करोडौंमा बनेको अस्पताल ७ वर्षदेखि लथालिङ्ग
वीरगन्ज : पर्सा जिल्लाको पोखरीयामा रहेको जिल्ला अस्पताल स्थानीय तह र स्वाथ्यकर्मीको लापरवाहीका कारण लथालिङग छ। २०६९ सालमा २ करोड ५० लाख रुपैयाँ लागतमा बनेको जिल्ला अस्पताल अहिले थला परेको हो।
१५ शैयाको उक्त अस्पताललाई जिल्ला अस्पतालकै रुपमा स्तरोन्नती गरेपनि विरामी र सेवाग्राहीले त्यस अनुसारको उपचार सेवा भने पाउन सकेका छैनन्। अस्पताल भौतिक पूर्वाधारका रुपमा निकै सुविधासम्पन्न भएपनि चिकित्सक र स्वास्थ्यकर्मी नभएका कारण अस्पताल थला परेको छ।
जिल्ला जनस्वास्थ्य केन्द्र मातहतमा रहेको यो अस्पताल स्थानीय तहको निर्वाचनपछि पोखरीया नगरपालिकाको मातहतमा आएको छ। तर, नगरपालिकाले पनि चासो नदेखाएका कारण अस्पताल लथालिङ्ग छ।
अस्पतालको स्तरोन्नती भएपनि सात वर्षदेखि यहाँ कुनै विभाग र वार्ड पूर्ण रुपमा संचालनमा आउन सकेका छैनन्। अस्पतालमा ९औं र ८औं तहका गरी ३ जना एमबीबीएस डाक्टरको दरबन्दी छ। तर, ८औं तहका एक जना मात्र चिकित्सक डा.अनिल यादव कार्यरत छन्। यादव पनि केही दिनदेखि अध्ययनका लागि भन्दै बिदामा बसेकाले निमित्त मेसुको जिम्मा छात्रवृति तर्फका चिकित्सक डा.आलोक यादवले पाएका छन्।
स्टाफ नर्स र अनमी गरी १० जनाको दरबन्दी रहेपनि अहिले अस्पतालमा ५ जना मात्र कार्यरत छन्। २ अहेबको दरबन्दीमा पनि एक जना मात्र कार्यरत छन्। अहिले कार्यरत चिकित्सक र नर्सहरु पनि कार्यालय समयमा अस्पतालमा नआएपछि उपचारका लागि अस्पतालमा पुगेका विरामी र सेवाग्राही दिक्क छन्।

बुधबार बिहान साढे १० बजे अस्पताल पुग्दा आकस्मिक कक्षमा कोहि पनि चिकित्सक र नर्स नै भेटिएनन् । ६५ वर्षे श्रीमतीलाई दमको बेथाले च्यापेपछि रामचन्द्र महत्तोले उनलाई बुधबार बिहान साढे १० बजे अस्पताल पुर्याए। तर, आकस्मिक कक्षमा न चिकित्सक भेटिए न नर्स भेटिए। चिकित्सक बस्ने कक्षको ढोकामा ताल्चा झुण्डिएको थियो, बिरामीहरु डाक्टरलाइ कुरेर बसेका थिए।
‘एक घण्टा भइसक्यो डाक्टरलाइ कुरेर बसेको अहिले साढे १० बज्यो तरपनि डाक्टरको अत्तोपत्तो नै छैन, यो अस्पतालमा कुनै नियम कानुन नै छैन’, महत्तोले आक्रोश पोखिरहेका थिए।
त्यस्तै प्रवेशद्वारमै भेटिएकी ७० वर्षे मैना देवीको पनि आक्रोश उस्तै थियो। ‘साढे १० बज्यो तर अहिलेसम्म टिकट काउण्टर नै खुलेको छैन’, उनले भनिन्,‘डाक्टर साबको ढोकामा पनि ताल्चा मारेको छ।'
प्रतिक्रिया दिनुहोस !