चीनमा सुरसुधा

चीनमा सुरसुधा

पइचिङ : नेपाली चिनियाँ दाजुभाइ, नेपाली चिनियाँ दिदीबहिनी भन्दै चिनियाँ तथा नेपाली कलाकारले पेकिङ यूनिभर्सिटीको हल गुञ्जायमान बनाएका छन्।

पेकिङ यूनिभर्सिटीको सभाभवनमा बुधबार हिमाल वारपार : चीन नेपाल संस्कृति तथा कला आदानप्रदान साँझ आयोजना गरिएको छ। उक्त साँझमा सुरसुधा समूहको संगीतिक प्रस्तुतिमा उपस्थित चिनियाँ मन्त्रमुग्ध भएका थिए भने सुरसुधाको धुन र समूहकी गायिका सरस्वती खत्रीलाई रेशम फिरिरी गाउँदा उपस्थित सबै कलाकार तथा दर्शकले साथ दिएका थिए।

सुरसुधाको साथीलाई स्वागत छ शीर्षकको धूनबाट आरम्भ कार्यक्रममा उक्त समूहकी गायिका खत्रीले मोलिह्वा बोलको चर्चित चिनियाँ गीत गाएकी थिइन्। त्यसैगरी कलाकार रुबी लामाले नेपाली नृत्य प्रस्तुत गरेकी थिइन्। साथै चिनियाँ कलाकारले चिनियाँताई ची खेलसँगै चिया उत्सव कार्यक्रम, पेकिङ ओप्राको संगीतसँगै गीत, धून तथा नृत्य प्रस्तुत गरेका थिए। चिनियाँ र नेपाली भाषामा नेपाली चिनियाँ दाजुभाइ, चोङनी रनमिन स स्योङती बोलको गीतमा चिनियाँ कलाकार, सुरसुधा, चिनियाँ बालबालिकाको समूहसँगै उपस्थित दर्शकले पनि उत्साहपूर्वक साथ दिएका थिए।

कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको कार्यक्रम तथा आयोजकलाई पठाएको शुभकामना सन्देश पनि पर्दामा देखाइएको थियो। साथै कार्यक्रममा नेपाल पर्यटन बोर्डको नेपाल सम्बन्धित भिडियो पनि प्रदर्शन गरिएको थियो। यस वर्ष सन् २०१९ मा नेपाल र चीनका राष्ट्रप्रमुखबाट एकापसको देशको भ्रमण गरी दुई देशबीचको मित्रतालाई नयाँ उचाइमा पुर्‍याएको भन्दै चीन नेपालबीचको मित्रताको थप प्रवर्धन गर्न सांगीतिक सन्ध्या आयोजना गरिएको हो। आयोजक पइचिङ भ्यूइन्साइट कन्सल्टिङ सर्भिस कम्पनी लिमिटेडले चिनियाँ तथा विदेशी उत्कृष्ट परम्परागत संस्कृतिको आदानप्रदान तथा प्रसार गर्दै आएको छ। उक्त साँझलाई पेकिङ यूनिभर्सिटी, पइचिङस्थित नेपाली दूतावास, नेपाल ललित कला प्रतिष्ठान, चाइना हाइटेक इन्डस्ट्रियलाइजेशन, पइचिङ लाओस लिटररी एण्ड आर्ट फाउण्डेशनको साथ रहेको थियो।

यसैबीच सुरसुधाको सम्मानमा पइचिङस्थित नेपाली दूतावासले मंगलबार रात्रिभोज आयोजना गरेको थियो। सुरसुधाले मौलिक तथा शास्त्रीय संगीत प्रस्तुत गरेको थियो। कूटनीतिक नियोग उपप्रमुख सुशीलकुमार लम्सालले सुरसुधाले जनताबीच सम्बन्ध पुर्‍याएको विचार राखे। पर्यटन वर्ष २०२० का साथै नेपाली संगीतको प्रवर्धन गर्न आगामी दिनमा सुरसुधालगायत अरू नेपाली सांगीतिक टोलीलाई निम्त्याएर चीनका विभिन्न शहरमा कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको लम्सालले बताए।

सुरसुधाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको राजकीय भ्रमण क्रममा आफ्नो संगीत प्रस्तुत गरेको थियो। सन् २०११ मा नेपाल सरकारले सुरसुधालाई पर्यटन सद्भावना दूतको सम्मान प्रदान गरेको थियो। सुरसुधाले अरू शहरमा पनि कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.