आमाहरूले कहिले बोल्ने ?

आमाहरूले कहिले बोल्ने ?

महिला साक्षर भएर मात्रै आत्मनिर्भर बन्न सक्लान् त ? पतिले पढेको शिक्षाले पत्नीलाई शिक्षित बनाउला त ? सबै महिलाले आफूले भन्दा बढी पढेको पुरुषसँग बिहे गर्न किन खोजेका होलान् ? आफूले भन्दा कम पढेको पुरुषसँग बिहे गर्न नै नहुने हो र ? उच्च शिक्षा जागिर खानकै लागि मात्रै हो त ? छोरीको उच्च शिक्षाको अध्ययन पूरा नहुँदै बिहे गरिदिन किन हतारिन्छन् घरपरिवार ? छोरालाई जागिर खाएपछि बिहे गर भन्ने बाबुआमाले छोरीलाई पनि जागिर खाएपछि बिहे गरौली भन्न किन सक्दैनन् ? छोराको पढाइ उसको करिअर पथसँग जोड्ने तर छोरीको पढाइलाई राम्रो ज्वाइँ पाउनकै लागि सोच्ने कति कमजोर हो हाम्रो मानसिकता ? सोच्दै र खोज्दै जाने हो भने हामीभित्र यस्ता प्रश्नको खातैखात लाग्छन्।

बाबु शिक्षित भएर छोराछोरीले नपढेका केही परिवार हामीले प्रत्यक्ष रूपमा देखेका छौं तर आमा शिक्षित भएर छोराछारीले नपढेको परिवार हामीले सजिलै भेटाउन सक्दैनौं। छोराछोरीलाई असल बनाउन, सही बाटोमा हिँडाउन आमा शिक्षित हुन जरुरी छ। धेरै नेपाली छोरीको पढाइले बिहेसँगै निरन्तरता पाउँदैन। जुन तहमा पढेको भए पनि बिहेपछाडिको असहज परिस्थितिले पढाइ छोड्न विवश हुन्छन्। आफ्नो पढाइ छाडेर पतिलाई पढाउन सहयोग गर्ने तमाम दिदीबहिनी प्रशस्त छन्। जसले गर्दा माध्यमिक तहको शिक्षाले मात्रै उनीहरूलाई शिक्षित बनाउँदैन। आत्मनिर्भरताको बाटोमा हिँड्न सहयोग गर्दैन एकातिर भने अर्कातिर आफ्नै सन्ततिले पनि कम पढेकी आमालाई तुलनात्मक रूपमा कम आदर र सम्मान गरेको भेटिन्छ।

छोराछोरी धेरै बाबासँग डराउने र आमासँग नडराउने गर्छन्। एउटा शिक्षित, आत्मनिर्भर आमा बन्न सक्ने हो भने छोराछोरी पनि त्यही बाटोमा लाग्न सहज हुन्छ। आमालाई सम्मान, आदर गर्नुको सट्टा नमीठा प्रश्न गर्ने हिम्मत गर्दैनन्। यस अर्थमा पनि महिलाले उच्च शिक्षा हासिल गर्नु अनिवार्य हुन्छ।

ज्ञान हासिल गर्नु भनेको जागिर खानलाई मात्रै होइन। जागिर भनेको त आवश्यकता भए, उचित राम्रो अवसर भएको खण्डमा खाने हो तर पढाइ, ज्ञान भनेको जागिरभन्दा निकै महत्वपूर्ण हो। यसले सुखमा नमात्तिन र दुःखमा नआत्तिन सिकाउँछ। उचित व्यवहार गर्न सिकाउँछ। आफ्नो घरपरिवार, छोराछारी, इष्टमित्रहरूलाई राम्रो स्कुलिङ गर्दै सिंगो मुलुकको उन्नतिका खातिर अगाडि बढ्ने बनाउँछ। कसैले चोर्न नसक्ने, कसैले हर्न नसक्ने, अंशबण्डा लगाउन पनि नपर्ने वास्तवमा शिक्षा अति नै महत्वपूर्ण चिज हो।

पुरुषहरू जस्तै महिलाले पनि उच्च शिक्षाको ज्ञान हासिल गर्न जरुरी छ। छोरीलाई उच्च लेभलको शिक्षा हासिल गरेर आत्मनिर्भर भएपछि मात्र बिहे गर्ने-गराउने चलन बसाल्नुपर्छ। जसरी छोराहरू बिहेको लागि हतारिँदैनन् त्यसैगरी छोरीहरूलाई पनि सिकाउनुपर्छ। छोरी नै सक्षम भएपछि, छोरी नै आत्मनिर्भर भएपछि असल संस्कारमा हुर्केको, दाइजो नखोज्ने ज्वाइँ रोजे उत्तम हुन्छ। ज्वाइँले छोरीले भन्दा बढी पढेकै हुनुपर्छ भन्ने हाम्रो मानसिकता हटाउन जरुरी छ। जब छोरीहरू नै हरेक कुराले सक्षम छन् भने समझदारीमा घरपरिवार चलाउन सकिहाल्छन्। छोरीको पनि आफ्नै पहिचान हुन्छ। नाम आफ्नै हुन्छ। काम आफ्नै हुन्छ। सबै कुरामा ठूलो ज्वाइँ खोज्न आवश्यक पर्दैन।

अहिले सरकारी स्कुलमा गएर हेर्ने हो भने तल्ला तहका विद्यार्थीमा छात्र भन्दा छात्राको संख्या बढी पाइन्छ। आज पनि छोरा र छोरीमा शिक्षा दिनेमा निकै विभेद छ। छोरालाई प्रायजसो राम्रा प्राइभेट स्कुलमा पढाउने हुनाले नै सरकारी स्कुलमा छात्राको संख्या बढेको हो।

तल्लो तहको शिक्षा पास हुने छात्रा पनि उच्च शिक्षामा निकै पछि परिरहेका छन्। यसो हुनुमा हाम्रो समाजमा, हाम्रो परिवारमा अहिलेसम्म पनि छोरी साक्षर भए भइहाल्छ नि भन्ने सोच छ। छोरीलाई स्नाकोत्तरसम्म पढाएर, उसलाई आत्मनिर्भर बनाउने सोच राख्नेहरू औंलामा गन्न सकिने मात्र छन्। धेरैलाई दस पास भएपछि र केहीलाई पलस टुको अध्ययन सकेपछि बिहे गरिदिने चलन, परम्परा र संस्कारले महिलाले स्नातक र स्नाकोत्तर तहको अध्ययन गर्न पाएका छैनन्। एउटा विषयमा विशिष्टता हासिल गर्न नसकेसम्म सामान्य तहको अध्ययनले मात्र व्यक्तिको समग्र व्यक्तित्व विकास हुन सक्दैन। यसैले हरेक क्षेत्रमा तुलनात्मक रूपमा पुरुषभन्दा महिला कमजोर हुन बाध्य छन्।

जन्मँदै कोही पनि बलियो र कमजोर हुँदैन। उसलाई कमजोर र बलियो बनाउने भनेको घरपरिवारले हो, समाजले हो, रीतिरिवाज÷परम्परा÷संस्कारले हो, मानसिकताले हो र अन्य धेरै कुराको प्रभावले हो। जब एउटै कोखबाट जन्म लिएका, एउटै दूध चुसेर हुर्केका छोराछोरीका बीचमै उसकै जन्म दिने बाबुआमाले विभेद गर्छन् भने अरू कसले न्याय गर्ला ? छोरीहरू जन्मदाताबाटै हेपिन पुग्छन् भनेपछि झन् कसरी शिर ठाडो पार्लान् ? पितृसत्ताको चपेटामा चिप्लँदै माथि जान कति अप्ठ्यारो होला ? अब पहिलेका विभेदपूर्ण कुरीति र कुसंस्कारलाई जरैदेखि उखेल्न हरेक आमा सचेत हुनुपर्ने बेला आएको छ। पहिला यस्तो थियो, अहिले यस्तो किन भनेर टाठाबाठा छोरीहरूलाई कराउन छाडेर पहिला हामीलाई अन्याय भएको हो, शोषण भएको हो, विभेद भएको हो अब यस्तो हामीले गर्नुु हुन्न भनेर हरेक आमाले बोल्ने बेला भएको छ।

अबको शिक्षामा हरेक छोरी, बहिनी, बुहारी, श्रीमतीहरू उच्च शिक्षाको अध्ययनमा छुट्नु हुन्न। मैले नपढेर दुःख पाएँ, त्यसैले मैले मेरी छोरीलाई पढाउनुपर्छ। मैले धेरै बुहार्तन सहेँ, त्यसैले मैले बुहारीलाई काममा बढी कजाउनु हुँदैन। उसलाई पनि छोरीसरह पढाउनुपर्छ। उसले मैले झैं दुःख पाउनु हुन्न। मेरी भाउजूले नपढेकीले दुःख पाउनुभएको छ। मैले पत्नीलाई पढाउनुपर्छ भन्ने मानसिकता हरेक श्रीमान्मा हुनुपर्छ। हाइलाइट

पहिला हामीमाथि अन्याय, शोषण, विभेद भएको हो तर हामीले गर्नुु हुन्न भनेर हरेक आमाले नै बोल्ने बेला भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.