हराउँदै वनकुकुर
![हराउँदै वनकुकुर](https://annapurnapost.prixacdn.net/media/albums/joel-holland-Ban-Kukur_20191127055632_C1pyjeGYkM.jpg)
गुलरिया : झट्ट हेर्दा घरमा पालेको कुकुरजस्तै देखिन्छ वनकुकुर। यिनै वनकुकुर हिजोआज हराउन थालेका छन्। बढ्दो वन विनाशका कारण यिनीहरूको बासस्थानलगायत आहारा प्रजातिमा कमी भएसँगै वनकुकुरहरू मासिन थालेका हुन्।
नेपालमा यसको संख्या घट्दै गएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा यसलाई सूचीकृत गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी भन्छन्, ‘निकुञ्ज ऐनले नेपालमा पनि यसलाई मार्न तथा यसको अंगप्रत्यंग बिक्री वितरण गर्न निषेध गरेको छ।’ यसलाई मारेर यसको ओखेटोपहार (अंग) बिक्री वितरण गर्नेलाई कैद सजायसँगै जरिवाना पनि तोकिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा वनकुकुरको यकिन तथ्यांक नभए पनि निकुञ्जलगायत आसपासका मध्यवर्ती क्षेत्रहरूमा यिनीहरू पाइन्छन्। अधिकृत भण्डारीका अनुसार निकुञ्जको चुरे, बबई, सैन्यवारलगायत रम्भापुर क्षेत्रमा वनकुकुर देखिने गरेका छन्। पछिल्लो समय वन विनासशँगै आहारामा कमी आएपछि वनकुकुरको संरक्षणमा समस्या देखिएको भण्डारीले वताए।
विश्व स्थितिमा संकटापन्न प्रजाति मानिने वनकुकुरलाई अंग्रेजीमा ढोले भनिन्छ। यसको वैज्ञानिक नाम क्युओन अल्पिनस हो। यसलाई इन्टरनेसनल युनियन फर कन्जरभेसन नेचर (आईयूसीएन) को रेडडाटा वुकमा इनडेन्जर सूचीमा राखिएको छ। कन्जरभेसन अन इन्टरनेसनल ट्रेड इन इनडेन्जर्ड स्पेसिस अफ वाइल्ड फउना एन्ड फ्लोरा (साइटिस) को अनुसूची २ मा राखी जंगली कुकुरको व्यापारमा प्रतिबन्ध लगाइएको छ।
नेपालमा थोरै भए पनि वनकुकुरको अध्ययन तथा अनुसन्धान हुँदै आएको पाइन्छ। नेपालमा पहाडदेखि तराईसम्मका जंगलहरूमा वनकुकुरहरू भेटिएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत रविन कडरिया भन्छन्, ‘नेपालको कञ्चनजंघा, चितवनलगायत बर्दिया राष्ट्रिय निकुञ्जमा स्वचालित क्यामेरामार्फत यसको तस्बिरहरू कैद गरिएका छन्।’ नेपालसँगै दक्षिण पूर्वी एसियाका भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस्लगायतका देशहरूमा वनकुकुरहरू पाइने उनले प्रस्ट्याए।
घरपालुवा कुकुरसँग मिल्दोजुल्दो आनीबानी भएका वनकुकुरहरू स्तनधारी प्राणी हुन्। हेराइमा पनि यिनीहरू घरपालुवा कुकुरजस्तै देखिन्छन्। सिकारमार्फत आहारा जुटाउने यिनीहरू ग्रुपमा सिकार गर्न मन पराउँछन्। ढोलेहरू ४/५ जनाको समूहमा मिलेर सिकार गर्छन्। यिनीहरूले चित्तल, लगुना, जरायो, बारसिंगा, रतुवालगायतका जनावरहरू आहाराका रूपमा सिकार गर्छन्। यसका साथै दुम्सी, खरायोलगायतका साना जनावर पनि यिनका आहारा हुन्।
पछिल्लो समय जंगलमा आहाराको कमी भएपछि यिनीहरू गाउँघरतिर पनि पस्ने गरेको अधिकृत कडरिया बताउँछन्। आहाराको जोहो गर्न गाउँघरमा पालिएका घरपालुवा गाईबस्तुलगायतका जनावर पनि यिनीहरूले मारेर खाने गरेको पाइन्छ। रातको समयमा बढी सक्रिय हुने भएकाले दिउँसो यिनीहरू खासै देखिँदैनन्। बासस्थान विनाशलगायत आहाराको कमीको कारण यिनीहरूको अवस्था संकटमा पर्दै गएको पाईन्छ।गाउँघरमा पसेका बेला मानिसले यिनीहरूलाई विष हालेरसमेत मार्ने गरेको भेटिएको छ।
नेपालमा यिनीहरूको संख्या यकिन नभए पनि क्यामेरा ट्र्याप प्रविधिबाट तस्बिर खिचेर यिनीहरूको अनुगमन हुँदै आएको छ। पछिल्लो समय वनकुकुरहरूलाई कसरी जोगाउने भन्ने चुनौती थपिएको छ। सरकारले पनि आर्थिक अभावका कारण यसको संरक्षणमा लगानी गर्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)