वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सव
वीरगन्ज : वीरगन्जमा बिहीबारदेखि नेपाली चलचित्र स्वर्णिम महोत्सव आयोजना हुँदैछ। कात्तिक २१ देखि २३ गतेसम्म चल्ने नेपाली चलचित्र स्वर्णिम महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भइसकेको महोत्सव आयोजक मूल समारोह समितिले जनाएको छ।
महोत्सव मूल तयारी समितिका संयोजक विमल पौडेलले आदर्शनगर रंगशालामा आयोजना हुने महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने बताएका छन्। महोत्सवको समापन २३ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन्।
महोत्सवको उद्घाटनमा बलिउडका चर्चित अभिनेता गोविन्दा पनि सहभागी हुनेछन्। तीनदिने चलचित्र महोत्सवमा नेपाली चलचित्रका नायक एवं अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, नायिका करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, नया“ पुस्ताका नायकहरू अनमोल केसी, प्रदीप खडका, नायिकाहरू पल शाह, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाहका साथै नेपाली चलचित्र क्षेत्रस“ग जोडिएका अन्य विधाका हस्ती पनि सहभागी हुनेछन्।
महोत्सवका लागि सबै तयारी पूरा भइसकेको भन्दै महोत्सव मूल तयारी समितिका संयोजक पौडेलले भने, ‘आयोजना स्थल आदर्शनगर रंगशालामा मुख्य मञ्च, बत्ती, साउन्ड, टेन्टपण्डाल सजावटका सबै काम सकिएको छ’, बुधबारदेखि प्रचार प्रसारल तीव्र पारिएको छ।
उनले महोत्सवमा सहभागी हुने कलाकारहरू बुधबार साँझदेखि नै आउनेक्रम सुरु हुने जानकारी दिए। महोत्सव प्रवेश लागि एक सय रुपैयाँको प्रवेश शुुल्क राखिएको छ। नेपाल चलचित्र निर्माता संघ, नेपाल उद्योग वाणिज्य महासंघ र वीरगन्ज उद्योग वाणिज्य संघले नेपाली चलचित्र स्वर्णिम महोत्सव आयोजना गर्न लागेको हो। तीनदिने महोत्सवमा नेपालका विभिन्न भाषाभाषीका चलचित्र र चर्चित चलचित्रको प्रदर्शनी पनि रहने आयोजकले जनाएको छ।
हिमाल, पहाड र तराईको संस्कृतिलाई जोड्ने र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले आयोजना गर्न लागिएको चलचित्र महोत्सवमा भारतीय चर्चित कलाकारको पनि सहभागिता रहने जनाइएको छ।
महोत्सव आयोजनाका लागि प्रदेश २ को सरकार, पर्यटन समन्वय समिति र वीरगन्ज महानगरपालिकाले पनि सहयोग गरेको नेपाल चलचित्र निर्माता संघका उपाध्यक्षसमेत रहेका संयोजक पौडेलले जानकारी दिए। उनले भने, ‘मधेसको संस्कृति, भाषाको प्रवद्र्धन र यहाँका स्थानीय कलाकारलाई मूलधारको कलाकारिता क्षेत्रमा पनि सहभागिता गराउने महोत्सवको हो।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले महोत्सवले वीरगन्ज क्षेत्रको भाषा, कला, संस्कृति एवं कलकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महŒवपूर्ण भुमिका खेल्ने बताए।
प्रतिक्रिया दिनुहोस !