चक्रपथमा रूख कटान तीव्र

चक्रपथमा रूख कटान तीव्र

काठमाडौं : कलंकी-चाबहिल चक्रपथ विस्तार क्रममा २ हजार ९३ रूख काटिने भएको छ। चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकीदेखि चाबहिलको धोबीखोलासम्मको ११. ६ किलोमिटर सडक विस्तार हुन लागेको हो। उक्त सडकखण्डमा पर्ने रूख काट्न सुरु गरिएको छ। सडक विभागको सिफारिसमा जिल्ला वन कार्यालय र वन निगमले संयुक्त रूपमा रूख काट्न सुरु गरेको हो। बर्सेनि सडक विस्तार क्रममा धेरै रूख काट्ने गरिएको छ। रूख घट्दै जाँदा वातावरण प्रदूषणमा प्रत्यक्ष असर परेको विज्ञहरू बताउँछन्।

वन निगमका वन प्राविधिक अभिशेक शर्माका अनुसार कलंकी-चाबहिल खण्डमा ३ सय संख्यामा रूख काटेर सकिएको छ। बाँकी सडकका दुवैतर्फका रूख धमाधम काट्ने काम भइरहेको उनले बताए। ‘हामी धमाधम रूख काट्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘सडकमा चाप कम भएको अवस्था हेरेर बिहान-दिउँसो काटिरहेका छौँ।’ काटिएका रूख छनोट गरी लिलाम गरी बिक्री गरिने शर्माले बताए।

यस सडकखण्डमा अहिले काइँयो, पिपल, लहरेलगायत रूख छन्। सडक विस्तार क्रममा यी सबै प्रकृतिका रूख मासिने भएका छन्। अध्ययनअनुसार काठमाडौंको वायुमण्डल अहिले प्रदूषणयुक्त छ। विश्वका प्रदूषित सहरमध्ये सातौं नम्बरमा पर्छ। यस्तो अवस्थामा रूख घट्दै जाँदा सहरको प्रदूषण अझ बढ्ने वातावरणविद् भूषण तुलाधरले बताए। ‘हाम्रो सहरको वायुमण्डल प्रदूषित नै छ,’ उनले भने, ‘यस्तो अवस्थामा रूख-बिरुवाको संख्या घट्दा प्रदूषण बढ्छ।’

सडककिनारमा भएका रूखले २४ प्रतिशतसम्म प्रदूषण रोक्ने उनले बताए। ‘विश्वमा गरिएको वातावरण रिसर्चअनुसार सडककिनारका रूखले २४ प्रतिशतसम्म प्रदूषण नियन्त्रण गर्छ,’ उनले भने, ‘हाम्रो सहरको ठ्याक्कै कति प्रतिशत नियन्त्रण भएको छ भन्न सकिँदैन। तर, सडककिनारका यति धेरै रूख काटिनु वातावरणीय हिसाबले राम्रो होइन।

चीन सरकारले विस्तार गर्ने भनिएको यस सडकखण्डको राइट अप वे क्लियर नभएसम्म डीपीआर तयार नगर्ने भएको छ। त्यसैले अहिले डिजाइन र अध्ययन पूरा नगरी रूख कटान गर्न लगाउँदा बचाउन सकिने रूख पनि नबच्ने वातावरणविद् तुलाधरको भनाइ छ। ‘कोटेश्वर-कलंकी विस्तार क्रममा पनि महालक्ष्मी स्थानका केही स्थानका रूख बचाइएको छ,’ उनले भने, ‘त्यसलाई उदाहरणका रूपमा लिएर काम गरेको भए केही रूख बचाउन सकिने थियो।’

चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार अहिले रूख काटिए पनि सडक विस्तारपछि बिरुवा रोपिने बताए। ‘सडक विस्तारको काम सकिएपछि वन विभागसँगको सहकार्यमा हामी बिरुवा रोप्छौँ,’ उनले भने। तर, बिरुवा रोपेर हुर्काउने भन्दा हुर्केका बिरुवा संरक्षण भए उचित हुने तुलाधरले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.