता न्यौपानेले छठको व्रत लिन थालेको एक दशक बितेको छ। व्रत बस्दा रोग निको हुने र मनले चिताएको पूरा हुने धार्मिक विश्वासले नियमित व्रत बस्ने गरेको न्यौपानेले बताइन्।

तराईबासीको उपस्थिति बाक्लिँदै गएको हेटौंडामा छठको उल्लास बढ्दै गएको व्यवसायी नन्दलाल दासले बताए। ‘तराईबासी र पहाडी समुदायले एकसाथ जम्मा भएर छठ पर्व मनाउँछन्’, उनले भने, ‘यसले संस्कृतिक पक्षको जर्गेनासँगै सद्भाव पनि बढाएको छ।’

छठ पूजा समारोह समिति हेटौंडाका उपाध्यक्ष रवि गुप्ताले प्रत्येक वर्ष छठ पर्व मनाउनेहरुको संख्या बढ्दै गएको बताए। ‘यस वर्ष एक लाख बढी श्रद्धालु पूजामा सहभागी हुन राप्ती तटमा पुग्ने हाम्रो अनुमान छ’, उनले भने। हेटौंडा–१० स्थित राप्तीतटमा पण्डाल बनाइनुका साथै बगर सम्याउने र सरसफाइको काम भइरहेको गुप्ताले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.