हुक्के सुब्बाको मक्का दौड
हास्यव्यंग्यकार भैरव अर्याल ‘महापुरुषको संगतमा’ महापुरुष खोज्दै जाँदा फेला परेका थुप्रैमध्ये एक हुन्, हुक्के सुब्बा। उनी ती व्यंग्यकारलाई सिंहदरबारभित्र फेला परेका हुन्। हुक्के सुब्बा भन्छन्, मन्त्री हुनुपर्ने मान्छे, जागिर परिरहेछ चानचुन, काम गर्ने जाँगरै लाग्दैन। त्यसैले उनी टेबिलमा दुवै खुट्टा राखेर कुर्सीमा फ्वाँ फ्वाँ निदाउँछन्। गाउँबाट कसैले कोसेलीस्वरूप काउली ल्याइदियो भने भन्छन्, ‘काउली साउली भयो भने दुई मुठी जाउली जान्छ, नत्र...।’
उनले त्यो सुब्बांगी उहिले कुनचाहिँ राणाजीको हुक्का मलेबापत पाएका थिए रे। आज समयको नदीमा थुप्रै पानी बगिसकेको छ, थुपै्र ज्वारभाटा आइसकेका छन्। राणाशासन सकिएर अनेक तन्त्र, मन्त्र र यन्त्र हुँदै देशमा संघीय समावेशी गणतन्त्र छाइसकेको छ। समाजमा युगौंदेखि विद्यमान जातीय, लिंगीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक विभेद समाप्त गर्न जनप्रतिनिधिहरूद्वारा निर्मित नयाँ संविधानअनुसार राज्य पुनःसंरचना भएको छ र समानुपातिक, समावेशी परम्परा सुरु भएको छ, तर यी राष्ट्रिय र प्रान्तीय रंगमञ्चमा नयाँ बोतलमा पुरानै रक्सीको नाटक मञ्चन भइरहेको आरोप आज धेरैको छ। आलोचना पनि प्रजातन्त्रको सौन्दर्य हो भनिन्छ तर रचनात्मक छ कि ध्वंसात्मक ? रचनात्मकले त समाजलाई अगाडि बढाउँछ तर ...।
आरोप लगाउनेहरू भन्छन्, हिजो जहाँनिया राणाहरू थिए, आज ती छैनन् र तिनको ठाउँमा गणतान्त्रिक राणाजीहरू छन्। यी राणाहरू जनसेवी कम बढी सुविधाभोगी ठेकेदार भएको आरोप पनि छ। तिनै राणाजीहरूका खोपी खोपी हुँदो महिनौं, वर्षौं चाकरीमा धाउने परम्परा आज पनि उस्तै छ। के कार्यकर्ता, के राष्ट्रसेवक, के बुद्धिजीवी..., सम्पूर्ण क्षेत्रका सिद्धहस्त सिपालु कलाकार नेपालीको यो पहिचानै बनेको छ, मानौं ती उनीहरूका पवित्र मक्का मदिना वा मनकामना हुन्, जहाँ पुग्नु उनीहरूका जीवनको एकमात्र लक्ष्य हुन्छ र जहाँ पुगेपछि जीवनको अष्टसिद्धि प्राप्त हुन्छ।
हामी देखिरहेकै छौं, जब जब चुनाव नजिक आउँछ, शक्तिशाली प्रभुहरूका केन्द्रका वरिपरि टिकट पाएर हुक्के सुब्बा बन्नेहरूको लर्को दिनरात महादेवका वरिपरि गणेशफन्को लगाइरहेको हुन्छ। चुनाव जितिसकेपछि झन्डा र डन्डाका निमित्त फेरि त्यस्तै...। कुनै कूटनीतिक पद वा संघ, संस्था, विश्वविद्यालय, संवैधानिक वा कहीँ कुनै पनि लाभको पद खाली हुने मौसम नजिकियो भने पनि सुरु हुन्छ हुक्के सुब्बाहरूको मक्का दौड। नांगाहरूका त कुरै टाढा कुनै विशिष्ट श्रेणीको विज्ञ पनि सोही श्रेणीको अर्को कुनै डन्डावाल, झन्डावाल पदका लागि आफ्नो सम्पूर्ण अस्तित्व र स्वाभिमान तिलाञ्जलि दिएर प्राणपनले खोपी खोपी दगुर्छ तर कति यो लिगलिगे प्रतिस्पर्धामा भरे कुनचाहिँ द्रव्य शाह बीचबाट दौडेर मानसिङहरूलाई हावा खुवाइदिन्छन्।
क्षमता नहुनेहरू चाकरी गर्छन्, थैली बुझाउँछन् र सुब्बांगी प्राप्त गर्छन् अनि आफूले सिकेको र गरेको उही परम्परालाई निरन्तरता दिन्छन्।
के ती इमानदारी गर्ने नियतले नै त्यसो गर्छन् ? नजन्मिँदै जर्नेल बन्ने संस्कृति भएको यो देशमा अनि राणाजीहरू नातागोता सकेसम्म आफन्तलाई नजन्मिँदैका जर्नेल बनाउँछन्। बचेखुसेकामा असल सेवक उर्फ हनुमान खोज्छन्। अझ कतिलाई त ब्रिफकेसै चढाएको पनि आरोप लाग्छ। यी दुई थरीमा को असल ? चढाउने कि, ग्रहण गर्ने ? त्यसो त सुब्बांगीको यो परम्परा हाम्रो मात्र संस्कार, परम्परा र पहिचान नभएर सार्वभौम, सार्वकालीन र सार्वजनिक रहेछ कि कुन्नि...।
यसैले सायद आज पनि नेपाली समाजको कुनै पनि क्षेत्र विसंगतिरहित हुन सकेको छैन। अरू क्षेत्र त टाढा जीवन, समाज र राष्ट्रमै अन्तज्र्ञानको उज्यालो छर्ने शिक्षा क्षेत्रकै पनि कुरा गरिसाध्य छैन। आर्थिक, सामाजिक विचलनरहित स्वच्छ, स्वास्थ्य र मर्यादित भई तमसोमा ज्योतिर्गमय, जीवन, समाज र सिंगै राष्ट्रलाई उज्यालोतर्फ डोर्याउनुपर्ने यो क्षेत्र नै यति अस्तव्यस्त, यति विकृत र विसंगत छ, मानौं यो कुनै रोगले सम्पूर्ण अंगअंग सड्दै गएर झर्नै लागेको महारोगीको शरीर हो, जसभित्र विकृतिका वाहक औंसे कीराहरू स्याउँस्याउँ सग्बगाइरहेका छन्।
यहाँ पैसा चोर्ने मात्र होइन अरूको लेख र किताबै चोरेर वा अर्काको किताबको गातो फेरेर त्यसमाथि आफ्नो नाम चढाई बढुवा खाने र ठुल्ठुला पद पड्काउने हुक्के सुब्बाहरूको बिगबिगी छ। हिजो भर्खर ९ नम्बरलाई ६९ बनाएर तीन तीन पटक प्रथम श्रेणीमा प्रथम भई नेपाल विद्याभूषण प्राप्त गर्न आत्मग्लानि अनुभव नगर्ने बहादुरको खबर भाइरल भएको छ। त्यस्ता त कति छन् कति, यो त बाहिर आएको जाबो एउटा उदाहरण मात्र हो।
यस्ता महान् कर्म गर्ने गराउनेहरू यस क्षेत्रका मात्र होइन अर्बौंको भ्रष्टाचार गर्ने शक्तिवाल, पहुँचवाल, भ्रष्टाचारी, तस्कर, कालोबजारी, गुण्डागर्दी कसैलाई कुनै सजाय हुँदैन किनकि तिनका संरक्षक संघ, संगठन, दल र तिनका शक्तिशाली... नै छन्। बरु ती प्रायः पुरस्कृत हुँदैहुँदै झन् ठूलाठूला पदमा पुगिरहेका छन्। यस्ता जाली प्रमाणपत्र बनाएर महान् बन्ने अनि नियुक्ति र बढुवा पाउने बहादुर गोपालहरू त सबभन्दा धेरै न्यायमूर्तिज्यूहरू मात्र हैन, शान्तिसुरक्षा तथा देश रक्षकहरूकै क्षेत्रमा झनै बढी भएको सुनिन्छ।
लामो हात गर्ने यस्तो बहादुरीपूर्ण कर्मको सीप विकासको प्रशिक्षण हामीकहाँ विद्यालय, महाविद्यालयबाटै सुरु हुन्छ। सरकारी महाविद्यालयका विद्यार्थी, नेता, कर्मचारी र कतिपय प्राध्यापककै बन्दोबस्तीमा परीक्षा नियन्त्रण कार्यालयलाई समेत प्रभावित गरेर कुन क्याम्पसको परीक्षा केन्द्र कहाँ पार्ने, कुन कुन विद्यार्थीको सिट कहाँ कसरी मिलाउने, तिनलाई कहाँबाट कसरी चिट आपूर्ति गर्नेदेखि कतिपयको त उत्तरपुस्तिकासमेत बाहिर कतै रेस्टुरेन्ट वा कोठामा पुर्याएर खेताला परीक्षार्थीद्वारा लेखाएर पछि उत्तरपुस्तिका समावेश गर्ने पुरानै परम्परा कायम रहेको सुनिन्छ।
यस्ता कर्म गर्ने गराउने साहस भएका त्यस्ता विद्यार्थी प्रायः नेता हुन्छन्, कहिले कक्षा लिँदैनन्, पढ्दैनन् सधैं झोला र झन्डा बोकेर हिँड्छन्। त्यति गर्दा पनि प्रायः उत्तीर्ण हुँदैनन्, भइहाले नहुने वा तृतीय श्रेणी हुन्छन्। जबर्जस्ती उत्तीर्ण गराइएका केही सोर्सफोर्स र तोकआदेशका भरमा विभिन्न संघसंस्थामा नियुक्ति पाउँछन्, किर्ते गर्छन्, जागिर खान्छन्। त्यहाँ पुगेर पनि तिनीहरू आफ्नो पदीय जिम्मेवारी पूरा गर्नतर्फ नभएर राजनीति नै गर्छन्, आन्दोलन गर्छन्, अनशन बस्छन् र त्यसरी स्थायी भइसकेपछि ठुल्ठुला पद प्राप्त गर्नतिर लाग्छन्। कोही लठ्ठीमुंग्री गर्छन्, विपक्षीका खुट्टा भाँच्छन् र उपयुक्त अवसरमा विपक्षीलाई सिध्याउनै सके त भविष्यमा मन्त्री नै बन्छन्।
त्यति क्षमता नहुनेहरू चाकरी गर्छन्, थैली बुझाउँछन् र सुब्बांगी प्राप्त गर्छन् र आफूले सिकेको र गरेको उही परम्परालाई निरन्तरता दिन्छन्। अझ हामीकहाँ त विडम्बना के छ भने सुब्बांगीका निमित्त खेताले डिग्रीधारी मात्र होइन कतिपय प्रतिभाशालीहरू पनि यही परम्परा समृद्ध तुल्याउन बाध्य हुन्छन्। अर्कोतिर जसले दुःख गरी मेहनत गरेर र आफैंले लेखेर राम्रो अंकमा उत्तीर्ण गर्छन्, राजनीतिमा लागेर वा चाकरी, चाप्लुसी र थैलीभेटी अतिरिक्त योग्यता पूरा गर्दैनन् अथवा निष्ठा भए पनि जसको मौसमअनुकूल रंग मिल्दैन, ढंग पुग्दैन, गुटउपगुट मिल्दैन। समग्रमा आफ्नो निवेदनमा तोकादेश गरिदिने कोही नेता छैन ऊ प्रमाणपत्र च्यातेर खाडीतिर लाग्न बाध्य हुन्छ।
यो चोर्ने कलाको प्रशिक्षण सार्वजनिक विद्यालय, महाविद्यालयमा मात्र होइन, त्यो आज निजीको पनि पहिचान बन्दै आएको छ। निजी विद्यालयहरूमा झन् सेन्टरै किन्ने परम्परा छ। सेन्टर किनेर सकेजति चोर्ने, चोराउने र आफ्नो विद्यालयको नतिजा राम्रो देखाएर व्यापार गर्ने परम्परा व्याप्त छ। तल्ला कक्षामा स्वयं शिक्षक नै कसको गला रेटी कसलाई प्रथम बनाएर छात्रवृत्ति दिलाउने, ठूलो कसरतमा हुन्छन्।
त्यति मात्र होइन, यस कलामा सेवा आयोगका पदाधिकारी, प्रशासन प्रमुख र उनको निर्देशनमा जबर्जस्ती उत्तरपुस्तिका जाँच्ने जाँचकीलाई तीन तीन पटक कसको कति अंक कसरी घटाउने र कसको कसरी कति बढाएर उत्तीर्ण गराई जागिर खुवाउने युगौंदेखिको परम्परा आज आत्महत्यासम्म पुगेको छ।
तलैबाट चोर्ने चोराउने कार्यको प्रशिक्षण प्राप्तहरूले माथि माथि पुगेपछि त्यो सीप प्रयोग नगरेर के गर्ने ? माथि पुगेपछि चोर्नेबाहेक अर्थोक गर्ने क्षमता, सीप र सोच नभएकाले त गर्छन् गर्छन् झन्डै करोड खर्च गरेर बनेका प्रतिभाशाली प्राविधिकहरूसमेत यही संस्कार, संस्कृतिग्रस्त भएर वा शोषण र उपभोक्तावादी बजारले हाराबारा छुटाएर यही सीप प्रयोग गर्दै किड्नी सड्काउन पुग्छन्। चोर्न पाएनन् भने महोदयहरू डा. केसीको मुद्दामा सामूहिक राजीनामा दिने भनी सबभन्दा पहिले राजीनामा गराएर कोइराला श्री भगवान्रूपी बाटोको काँडो मिल्काएजस्तो मिल्काइदिन्छन्।
आजसम्मका मध्ये कम विवादित भएको शिक्षा मन्त्रालयको नेतृत्व पनि यी विकृति फाल्न सफल भएन। वास्तवमा यस्तै नांगो नृत्य कला प्रस्तुतिकै लागि सेवा प्रवेश परीक्षाको जिम्मा लोक सेवा आयोगलाई नदिइएको रहेछ। ती संघ, संगठनहरू सबै पेसागत हक, हित वा नेपालको शिक्षा सुधारका लागि होइन पद प्राप्तिका भर्याङबाहेक केही हुने रहेनछन्। यसैले त यो देशमा एक दशकअगाडि लिएको लिखित परीक्षाको परिणाम एक दशकपछि निस्कन्छ। (२०५२ सालमा लिएको मावि तहको परीक्षाको परिणाम २०६० साल) र २०४९ सालमा सुरु भएको दस जोड दुईको दरबन्दी र स्थायी प्रक्रिया २७ वर्षसम्म पनि आरम्भ नभएर त्यति बेलादेखिका पीडित शिक्षकहरूप्रति आजसम्म राज्य संवेदनशील भएको छैन। यही कारण अस्ति, हिजो, आज जबजब सुब्बांगीका सुन्दर स्वर्णिम पदहरू खाली हुन्छन्, त्यसका लागि विद्वान्हरू सबै शक्तिकेन्द्रलाई मक्का मदिना बनाउँदै घुमिरहेको रमाइलो दृश्य देखिन थाल्छ।
यो आरोप लाग्ने स्थितिभन्दा माथि उठेको नेतृत्व र सुब्बांगी पाउने व्यक्तित्व यो देशले कहिले पाउने हो थाहा छैन। कम्तीमा त्यसमध्ये पनि आँखामा छारो हाल्नलाई मात्रै भए पनि निश्चित विधि र प्रक्रिया नमिच्ने वातावरण र जतिसुकै आरोप लागे पनि पदअनुसारको आचरण, कार्य एवं व्यवस्थापन कुशलता स्पष्ट दृष्टिकोण, इच्छाशक्ति तथा पदअनुसारको उचाइ कायम राख्न सके वा कार्यकुशलता, इमानदारी, बौद्धिकता प्रस्तुत गर्न सके जतिसुकै आरोप लागे पनि ती सब पानीमा चिनी घुलिएजस्तै भएर हराउँथे कि अनि नै व्यवस्था, दल र ... बलिया हुँदा हुन्, नेता गुटका मात्र नभएर सबैका आस्थाका केन्द्र बन्दा हुन्। यसका निमित्त सर्वप्रथम संस्कार र संस्कार परिवर्तनका निम्ति शिक्षाको सुधार नै एकमात्र विकल्प हुन सक्ला कि ?
प्रतिक्रिया दिनुहोस !