चार्लीका दुःख अरूका लागि हाँसो
सन् १८८९ अप्रिल १६ तारिखका दिन लन्डनमा जन्मिएका चार्ली चाप्लिन विश्वप्रसिद्ध हास्यकलाकार (कमेडियन) हुन्। उनी फिल्म लेखक, सम्पादक, निर्माता तथा कम्पोजर पनि हुन्। उनका बुवा चाल्र्स पेन्सर चाप्लिन हुन् भने आमा हेमा चाप्लिन हुन्। उनकी आमा एउटा म्युजिक हलमा गीत गाउने जुनियर आर्टिस्ट थिइन्।
उनले आफ्नो अभिनयमार्फत दुनियाँलाई हँसाए पनि उनी स्वयम्को जीवन भने त्यति सजिलो थिएन। उनको बाल्यकाल दुःखमै बित्यो। एकपटक चार्लीको आमा स्टेजमा गीत गाइरहेकी थिइन्। गाउँदागाउँदै उनको आवाज बन्द भयो। गाउन सकिनन्। गीत नगाएपछि दर्शकले होहल्ला गर्दै स्टेजमा जुत्ता र चप्पल फाल्न थाले। यो देखेर चार्ली आफ्नो आमालाई बचाउन स्टेजमा उत्रिए। त्यतिबेला उनी पाँच वर्षका मात्र थिए।
स्टेजमा आमाले गाउने गीत आफ्नो कलिलो आवाजमा नक्कल गर्दै उनले गाउन थाले। उनको यो कुरा दर्शकका लागि हाँसोको विषय बन्यो। सबैले गाउन आग्रह गर्दै डलर र पैसा फाल्न थाले। यो नै उनको पहिलो कमाइ थियो। त्यसदिनदेखि कसैको दुःख दर्शकका लागि हाँसो हुँदो रहेछ भन्ने उनलाई लाग्यो। उनले अब स्टेजमा यसैगरी शो गरेर पैसा कमाउने अठोट लिए। त्यसपछि उनले हरेक शो मा आफ्नो दुःख पीडालाई कमेडीको रूपमा प्रस्तुत गर्न थाले।
केही दिनपछि उनका आमाबुवाको पारपाचुके भयो। आफ्नो भाइ र आमासँगै चार्लीलाई अनाथालयमा बस्नुपर्ने भयो। किनभने उनकी आमा बेरोजगार थिइन्। त्यसमाथि उनी मानसिक रोगी पनि भइन्।
चार्ली र भाइको अवस्था साह्रै बिग्रिएपछि अदालतले उनीहरूलाई बुवासँग बस्न आदेश दियो। त्यतिबेला उनको बुवाले दोस्रो विवाह गरिसकेका थिए। सौतेनी आमाको कारण उनले झन यातना भोग्नुपर्यो। केही समयपछि पागलखानाबाट आमा ठीक भएर फिर्ता आएपछि उनको दुःख अलि कम हुँदै गयो।
चार्ली स्कुल त जान्थे। तर उनलाई पढ्न मन लाग्दैनथ्यो। उनी कलाकार बन्न चाहन्थे। पैसा कमाउन स्टेज शो गर्न थाले। यति मात्र कहाँ हो र, उनी नियमित रूपमा ‘ब्ल्याक मोर थिएटर’ मा जान थाले।
एक पटक उनी एउटा स्टेज शो गर्दै थिए। त्यहाँ उनी एक फिल्म निर्देशकको नजरमा परे। निर्देशकले चार्लीमा भएको अद्भुत क्षमतालाई भित्रैबाट थाहा पाए। त्यही निर्देशकका माध्यमबाट चार्लीको भेट इ हेमिल्टनसँग भयो। हेमिल्टनले चार्लीलाई ‘सिलेक होम्स’ नामक सिरिजमा अभिनय गर्ने मौका दिए। चार्लीलाई खासै पढ्न आउँदैनथ्यो। उनलाई संवाद घोकाउन धेरै मिहिनेत गर्नुपथ्र्यो।
व्यावसायिक रूपमा उनले अभिनय थालेको समयमा विश्वयुद्ध चल्नुको साथै सारा विश्व आर्थिक समस्याले ग्रस्त थियो। चारैतिर तानाशाहको आतंक फैलिरहेको थियो। यस्तो समस्यासँग जुध्न उनले कमेडीको सहारा लिए।
चार्लीको जीवनमा कुनै न कुनै उतारचढाव भइरहन्थ्यो। एकपटक उनको अन्तर्वार्ता भाइरल भयो। त्यसमा उनी वामपन्थीहरूको पक्षमा बोलिरहेका थिए। त्यसपछि मिडियाले उनलाई रुसी एजेन्ट भएको आरोप लगायो। १० वर्षसम्म अमेरिकी सरकार र मिडिया चार्लीका लागि खतरा बनिरह्यो।
सन् १९५२ मा चार्लीको फिल्म ‘लाइम लाइट’ रिलिज भयो। तर, अमेरिकाले त्यो फिल्मलाई ब्यान्ड गरिदियो। तर पनि चार्लीलाई अमेरिकासँगै निकै लगाव थियो। किनभने उनले पहिलो विवाह अमेरिकाकै ओना ओनिलसँग गरेका थिए। अमेरिकाले उनलाई अन्तर्वार्ताका कारण दुःख दिन थालेपछि उनी र उनको पत्नी अमेरिकाको नागरिकता फिर्ता गरेर लन्डनतिर लागे।
त्यतिबेलासम्म उनले थुप्रै फिल्म र सिरिजहरूमा अभिनय गरिसकेका थिए। सबैको मनमा बसिसकेका थिए। चार्लीले आफ्नो अभिनय र कमेडीका लागि थुप्रै अवार्ड पाए। सन् १९४० मा ‘द ग्रेट डाइरेक्टर’ फिल्ममार्फत ‘द वेस्ट एक्टर’ अवार्ड पनि जिते। त्यसैगरी सन् १९५२ मा ‘लाइम लाइट’ फिल्मले म्युजिक विधामा ओस्कर अवार्ड नै जिते। उनलाई हास्यकलाकार मात्र होइन ‘साइलेन्ट फिल्मको बादशाह’ पनि भन्ने गरिन्छ।
सन् १९७७ डिसेम्बर २५ का दिन पूरै संसारले ‘क्रिसमस डे’ मनाइरहेका थिए। सोही दिन कमिडीका महानायक चार्ली यो संसार छोडेर सदाका लागि विलीन भए।
जीवनभरि दुःख पाए पनि सारा दुनियाँलाई हँसाउने चार्लीले आफ्नो आत्मकथामा भनेका छन्, ‘मेरो दुःख कसैका लागि हाँसोका विषय हुन सक्छ। तर, मेरो हाँसो कहिल्यै कसैको पीडाको कारण नबनोस्।’
(एजेन्सीको सहयोगमा)