सीमा अतिक्रमणले सुकुम्बासी
वीरगन्ज : चार वर्षअघि नयाँ सीमास्तम्भ (पिलर) गाड्दा पिपरडारीवासीका जमिन भारततिर पर्यो। दुई बिघा खेत गुमाएपछि रामबहादुर राउत कुर्मी सुकुम्बासी भएका छन्। ‘दुई बिघा जोतेर खाने मान्छे सुकुम्बासी भएको छु’, भारततर्फ परेको बाँझो खेत देखाउँदै कुर्मीले भने, ‘मजदुरी गरेर बालबच्चा पालिरहेको छु।’
दसगजा क्षेत्रमा दुवै देशका नापी विभागका अधिकारी सम्मिलित टोलीले २०७२ सालमा नयाँ सीमास्तम्भ गाडेको थियो। यो ठाउँ पर्साको जगरनाथपुर गाउँपालिका–१ मा पर्छ। यहाँका १९ जना नेपालीको लालपुर्जा भएकै १० बिघा आठ कट्ठा १५ धुर जग्गा भारतीय भूमिमा परेको स्थानीयको भनाइ छ। ‘भारतसामु नेपाल निरीह छ’, उनले भने, ‘नेपालको माटो सरकारले भारतलाई सुम्पिदिएको हो।’
नेपाली भूमि मिचिएपछि पीडित स्थानीयले विरोध गरेका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीले सीमाको विषय भएको भन्दै पीडितलाई थामथुम पारे। ‘पुस्तौंदेखि भोगचलन गर्दै आएको र लालपुर्जा भएको भूमि रक्षाका लागि हामी जे पनि गर्न तयार थियौं’, उनले भने, ‘तर सीडीओ र सशस्त्र प्रहरीका सरहरूले विवाद नगर भन्दै हामीलाई थामथुम पार्नुभयो। हामी लाचार भएर बसेका छौं।’
अर्का स्थानीय जगदीश पाण्डेले ओरिया खोलाछेउको लालपुर्जा भएकै १० कट्ठा जग्गा गुमाए। ‘नयाँ पिलर राखेपछि नेपाली भूमि मिचियो’, उनले भने, ‘सीमाको रखवालाले नै विवाद नगर भनेपछि हामीले के गर्न सक्छौं र !’ भारतीयले नेपाली भूभागबाट दिनहुँ बालुवा निकालेर लगिरहेको उनले बताए। ‘रोक्न जाँदा उनीहरूले पुलिसलाई बेल्चा र कोदालोले आक्रमण गरे’, उनले भने, ‘त्यसैले डरका कारण हामी आफ्नै भूमिमा पनि सितिमिति जाँदैनौं।’
४२३ नम्बरको सीमास्तम्भ गाडिएपछि ललियादेवी चौधरीको दुई बिघा जग्गा भारततिर गयो। ‘लालपुर्जा मसँग छ। मेरो पुर्खाले आर्जेको जग्गा हो’, दृष्टिविहीन ललियादेवीले भनिन्, ‘पिलर गाड्दैमा भारतको हुन सक्दैन।’
तत्कालीन प्रमुख जिल्ला अधिकारी सम्मिलित टोलीले भारतमा परेका जग्गाको लगत संकलन गरी मुआब्जाका लागि सरकारसँग पहल गर्ने आश्वासन दिएको थियो। पीडितले मुआब्जा होइन, जग्गैै फिर्ता पाउनुपर्ने अडान लिएका थिए।
‘सीडीओले मुआब्जा दिलाउँछु भन्नुभएको थियो। हामीले मुआब्जा होइन, जग्गा फिर्ता चाहिन्छ भनेका थियौं’, एक बिघा आठ कट्ठा जग्गा गुमाएका लक्ष्मण हजरा दुसादले भने, ‘तर, चार वर्ष भयो न मुआब्जा पायौं न त जग्गा फिर्ता। हामीसँग लालपुर्जाबाहेक केही छैन।’
बुवाले किनेको खेत भारतीय भएको हेर्दा खुबलाल पाण्डेको मन कुँडिन्छ। उनले ६ कट्ठा जग्गा गुमाएका छन्। ‘सरकारले नेपालीको जग्गा भारतलाई सुम्पिएर हामीलाई सुकुम्बासी बनाएको छ’, उनले भने।
नेपाल र भारत उच्चस्तरीय बैठकले तयार पारेको नक्साअनुसार नयाँ स्तम्भ राखिएको र पुराना मर्मत गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। त्यस क्रममा नेपालका केही जग्गा भारततर्फ र भारतको पनि केही जग्गा नेपालतर्फ परेको उनले सुनाए। ‘पर्साको मात्रै समस्या होइन यो’, उनले भने, ‘देशभरकै समस्या हो।’ भारततर्फ परेका जग्गाको मुआब्जा वा क्षतिपूर्ति दिने अवस्था नरहेको उनको भनाइ छ। पर्साको करिब एक सय ७ किलोमिटर खुला सीमामा मुख्य र सहायक गरी एक हजार ७० सीमास्तम्भ छन्।
भारतीय बजार जाँदैनन् नेपाली
नयाँ सीमास्तम्भ राख्ने क्रममा पिपरडारी र भारतीय गाउँ गिदानी भंगाहाका बालुवा तस्करबीच झडप भएको थियो। त्यसपछि किनमेल गर्न भंगाहा गएका दुई नेपाली कुटपिटबाट घाइते भएका थिए। ‘हामी किनमेल गर्न भंगाहा बजार जान्थ्यौं’, कुर्मीले भने, ‘सीमा विवादपछि कुटिने डरले हामीले भंगाहा बजार जानै छाडेका छौं।’
प्रतिक्रिया दिनुहोस !