‘टुँडिखेलको त हरिबिजोग भएछ’

‘टुँडिखेलको त हरिबिजोग भएछ’

म असने

टुँडिखेल मेरो खेल्ने चौर हो

जहाँ खेल्दै हुर्कें म भोगटे–भकुन्डो

त्यही टुँडिखेल लुट्यो आज

मेरै सरकारले।

मेरो सरकार भन्ने

यो नै हो कि मुकुण्डो ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ सम्बोधन गरेकी थिइन्। त्यतिबेला सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचना भयो।

बचाउमा प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘मेरो सरकार भन्ने चलन अन्यत्र देशमा पनि छ। यसमा आपत्ति किन ? ’ वर्तमान सरकार जनताले नै बनाएको हो। कुनै व्यक्ति विशेषले होइन। तर राष्ट्रपतिले पञ्चायती शैलीमा भनेकी थिइन्, ‘मेरो सरकार’ र सम्झाइदिएकी थिइन् उही निरंकुश पञ्चायत शासन। सायद त्यसैको झिल्को हुन सक्छ टुँडिखेल अतिक्रमण। जुन पछिल्लो समय सेना र सरकारको कब्जामा छ।

कवि दुर्गालाल श्रेष्ठको कविताले भने जस्तै ‘मेरो सरकार’ पञ्चायतको मुकुण्डो लगाएर जनतासामु आएको छ र सार्वजनिक टुँडिखेललाई लुट्दै छ। अकुपाई टुँडिखेलको तेस्रो साता तिनै पञ्चायतको मुकुण्डोधारी सरकारलाई झकझकाउने काम भएको छ। साँघुरिँदै गएको टुँडिखेलमा बसेर थुप्रै कविले टुँडिखेलका नाममा कविता वाचन गरेका छन्।

श्रेष्ठको कवितासँगै मुक्त टुँडिखेल अभियानमा शनिबार कवि श्रवण मुकारुङ, रामप्रसाद ज्ञवाली, विप्लव प्रतीक, नवराज पराजुली, लोककवि राजभाइ जकःमि लगायत उपस्थित थिए। कविहरूले टुँडिखेलसँग जोडिएका अनुभव संगालेर कविता वाचन गरे।

खुला क्षेत्र सरकारकै तर्फबाट अतिक्रमण भइरहेकोमा दुःख व्यक्त गरे। कवि मुकारुङले काठमाडौंका खोला किनाराका जमिन नेता र माफियाको कब्जामा परेको बताए। ‘सार्वजनिक भनिएका स्थानमा नेता, सचिव र माफियाको घर बनेको दुख्छु। यहाँका पाटी, पौवा, चौतारा पनि उनीहरूकै घरमा परिणत भइसकेका छन्,’ उनले भने।

पुर्खाले जोगाएर राखेका सम्पदालाई बचाउन नसक्दा टुँडिखेल मासिएको उनको भनाइ थियो। अकुपाई टुँडिखेलको उक्त कार्यक्रममा नेपाली भाषाका साथै नेपाल भाषा, तामाङ भाषामा समेत कवितावाचन भएको छ। साथै गीत र हास्यव्यंग्यमार्फत टुँडिखेलको कुरूप दृश्य समेटिएको छ।

लोककवि राजभाइले ‘हाम्रो पौरख, हाम्रो गौरव हाम्रो टुँडिखेल’ शीर्षकमा कविता सुनाए। नेपाली र नेपाल भाषा दुवै प्रयोग भएको उक्त कवितामा टुँडिखेल अकुपाई, गरौं हात मिलाई, विकास भन्दै विनाश गर्ने सबैलाई बाईबाई भन्दै व्यंग्य गरिएको छ। काठमाडौंको समग्र वातावरण बिग्रिएको प्रति लक्षित गर्दै उनले आफ्नो कविता वाचन गरेका हुन्।

कवि तथा लेखक विप्लव प्रतीकले टुँडिखेल मात्र होइन अन्य खुला ठाउँ संरक्षण गर्न लाग्नुपर्ने धारणा राखे। ‘टुँडिखेलको त हरिबिजोग भएछ,’ उनले भने, ‘अब यसलाई सबै मिलेर बचाउनुपर्छ।’ मानवले निम्त्याएको विध्वंसप्रति लक्षित गर्दै विप्लव प्रतीकले कविता सुनाएका थिए।

कतिपय कविले सिंगो टुँडिखेलको परिकल्पना गरे भने कतिपय कविले राजनीतिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्र टुँडिखेल बचाउन काठमाडौंवासी अझै नजागेको भन्दै आपत्ति जनाए।

अभियानका संयोजक विजय श्रेष्ठले अकुपाई टुँडिखेल जनताको खोसिँदै गएको अधिकारमाथि सरकारलाई नैतिक दायित्वबोध गराउने सकारात्मक अभियान भएको बताएका छन्। ‘प्रत्येक साता कुनै न कुनै कार्यक्रम गरी सरकारलाई उत्तरदायित्व बोध गराउनेछौं,’श्रेष्ठले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.