सचिनको बाल्यकालः टिफिन बक्समा भ्यागुतो राखेर आमालाई तर्साउँथेँ...

सचिनको बाल्यकालः टिफिन बक्समा भ्यागुतो राखेर आमालाई तर्साउँथेँ...

काठमाडौं : शनिबार बिहान करिब सढे नौ बजे प्रतिक्षाको घडी समाप्त भयो। कार्यक्रमस्थलमा झुल्किए, सँधै टेलिभिजनको पर्दामा देखिँदै आएका विश्व क्रिकेटकै महान हस्ती, सचिन रमेश तेन्दुल्कर। अनि क्रिकेट मैदानमा उपस्थित बालबालिकसँगै कार्यक्रम हेर्न पुगेका दर्शक पनि खुसीले चिच्याउन थाले, ‘सचिन, सचिन, सचिन।’

खासगरी बालबालिकाको लागि आयोजना गरिएको खेल भए पनि कीर्तिपुर क्रिकेट मैदानको कार्यक्रमका आकर्षण केन्द्र थिए, विश्व क्रिकेटका उनै कीर्तिमानी खेलाडी सचिन। ४६ वर्षीय सचिन कार्यक्रममा सहभागी हुन शुक्रबार राति नेपाल आइपुगेका हुन्।

संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा यूनिसेफ नेपालले यो कार्यक्रम आयोजना गरेको हो। महान भारतीय क्रिकेटर सचिन यूनिसेफको दक्षिण एसिया क्षेत्रका सद्भावना राजदूत पनि हुन्।

त्रिवि क्रिकेट मैदानमा तेन्दुल्करले बालबालिकासँग मिलेर क्रिकेट पनि खेले। नेपाली राष्ट्रिय टोलीका थुप्रै पूर्व र वर्तमान खेलाडीका आदर्श हुन्, सचिन। तर, नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय यात्रा प्रारम्भ गरेको २३ वर्ष लामो इतिहासमा हालसम्म कुनै पनि नेपाली खेलाडीको सचिनसँग क्रिकेट खेल्ने सपना पुरा हुन सकेको छैन। 

यस्तोमा आफ्नै घरेलु मैदानमा सचिनसँग क्रिकेट खेल्न पाउँदा बालबालिका पनि निकै प्रफुल्ल देखिए। राजधानीका विभिन्न सरकारी विद्यालयबाट छनोट गरिएका ससाना विद्यार्थीलाई दुई टोलीमा विभाजन गरिएको थियो। निलो टोलीको कप्तानी सचिन र रातो टोलीको कप्तानी विनोद दासले गरेका थिए। विनोद नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हुन्।

दुबै टोलीमा छात्र र छात्रा दुबैलाई समावेश गरिएको थियो। आठ÷आठ ओभरमा खेलाइएको खेलमा सचिनको टोलीले टस जितेर विनोदको टोलीलाई पहिले ब्याटिङका लागि निम्तो दियो। विनोदको टोलीले निर्धारित ओभरमा चार विकेट गुमाउँदै ४५ रन बनायो। सुरुमा विकेट किपरको भूमिकामा देखा परेका सचिनले एक ओभर बलिङ पनि गरे।

आफैले फिल्डिङ सजाएका सचिनले बालबालिकालाई ब्याटिङ र बलिङ गर्ने कला पनि सिकाए। भर्खरै क्रिकेटको कखरा सिक्दै गरेका बालबालिकालाई सचिनले खेल अवधिभर हौसला दिइरहे। बेलाबेलामा उनी खेल हेर्न उपस्थित दर्शकलाई पनि हात हल्लाएर अभिवादन गर्थे। जवाफी ब्याटिङमा ओर्लिएको सचिनको टोलीले ६ ओभरमै केवल एक विकेट गुमाएर लक्ष्य भेट्टायो।

सचिन ओपनर ब्याट्सम्यानकै रुपमा मैदानभित्र प्रवेश गरेका थिए। सचिन दुई ओभर ब्याटिङ गरेर अन्य ब्याट्सम्यानलाई मौका दिन क्रिजबाट बाहिरिएका थिए। आफ्नो अन्तिम बलमा चौका हिर्काएका सचिनले सात रन बनाए। 

खेलका सचिनको टोली नौ विकेटले विजयी भए पनि बालबालिकाका लागि खेलिएको सन्देशमुलक खेल भएकाले दुबै टोलीलाई संयुक्त रुपमा विजेता घोषित गरियो। दुबै टोलीलाई ट्रफी पनि प्रदान गरियो।

सचिनले नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई पनि विभिन्न सुझाव दिए। 

सचिनले कीर्तिपुर मैदानमै सागको अन्तिम तयारीमा रहेको महिला टोलीका खेलाडीको हौसला पनि बढाए। उनले नेपाली महिला टोलीले राम्रो प्रदर्शन गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो आत्मविश्वास लिएर खेल्न सुझाव दिए।

सचिनले नेपाल आउन पाउँदा आफूलाई निकै खुसी लागेको बताए। सचिनले नेपाल बालबालिका सम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने महत्वपूर्ण राष्ट्र भएको बताउँदै विगतको तुलनामा बालबालिकाको अवस्थामा सुधार आउँदै गएकोमा खुसी पनि व्यक्त गरे। उनले आफ्ना बालबालिकालाई के बनाउने भन्दा पनि बालबालिका आफू के बन्न चाहन्छन् भनेर उनीहरुको रुची बुझ्न अभिभावकलाई सुझाव पनि दिए।

भ्यागुतो राखेर आमालाई तर्साउँथेँ..
कार्यक्रममा सचिनले आफ्नो बाल्यकालको स्मरण पनि गरे। उनले आफू सानो छँदा क्रिकेट ब्याट बोकेर शिवाजी पार्क धाउँदाको क्षण, स्कुलबाट फर्कँदा टिफिन बक्समा भ्यागुतो राखेर आमालाई तर्साउँदाको क्षण अनि, आफ्नो गल्तीमा बुवाआमाले माया गरेर सम्झाउँदाको तितामिठा अनुभव पनि सुनाए। 

आफ्ना अभिभावकले बाल्यकालमा आफूलाई क्रिकेट खेल्न जाँदा कुनै रोकटोक नगरी आफ्नो रुचि बुझेको उनले बताए। ‘अभिभावकले बालबालिका के गर्न चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ’, कार्यक्रममा सचिनले भने, ‘मेरो अभिभावकले बाल्यकालमा क्रिकेट खेल्न जाँदा मलाई त्यो खेल नखेल भन्नु भएको भए आज म यहाँ पुग्ने थिइन्।’

क्रिकेटका भगवान

पुरस्कार वितरण समारोहमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोदले सचिनसँग क्रिकेट खेल्न पाउँदा आफू भावुक बनेको बताए। ‘सचिनसँग क्रिकेट खेल्न पाउनु मेरो जीवनकै सबैभन्दा खुसीको क्षण हो। त्रिवि क्रिकेट मैदान हाम्रो मन्दिर हो र सचिन क्रिकेटका भगवान हुन्। आज क्रिकेटको मन्दिरमा भगवानसँग मेरो भेट भएको छ’, विनोदले भने, ‘मेरो स्मरणमा यो क्षण सँधै जीवित रहने छ।’

सन् २०१३ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिएका सचिनको नाममा अझै पनि विश्व क्रिकेटका थुप्रै कीर्तिमान कायमै छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक प्रहार गर्ने खेलाडी हुन्। उनले टेस्टमा ५१ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक हिर्काएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान पनि सचिनकै नाममा छ। उनले टेस्टमा १५ हजार नौ सय २१ र एकदिवसीयमा १८ हजार चार सय २६ रन बनाएका छन्।

यसैगरी उनी सर्वाधिक विश्वकप खेल्ने खेलाडी पनि हुन्। सचिन र पाकिस्तानका जाभेद मियाँदादले ६ वटा विश्वकप खेलेका छन्। एकदिवसीय क्रिकेटमा सर्वाधिक प्लेयर अफ दि सिरिज हुने खेलाडी पनि सचिन नै हुन्। उनी १५ पटक प्लेयर अफ दि सिरिज घोषित भएका छन्। 

सचिन एकदिवसीय क्रिकेटमा दोहोरो सतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन्। उनी एउटै विश्व कपमा सर्वाधिक अर्धसतक प्रहार गर्ने खेलाडी पनि हुन्। सचिन र बंगलादेशका सकिब अल हसनले एउटै विश्वकपमा सात अर्धसतक हिर्काएको रेकर्ड छ।

यसैगरी एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ। उनले सन् २००३ को विश्वकपमा ११ पाली खेल्दै कुल ६ सय ७४ रन बनाएका थिए। एउटै विश्वकपमा सर्वाधिक चौका हिर्काउने खेलाडी पनि हुन्, सचिन। उनले सन् २००३ कै विश्वकपमा ७५ वटा चौका हिर्काएका थिए। विश्वकपमा सर्वाधिक (१५ वटा) अर्धसतक बनाउने खेलाडी पनि सचिन नै हुन्। यसदेखि वाहेक पनि विश्व क्रिकेटमा थुप्रै कीर्तिमान सचिनको नाममा छ।  

तस्बिर : दिपेन श्रेष्ठ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.