कीर्तिपुर मैदानमा क्रिकेट खेल्दै सचिन तेन्दुल्कर
काठमाडौं : भारतीय क्रिकेटर सचिन तेन्दुल्करले शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका छन्।
एउटा टिमको कप्तान सचिन थिए भने अर्को टिमको कप्तान नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास । सचिनको टिम निलो जर्सीमा सजिएको थियो। उनको टिममा विभिन्न विद्यालयका छात्रछात्रा सहभागी थिए।
त्यसैगरी विनोदको टिम रातो जर्सीमा थियो। सचिनको टिममा जस्तै विनोदको टिममासमेत विभिन्न विद्यालयबाट छनोट भएर आएका छात्रछात्रा सहभागी थिए।
पहिलो ब्याटिङ गरेको विनोदको टिममले पूरै आठ ओभर खेल्दै ४५ रन बनायो। सचिनको टिम उक्त लक्ष्य पूरा गर्दै विजेता बन्यो। यो मैत्रीपूर्ण क्रिकेट म्याच संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा भएको हो।
म्याचको आयोजक युनिसेफ हो। सचिन युनिसेफको दक्षिण एसियाका सद्भावना राजदूत हुन्। त्यसैले उनी कीर्तिपुर मैदानमा क्रिकेट खेल्न शुक्रबार साँझ नेपाल आएका हुन्।
बालबालिकाको हकहितका लागि आयोतिज मैत्रीपूर्ण म्याच भएकाले दुवै टिमलाई संयुक्त विजेता घोषणा गरियो। कसैको हारजित नभएर दुवैको जित भएको देखाउन नै यस्तो म्याच आयोजना गरेको युनिसेफले जनाएको छ।
कीर्तिपुर मैदानमा विश्व क्रिकेटका हस्ती सचिनले ब्याटिङ, फिल्डिङ र बलिङ गरे। खेलका क्रममा बालबालिकालाई ब्याटिङ र बलिङसमेत सिकाए।
सँगै सचिनले १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई पनि क्रिकेटबारे सुझाव दिएका छन्। कीर्तिपुर मैदानमा उनले महिला टोलीलाई क्रिकेटबारे केही सुझाव दिएका हुन्। उनले नेपाली महिला टिमले राम्रो गरेको र अन्तराष्ट्रिय प्रतियोगितामा आत्मविश्वासका साथ खेल्न सुझाव दिए।
क्रिकेट खेल्न कीर्तिपुर मैदानमा पुगेका सचिनले नेपाल आउन पाउँदा खुसी लागेको बताए। बालबालिका सम्बन्धी अभिसन्धिमा हस्ताक्षर गर्ने महत्वपूर्ण राष्ट्र नेपाल भएको र विगतको तुलनामा बालबालिकाको अवस्था सुधार हुँदै गएकोप्रति उनले खुसी व्यक्त गरेका छन्।
उनले अभिभावकलाई आफ्ना बालबालिकालाई के गर्नैभन्दा पनि उनीहरु के चाहन्छन् भनेर बुझेर काम गर्न सुझाव दिए। सचिनले आफ्ना अभिभावकलेसमेत आफूले बाल्यकालमा क्रिकेट खेल्न जाँदा रुचि बुझेको र दबाब नदिएको कुराको सम्झना गरेका छन्। ‘अभिभावकले बालबालिका के गर्न चाहन्छन् भन्ने कुरा बुझ्नुपर्छ’, सचिनले भने, ‘मेरो अभिभावकले बाल्यकालमा क्रिकेट खेल्न जाँदा मलाई त्यो खेल नखेल भन्नु भएको भए आज म यहाँ पुग्ने थिइन्।’












तस्बिर युनिसेफ नेपालको ट्विटरबाट
प्रतिक्रिया दिनुहोस !