महरा प्रकरण : अकल्पनीय पटाक्षेप
घटनाको गहिरो छानबिन र फौजदारी कारबाहीबाट आफैंले खनेको खाडलमा जाकिएका श्री एम सरले सफाइ पाउनुहोला ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बहुचर्चित महरा प्रकरणबारे दाङमा पुगेर सार्वजनिक रूपमा बोल्दै पहिलोपटक भन्नुभयो, ‘मैले नारायणकाजी श्रेष्ठ र जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाँट्नुभयो। म आफैं जाँदा पनि ढाँट्नुभयो। नेतृत्वलाई नै ढाँटेर गम्भीर गल्ती गर्नुभयो।’ उहाँको यस कुराले एकसाथ धेरै तथ्य दुनियाँलाई अवगत भएको छ।
अध्यक्ष प्रचण्डको तहबाट आएको कथनले यस प्रकरणमा तथ्यका आधारमा सत्यमा पुग्न नै जोड गरेको बुझ्न सकिन्छ। अझ विगतमा महराका सम्पूर्ण उन्नति, प्रगति र व्यक्तित्व विकासमा योगदान गरेका मुख्य नेताले नै यस्तो भन्नुपर्ने, त्यो पनि महरा निर्वाचित भएको दाङमै पुगेर भनेपछि त मामिला निकै गडबडिएको रहेछ भन्ने बुझ्नु अनिवार्य भएको छ !
नैतिक गल्ती मात्रै कि फौजदारी अपराध ?
खासमा फौजदारी अपराध कानुनअन्तर्गत अदालतले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरिसकेको एक अभियुक्त व्यक्तिका विषयमा उहाँको नैतिक गल्ती मात्र थियो कि यो फौजदारी अपराध नै हो ? –सार्वजनिक बहसको ज्वलन्त प्रश्न सिर्जना भएको छ। दाङमा पत्रकारहरूका माझमा अध्यक्ष प्रचण्डले नैतिक गल्तीका रूपमा महराको यस ‘विश्वव्यापी बदनामी’ लाई अति सामान्यीकरण गरेर प्रस्तुत गर्नुभयो, जो उहाँको निकै विवादित कथन नै बनेको छ।
कानुनको सामान्य विद्यार्थी भएका नाताले म तर्क गर्न मनासिब ठान्दछु कि यो नैतिक गल्ती मात्रै होइन र त्यसो भन्न वा मान्न किमार्थ पनि सकिन्न। मुलुकको प्रचलित संविधान, कानुन, अभ्यास र नजिरहरूले यसलाई नैतिक गल्ती मात्रै भन्दैनन्। हाम्रो नेतृत्वको बुझाइ, विवेक, प्रस्तुति र व्याख्या पनि संविधान तथा कानुनबमोजिम नै हुनुपर्छ भनेर जनसमुदायले अपेक्षा गरेको अवस्थामा यो भिन्न कथन आयो र तरंग नै पैदा भयो।
फौजदारी अपराध कानुनबमोजिम मुद्दा चलिरहेको विषय नैतिक गल्ती मात्रै हुने हो भने अपराधचाहिँ के हो र कस्तो हुन्छ ? अनुसन्धानका क्रममा डीएनए र रगत परीक्षण गर्न नदिने र दिन नमान्ने, मेसिनमा बयान दिन अस्वीकार गर्ने र नेतृत्वले आफ्नो बचाउ नगरेको भन्दै विपक्षी पार्टीका नेतासँग अस्पतालमा भेट गरी रुवावासी गर्ने ! यस खालको तौरतरिका र व्यवहार त झन् अभियुक्तका रूपमा न्यूनतम कानुनीरूपमा पूरा गर्नुपर्ने दायित्वप्रतिको जिम्मेवारी र जवाफदेहीसँग समेत मिल्दै मिलेन।
ढाँटेर त कुनै उन्मुक्ति मिल्दैन !
महराको यो प्रकरण सार्वजनिक भएपछि आफ्नो पार्टी नेतृत्वलाई ढाँट्ने, संसद्लाई ढाँट्ने, मतदातालाई ढाँट्ने, प्रहरीलाई ढाँट्ने, सरकारी वकिललाई ढाँट्ने, निकटस्थहरूलाई ढाँट्ने, इजलासलाई ढाँट्ने र दुनियाँलाई ढाँट्ने रबैयाको परिप्रेक्ष्यमा अझ षड्यन्त्र भएको भनी बेलुनमा हावा भरेर आकाशमा उडाउन खोज्दै कृत्रिम ढंगले अमेरिका, भारत वा अरूलाई दोष थोपरेर सफाइ र उन्मुक्ति पाउन सम्भव हुँदैन। आफ्नो थैलाको मुख राम्ररी बाँधेर राख्न सके छिमेकी वा अरूतिर चोरीको दोष लगाउने कुनै समस्या नै आइलाग्दैन। कमसेकम यति कुरा त बुझ्न सक्नुपथ्र्यो !
जबकि रोशनीले उमा रेग्मीसँगै अरू रोल्पा घरठेगानावाला र नेकपाका अरू महिला नेत्रीहरूलाई एकैसाथ सन्देश प्रवाह गरेको विषयमा कोही पनि महिला महोदयले पार्टीलाई जानकारी नगराई किन ढाँट्न र घटनाको ढाकछोप गर्न खोज्नुभयो होला ? यो अझ आश्चर्यजनक रबैया भएको छ।
बूढापाकाहरूले यत्तिकै त भनेका होइनन्– बहिदार बन्न त सजिलो छ, तर बही बुझाउन धेरै गाह्रो हुन्छ ! आगे अदालतले गर्ने अन्तिम फैसला त गर्ला नै, जो बाँकी छ। किनभने यो कुनै पूर्ववर्ती समूहगत भावना वा दाउपेच र षड्यन्त्रको विषय अथवा कसैको कसैप्रतिको आग्रह, पूर्वाग्रह र रिसरागको कारणले सिर्जित विषय होइन र हुन सक्दैन। जुनखाले अफवाह फैलाउन खोजिएको छ, त्यो अनुचित र भत्र्सनायोग्य रहेको छ।
यस्ता अपराधका मुद्दा–मामिलाका फैसला कथित पीडितजन, तिनका परिवारजन, घनिष्ट साथी, आसेपासे वा निकटका पानी अनलाइन वा समर्थकहरूले गरेर हुने त झनै होइन, कानुनी अख्तियारीप्राप्त निकाय र अदालतले नै न्यायोचित फैसला गर्ने हो। न्याय अभियुक्तको चाहनाअनुरूप नै हुनुपर्छ भन्ने हुँदैन।
सम्मानित पदहरूले पर्खिरहेका थिए
निवर्तमान सभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई झण्डै दुईतिहाइ बहुमतप्राप्त संसद्मा सभामुखमा पदासीन देशको चौथो बरियतावाला सम्माननीय रहेको अवस्था थियो। उहाँलाई प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति तीन पदले पर्खिरहेका मानिन्थ्यो। रोल्पाली हुनुको विरासतले उहाँ छिटोछिटो उकालो चढेर पूर्ववर्ती माओवादी केन्द्रमा सबैभन्दा धेरै अवसर पाउन सफल हुनुभयो र नेकपाले सभामुख नै बनायो। उपराष्ट्रपति नन्दबहादुर पुन, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईपछि उहाँले विद्रोही पक्षबाट वार्ता टोलीको नेतृत्व गर्ने, वरिष्ठ हैसियतवाला राजकीय जिम्मेवारी सम्हाल्ने र पार्टीको महासचिवसमेत बन्ने अवसर पाउनुभयो।
रक्सी बोकेर रोशनीका कोठामा पुगेबापत दसैं र तिहार मान्नसमेत नपाई पक्राउ परेर पुर्पक्षका लागि हिरासतमा बस्नुको कठोर नियति पूर्वसभामुख महराले भोग्नुपर्यो।
कहिलेकाहीं मान्छेले टिप्पणी गरेको सुनिन्थ्यो– उहाँ नेतृत्व क्षमता र सफल भूमिकाभन्दा धेरै माथि पुग्नुभयो ! कतिबेला दूध उम्लिएर अगेनोमा पोखिएजस्तो हालत हुने हो। कतिपयले त्यसो भनेको सुन्दा व्यक्तिगत पूर्वाग्रहको तीतो यसरी ओकलेका होलान् भन्न सकिनेजस्तै लाग्थ्यो। विनम्र, शालीन र भद्र महरा माओवादी आन्दोलनले विकास गरेको एकजना देखाउनलायक पात्र अवश्य मानिनुहुन्थ्यो।
म उहाँको व्यक्तिगत रूपमा ठूलो प्रशंसक नै थिएँ। कहिलेकाहीं लाग्थ्यो– रोल्पा, रुकुमले माओवादी जनयुद्धमा चुकाएको बलिदानको मूल्यमा उहाँ अध्यक्ष प्रचण्डपछि कुनै दिन प्रधानमन्त्रीको सहज दाबेदार पनि बन्न सक्नुहुन्छ होला। तर उहाँको मूलतः २०५२ पछि रकेट उडानको गतिमा उकालो लागेको व्यक्तित्व छंगाछुर भीरबाट खुर्मुरिएर त्रिशूलीमा दुर्घटनामा पुगेजस्तै पो हुन पुग्यो एकदुई घण्टामै ! उहाँ किन यस्तो हुनुभयो ? असोज १२ गतेयता उहाँप्रति प्रकट तीव्र रोषको कारण केवल रोशनी मात्र अवश्य होइनन्। रोशनी बाह्य प्रमुख कारक हुन् नै। उनले बोलेका कुरा बदलून् वा नबदलून्, त्यसको कुनै अर्थ फौजदारी न्याय सम्पादन क्रममा अब हुँदैन। यस प्रकरणमा ’सम्माननीय’ महराको असामयिक पतन ठूलो क्षति र क्षोभको विषय बन्न पुग्यो। यो प्रकरणमा उहाँको नाम जोडिएर सार्वजनिक भएको क्षणदेखि नै म स्तब्ध भएको छु। धेरैलाई जस्तो मलाई पनि यो कुरा पत्याउनै गाह्रो परेको छ।
उहाँले सभामुख पदबाट राजीनामा दिँदा प्रयोग गरेको भाषा र काइते शैली तथा सांसद पदबाट राजीनामा दिन पार्टी सचिवालयले निर्देशन दिइसकेको स्थितिमा पनि गरिरहेको अवज्ञा, अटेरी र ढिट प्रदर्शन किमार्थ मान्य छैन। र, यो मान्य हुन सक्दैन। शंकर पोखरेलजस्ता उदीयमान नेतृत्वलाई तल प्रदेशमा सीमित गरेर वाम गठबन्धनका तर्फबाट हालको नेकपाले नै उहाँलाई दाङबाट निर्वाचित गरेको तथ्य घामजत्तिकै छर्लंग छ। उहाँले सभामुख निर्वाचित हुँदा प्राविधिक रूपमा पार्टी सदस्यता त्यागेको त्यान्द्रो समाएर आफू नेकपामा नरहेको बहानाबाजी बनाएर सांसद पदबाट राजीनामा नदिनुले उहाँकै हैसियत स्पष्ट गरेको छ। नेकपाले यसै बहाना र निर्देशनको अवज्ञालाई आधार बनाई उहाँ दल त्याग गरेर अलग भएको भनी संसद् सचिवालयलाई सूचना दियो भने उहाँको यस बहानाको हालत के हुन्छ ? कम्तीमा यति त हेक्का राख्न सक्नुपथ्र्यो।
सबभन्दा टिठलाग्दो कुरा त महराको यस पतनसँगै सती जान तम्सिनेहरूको संविधान, कानुन र सामाजिक मर्यादाविपरीतको क्रियाकलाप बनेको छ। महराले आफैं यो खाडल खनेको तिनीहरूले किन बुझिरहेका छैनन् ? जबकि तथ्य, प्रमाण र वारदातले महराको पक्षपोषण गर्ने कुनै ठाउँ बाँकी छैन। नेकपाको सचिवालयले त्यस्तो ठाउँ हुँदाहुँदै उहाँलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन किन गर्नुपथ्र्यो होला र ? घटनाको गहिरो छानबिन र फौजदारी कारबाहीबाट उहाँले सफाइ पाउनुहोला ? त्यस्तो सम्भावना देखिँदैन।
उहाँको यो नियति कसैको कारणले होइन, उहाँको आफ्नै आचरण र क्रियाकलापको परिणामले नै निम्त्याएको हो। अर्थात् कसले हो मंगले आफ्नै ढंगले भनेजस्तो भएको छ ! यो कुनै राजनीतिक मतान्तरको विषय भए पो पक्षविपक्ष र न्यायअन्याय भनिकन तर्क–बहस गर्न सकिन्थ्यो ! यो त फौजदारी अपराध हो। अपराधको प्रतिरक्षा, ढाकछोप र पैरवी गर्न सभ्य मानिसलाई सुहाउँदैन ! त्यसैले, अरूतिर जबर्जस्ती औंला तेस्र्याएर त झनै उन्मुक्ति पाउन सम्भव छैन। किनभने, हरेकले आआफ्नै अपराध, गल्ती वा कर्म र योग्यताको परिणाम भोग्नु अनिवार्य हुन्छ।
सांसद पदको विजोग
रेशम चौधरी, हरिनारायण रौनियार, कृष्णबहादुर महरा, मोहम्मद अफ्ताव आलम, प्रमोद साह..! फौजदारी अपराधमा संसद् रित्तिँदै...? शाहीकालीन मन्त्री रूपज्योतिसमेत पक्राउ परिसकेको उदाहरण रोचक छ। अर्थात् गल्ती गर्नेहरूको यो हालत हुनु अनिवार्य छ, ढिलो वा चाँडो मात्रै हो। खासमा यो कानुनी राजको दृढतापूर्वक अभ्यास हुन पुगेको छ। फौजदारी वा भ्रष्टाचारजन्य अपराधका जुनसुकै घटना प्रकरणमा मुछिएका व्यक्तिहरूले आफ्नो प्रतिरक्षा आफैंले गर्नुपर्छ, पार्टी वा संसदीय दलले गर्ने होइन। फौजदारी अभियोग– ‘बलात्कार प्रयास’ को मुद्दा लागेपछि दाङ २ बाट निर्वाचित संघीय प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको सदस्यता निलम्बनकै तहमा स्थगन भएको संसद् सचिवालयले सूचना गरिसकेको छ। उहाँले मुद्दाको अन्तिम फैसला भएर सफाइ पाएको स्थितिमा बाहेक सांसदको हैसियतमा प्रस्तुत हुन र पारि श्रकिक वा सुविधा उपयोग गर्न पाउनुहुने छैन।
सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परी सिंहदरबार प्रहरीपरिसरमा हिरासतमा राखिँदा ‘बलात्कार प्रयास’ का अभियुक्त महराको बिरामी स्थितिको निकै चर्चा भयो र त्यसो भए अस्पताल भर्ना गरी आफ्नो बन्दीप्रति राज्यले मानवीय व्यवहार गर्नैपर्छ। हिरासतमा अक्सिजन दिएको त सभ्य व्यवहार भएन भनेर हामीले सार्वजनिक रूपमै दबाब दिएको परिणामस्वरूप अनुसन्धान अवधिभर उहाँ नर्भिक अस्पतालमा रहेर उपचार गर्न पाएको तथ्य सबैमा विदितै छ।
खासमा एक बिरामी र डिप्रेस्ड महिलाद्वारा पदच्युत पारेर जिउँदै मरेतुल्य वा आत्महत्या गर्नेजस्तो अवस्था बनाइएका रोल्पाली कृष्ण (!? ) कृष्णलीलाको आरोपले मात्र निम्त्याएको यो एक अकल्पनीय परिणाम सावित हुन पुग्यो। सभामुख निवासबाट सीधै अभियुक्तका रूपमा सिंहदरबार प्रहरी वृत्तसम्म जानुपरेको यो घटना कानुनी राजको दुनियाँसामु प्रस्तुत एक सटिक दृष्टान्त भयो। ‘सानालाई ऐन र ठूलालाई चैन’ भयो भनी कोकोहोलो मच्चाई नथाक्नेहरू यसबाट नाजवाफ हुन पुगे। ’सम्माननीय’ नै कानुनी कठघरामा परेपछि आसेपासेका सबै बचाउ प्रयास अर्थहीनजस्तै भएको स्पष्ट छ। महराका छोराहरूले पहिले ’युद्ध’ मा खिचेका पुराना तस्बिर सामाजिक सञ्जालमा ‘पोस्ट्’ गरी सिर्जना गर्न खोजेको आतंकसमेत तत्क्षणमै निर्वस्त्र र प्रयोजनहीन भयो। कानुनी उपचारमा सफाइ पाए निर्दोष, अन्यथा अभियुक्तबाट अपराधी हुने साँघुरो विकल्पबाहेक उहाँसँग अरू केही बाँकी थिएन। यसबाट कानुनतः संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सभामुखलाई समेत उन्मुक्ति नहुँदो रहेछ भन्ने पुष्टि भयो। रक्सी बोकेर रोशनीका कोठामा पुगेबापत दसैं र तिहार मान्नसमेत नपाई पक्राउ परेर पुर्पक्षका लागि हिरासतमा बस्नुको कठोर नियति उहाँले भोग्नुपर्यो।
हिजो पारस शाहले रक्सी धोकेर चलाएको गाडीले सम्साँझै प्रिय गायक प्रवीण गुरुङको ज्यान लिएको घटनालाई राजतन्त्रमा कसरी लुकाइएको थियो ? राजा वीरेन्द्रसामु शाहज्यादा पारसमाथि कारबाही गर्न प्रस्तुत लाखौं हस्ताक्षरको के हविगत भएको धियो ? अझ २०५९ असोज १८ पछि दसैंको टीकाको दिन रोजेर उनै अभियुक्तलाई ‘युवराजाधिराज’ घोषणा गरिएको होइन र ? हत्यारालाई राजगद्दीको उत्तराधिकारी अर्थात् भविष्यमा राष्ट्रप्रमुख बनाउन त्यस ढंगको निर्लज्ज घोषणा गरिएजस्तै अनेकन् उल्टो मतीका त्यस्ता जनविरोधी निर्णयकै कारण २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको जरा नै नेपाली जनताले उखेलेर फ्यालिदिएका होइनन् र ? त्यसखाले परिणामको पाठ आजको नेतृत्वले समयमै सिक्न आवश्यक छ। यहाँ किन्तु वा परन्तुको कुनै कुरा हुन सक्दैन। सामन्ती राजतन्त्र र गणतन्त्रबीच कानुनी राजको अभ्यासमा कति ठूलो अन्तर हुँदो रहेछ ? विगतको शाही राजको प्रेतका रूपमा छट्पटाइरहेकाहरूले पनि यति त व्यवहारमै हेर्न र बुझ्न सक्छन् होला !
निष्कर्षमा भन्नुपर्दा घटना प्रकरणलगत्तै स्वयं महराका पूर्वसहकर्मी डा. बाबुराम भट्टराईको मार्मिक चिठी यहाँनेर स्मरणीय लागेको छ। उहाँले महरालाई घटनालाई ढाकछोप गरेर वा ढाँटेर होइन, सार्वजनिक रूपमा श्वेतपत्र जारी गरेर पश्चात्ताप, आत्मालोचना र माफी माग्ने हिसाबले प्रस्तुत हुन सुझाव दिनुभएको थियो। तर पार्टी छाडेको व्यक्ति भनेर होला, महरा डा. भट्टराईको सुझावभन्दा ठीक उल्टो मति र गतिका साथ अघि बढ्दै यहाँसम्म आइपुगेको स्थिति देख्न सकिन्छ। यो गलत बाटो हो, यसरी उन्मुक्ति होइन, अँध्यारो सुरुङमा फेरि उज्यालोमा कहिल्यै नफर्किने गरी फस्नु अनिवार्य छ। तसर्थ खुला, खुलस्त, आत्मालोचक र सार्वजनिक रूपमा क्षमायाचनाकर्ता हुनु सबभन्दा उचित तरिका हो। बिल क्लिन्टनले मोनिका लेवेन्स्की प्रकरणमा अमेरिकी जनतासमक्ष क्षमायाचना गरेरै माफी पाउन सकेका थिए। गल्ती र अपराध स्विकारे पनि पूर्ववत् हैसियतमा पुनः फर्कने वा स्थापित हुने त होइन, तर जनता र मतदाताले क्रमशः माफी दिने अवस्था भने सिर्जना हुँदै जान सक्छ। यसको हेक्का अरूले होइन, श्री एम सरले नै राख्न सक्नुपर्छ।
–थापा नेकपाका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख हुन्।