रवीन्द्रकी श्रीमती हुनुमा गर्व छ
कास्कीको निर्वाचन क्षेत्र नं २ मा सबैको आँखा गडेको छ यतिबेला। पूर्वमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको उक्त निर्वाचन क्षेत्रमा यही मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनमा नेकपा, नेपाली कांग्रेस, साझा पार्टी, राप्रपा नेपाल, नेपाल समाजवादी पार्टी र विवेकशीललगायत ११ दल र स्वतन्त्र १० गरी २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। यो क्षेत्रमा पोखरा महानगरपालिकाका ११ वटा वडा छन्। प्रतिस्पर्धा नेकपा र कांग्रेसबीच हुनेछ। दुईतिहाइको बलशाली सरकारलाई अस्तित्व जोगाउन निर्वाचन जित्नैपर्ने वाध्यता छ भने प्रतिपक्षी नेपाली कांग्रेसलाई सरकारप्रति बढ्दै गएको असन्तोषको फाइदा उठाउन र पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गर्न पनि निर्वाचन जित्नैपर्ने छ। दुवैका लागि प्रतिष्ठाको लडाईं बनेको कास्कीमा कसले बाजी मार्ला त ? प्रमुख ठूला दलमध्ये नेकपाकी उम्मेदवार विद्या भट्टराई र नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल दुवैजना विजयी हुनेमा विश्वस्त देखिन्छन्। तपाईंको निर्वाचन जित्ने आधार के हो ? भन्ने विषयमा केन्द्रित विद्या भट्टराईसँग अन्नपूर्णकर्मी केशवशरण लामिछानेले गरेको संक्षिप्त कुराकानी :
चुनावी एजेन्डा के छ ?
पाँच वर्षका लागि बनाइएको घोषणापत्र छँदै थियो। नयाँ बनाउनुपर्छ भन्ने लागेन। त्यो पाँच वर्षकै लागि सान्दर्भिक थिए र छन् ती घोषणा। केही पूरा भई पनि सकेका छन्। पोखरा चक्रपथ बनाउन बाँकी छ। पोखरा विमानस्थल निर्माण पूरा गर्न सघाउने हो। पोखरालाई पर्यटनको केन्द्र बनाउने रवीन्द्र अधिकारीको मात्र नभई सबै पोखरेलीको सपना हो। यहाँका प्राकृतिक स्रोत उपयोग गर्नसक्ने जनशक्ति उत्पादन गर्न वन विश्वविद्यालयका रूपमा पोखराको वनविज्ञान क्याम्पसको स्तरोन्नति गर्ने अर्काे एजेन्डा हो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमडीको पढाइ सुरु भइसकेको छ। अब त्यसलाई स्तरोन्नति गरेर उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्ने हो। युवा बेरोजगारी अन्त्य गर्ने नीति निर्माण गर्ने, महिला, दलित, जनजातिका मुद्दा सम्बोधन गर्ने नीति निर्माण गर्ने मेरा एजेन्डा छन्।
सांसद हुने त नीति निर्माण गर्न होइन ? पूर्वाधार विकासका एजेन्डा किन ?
विकास निर्माण नभई बाटो नपुगी शिक्षा, स्वास्थ्यका नीति निर्माण गर्न सक्दैनौं। हाम्रो पोखरा महानगरपालिकाका कतिपय वडामा विकास निर्माण नै पहिलो प्राथमिकतामा छ। जनताको आवश्यकता नै विकास निर्माण छ। हामी सांसद भएर गर्ने नीति निर्माण त हुँदै हो। सँगसँगै जनताको आवश्यकताका आधारमा विकास निर्माणमा पनि भूमिका खेल्ने हो।
नेकपाले चुनाव जित्ने आधार के के छन् ?
म जहाँ जाँदा पनि देखिएको जनमतबाट उत्साहित छु। जनतामा कम्युनिस्ट पार्टीप्रति विश्वास छ। हिजो रवीन्द्र अधिकारीले ३/३ पटक जितेको ठाउँ। उहाँसँगको जनतासँगको सम्बन्ध। त्यो राजनीतिको मात्रै सम्बन्ध थिएन। छोराको सम्बन्ध, अभिभावकको सम्बन्ध थियो। साथीभाइको सम्बन्ध थियो। नेता कार्यकर्ताको सम्बन्ध। गुरुचेलाको सम्बन्ध। जनताले पनि तीन तहकै सरकारसँग समन्वय गर्नसक्ने व्यक्तिका रूपमा कम्युनिस्ट पार्टीकै उम्मेदवारलाई देखेका छन्। अर्काे पार्टीले जितेर गए सरकारले गर्न सकेन भन्ने मात्रै हो। तर कम्युनिस्ट पार्टीको उम्मेदवारले जिते नै सुखी नेपाली समृद्ध नेपालको अभियन्ता बन्न सक्छ भन्ने जनतालाई थाहा छ।
कति मतान्तर हुने अपेक्षा गर्नु भएको छ ?
मात्रात्मक भन्दा पनि हिजोको भन्दा बढ्छ भन्ने नै छ। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले जनतासँग बनाएको सम्बन्धले कम्युनिस्ट पार्टीप्रति विश्वास बढेको छ।
तपाईंको जित/हार सरकारको लोकप्रियता/अलोकप्रियता जाँच्ने कसी हुनसक्छ ?
हामीले सरकार बनाइसकेपछि जनताका धेरै अप्ठेरा सम्बोधन गर्दै गएका छौं। सरकार अलोकप्रिय छैन। हामीमा आलोचनात्मक चेत बढेको छ। त्यसले पनि सरकारको कतिपय अवस्थामा आलोचना भएको छ। सरकार अलोकप्रिय भएको भन्दा पनि जनअपेक्षा धेरै छ, त्यसलाई सम्बोधन गर्नुपर्ने छ। सरकारले विस्तारै सम्बोधन गर्दै पनि गएको छ। जनताले गरेका गुनासो सम्बोधन गर्न सरकार अग्रसर पनि भएकै छ। तीन तहकै कम्युनिस्ट सरकारले जनतासँग सुसम्बन्ध बनाएको छ। अब सरकारको तीन वर्ष बाँकी छ, तिमीहरू अझै राम्रो काम गर्दै अगाडि बढ भनेर जनताले भन्नुभएको छ।
तपाईंको उम्मेदवारीलाई लिएर नेकपाले परिवारवाद र वंशवाद गर्यो भन्ने आरोप लागेको छ नि ?
म पनि गणतन्त्रवादी हुँ। गणतन्त्रको आन्दोलन सफल बनाउन म पनि संलग्न भएँ। प्राज्ञिक मर्यादालाई असर पुर्याउने गरी मैले आफ्नो राजनीतिक भूमिकालाई प्रचार गरिनँ। पार्टीको संगठित सदस्य म ४७ सालदेखि नै छु। आन्दोलनकारी भएकै कारण रवीन्द्रजी र मेरो प्रेम विवाह भएको हो। मैले राजनीतिमा गरेको योगदानस्वरूप हाम्रो पार्टीले सर्वसम्मत रूपमा मलाई उम्मेदवार बनाएको हो। पार्टीको विभागमा बसेर काम गरेकी थिएँ। रवीन्द्र अधिकारीको श्रीमती हुनुमा मलाई गर्व छ। त्यत्तिमात्रै भएर आएको हो कि हैन भन्ने त भोलि मैले गर्ने कामबाट सबैले देख्नुहुनेछ।
वाइड बडी जहाज खरिद प्रकरणमा रवीन्द्र अधिकारी जोडिनुभएको थियो। त्यसले चुनावमा तपाईंलाई अप्ठेरो पारेको छैन ?
मलाई अप्ठेरो छैन। कहिँका जनताले पनि त्यो प्रश्न गर्नुभएको छैन। बाबुमा इमान थियो भन्नुभएको छ। तिमी पनि ‘इमानदार बन है’ भन्नुभएको छ। वाइड बडी विपक्षीले बनाएको मसला हो। वाइड बडीको कुरा जनताले नपत्याएपछि उहाँहरूले मलाई व्यक्तिगत रूपमा आलोचना गर्न थाल्नुभयो। आरोप लगाउनुभयो। तर, म अरूलाई गाली गर्ने र आरोप लगाउने राजनीतिको पक्षमा छैन। म अरूलाई गाली पनि गर्दिनँ। आरोप पनि लगाउँदिन। वाइड बडीको अन्तिम किस्तामात्रै रवीन्द्र अधिकारीले पठाएको हो। त्यो नपठाएको भए जहाज आउँदैनथ्यो भन्ने कुरा आइसकेको छ। खरिद सम्झौता उहाँले गरेको होइन। रवीन्द्र अधिकारीविरुद्धको नियोजित प्रचार थियो त्यो प्रकरण। प्रमाणबिना आरोप नलगाऊँ। खोजबिन गरौं। त्यसका लागि मैले के सहयोग गर्नुपर्छ म गर्न तयार छु भनेकै छु। आयोग बनाऊँ। के आरोप लगाउनेहरू तयार हुनुहुन्छ ?
निर्वाचन आयोगले तोकेको सीमाभित्रको खर्चमा चुनाव प्रचार पूरा हुन्छ ?
स्थानीय स्तरमा साथीहरू आफैंले संयोजन गर्नुभएको छ। पार्टीले सबै संयोजन गरेको छ। आयोगले तोकेको सीमाभन्दा कममै हाम्रो खर्च पुग्छ भनेर पार्टीका साथीहरूले भन्नुभएको छ।