शिक्षाको स्तर उकास्न सबै लाग्नुपर्छ
२०२७ सालदेखि शिक्षण पेसामा लागेका व्यक्ति हुन्, भक्त राजभण्डारी। उनी भक्तपुरको मिबाछेंस्थित एभरेस्ट इङ्लिस स्कुलका संस्थापक प्रधानाध्यापक हुन्। उनी अहिले ६९ वर्षका भए। सम्भवत: काठमाडौं उपत्यकमा यति पाको उमेरका प्रधानाध्यापक उनी नै होलान्। यस विषयमा उनी हाँस्दै भन्छन्, ‘नोबोडी बिलिभ्स् एवाउट माई एज’।
वास्तवमा सानो छँदा उनलाई शिक्षा क्षेत्रमा आउँछु जस्तो लागेको थिएन। ‘सानो छँदा डाक्टर बन्ने सपना थियो। तर, समयले मलाई शिक्षक बनायो’ उनले भने। यस क्षेत्रबाट आपूmले सँगालेका केही अनुभव र संघर्षको कथा उनले अंकुरलाई सुनाए।
दाजुभाइबीच प्रतिस्पर्धा
२००८ सालमा खोटाङको ऐंसेलु खर्कको व्यापारिक (कपडा व्यापारी) परिवारमा जन्मेहुर्केका भक्त सानैदेखि पढाइमा निकै रुचि राख्थे। उनीसँगै उनको भाइ पनि पढ्न खुब रुचाउँथे। उनी चार वर्षको उमेरमा नजिकैको त्रिभुवन पब्लिक स्कुलमा कक्षा १ मा भर्ना भए। यहीँबाट उनले प्रारम्भिक शिक्षा पाए। त्यहाँ कक्षा ७ सम्म मात्र पढाइ हुन्थ्यो। उक्त स्कुलमा उनको बुवा सेक्रेटरीको काम गर्थे।
उनको बुवा त्यस क्षेत्रको नामी व्यापारी र शिक्षाप्रेमी थिए। तर, भक्त ६ वर्ष हुँदा उनको बुवाले यो संसार छोडे। त्यसपछि उनको पढाइमा अलि बाधा पुग्यो। भन्छन् ‘बुवा यो संसार छोडेर गएपछि पढाइमा केही हदसम्म गाह्रो भयो। आमालाई हरेक काममा सघाउनुपथ्र्यो। जसोतसो कक्षा ७ सम्म गाउँमै पढियो।’
गाउँमा कक्षा ७ भन्दा माथि पढाइ नभएकोले खोटाङकै बुइँपास्थित चम्पावती हाइस्कुलमा कक्षा ८ मा भर्ना भए। त्यहाँ दुवै दाजुभाइसँगै एउटै कक्षामा पढ्थे। घरभन्दा टाढा बस्नु परेकाले उनीहरूले पढाइलाई नै जोड दिन थाले। ‘घरबाट टाढा भएर होला हामी दाजुभाइ एकदमै धेरै पढ्थ्यौँ,’ उनी मुस्कुराउँदै सुनाउँछन् ‘हामी गएपछि त्यो स्कुलमा १ देखि ७ सम्म फस्ट हुँदै आएको विद्यार्थी कहिल्यै फस्ट आउन पाएन।’ उनी थप्छन् ‘हामी दुवै दाजुभाइमा अव्यक्त किसिमको प्रतिस्पर्धा थियो। यसले हामीलाई जहिले पनि पढाउन हौस्याउँथ्यो।’
दुवै दाजुभाइले त्यस स्कुलका आइडल नै भए। उनीहरूको पढाइबाट प्रभावित भएर चम्पावती विद्यालयका प्रधानाध्यापकले उक्त विद्यालयमा अतिरिक्त गणित विषय पनि पढाउन सुरु गरेको सुनाउँछन्। ‘हामी दुवै दाजुभाइ स्कुलमा फस्ट, सेकेन्ड भएपछि शिक्षकहरूको दृष्टि हामी माथि पर्यो,’ सरलाई आफूहरू माथि निकै विश्वास रहेको बताउँदै उनी सम्झिन्छन्, ‘हामीलाई नै पढाउने भनेर अतिरिक्त गणित विषय थपियो। सरलाई हामी माथि धेरै विश्वास थियो।’ नभन्दै २०२३ सालमा दुवै दाजुभाइ उक्त विद्यालयबाट खोटाङ जिल्लाकै पहिलो ‘फस्ट डिभिजन’ मा पास गर्ने विद्यार्थी बन्यौं। यसले पढ्ने हौसला झनै बढेको र शिक्षकहरूको हौसला मिलेको बताउँछन्।
इन्जिनियर र शिक्षक
उनी गणितमा एकदमै प्रतिभाशाली थिए। सानैमा बुवा बितेपछि उनलाई सघाउने भनेका काका थिए। काकाले एउटा घरबाट एक जना इन्जिनियर र अर्को डाक्टर बन्नुपर्छ भनेका थिए। काकाको इच्छाअनुसार दुवै दाजुभाइ साइन्स (आईएस्सी) पढ्न २०२४ सालमा काठमाडौं आएको बताउँछन्। त्यसपछि यो लेभल सकेर बीएस्सी पढेर भाइ इन्जिनियर बनेको र आफू बीएस्सी सेकेन्ड इयर पढ्दा गाउँमा पढाउन गएको बताउँछन्। ‘भाइ गणित पढेर इन्जिनियर बन्यो,’ उनी भन्छन् ‘मलाई खोटाङको सरस्वती हाइस्कुलमा पढाउने मौका मिल्यो र पढाउन गएँ।’ यहीँबाट उनको शिक्षण कार्य सुरु भयो।
लगभग चार वर्ष शिक्षण गरेर उनी २०२८ सालमा फेरि भक्तपुर आए। त्यतिबेलासम्म उनले बीएस्सी पनि पूरा गरिसकेका थिए। यहाँ आएर एउटा साथीसँग सिद्धार्थ बोर्डिङ स्कुलमा काम गर्न थालेका बताउँछन्। उनी भन्छन् ‘यहाँ आएर सिद्धार्थ बोर्डिङ स्कुलमा सहायक प्रधानाध्यापकका रूपमा काम गरेँ।’ उनी सम्झिन्छन् ‘त्यहाँ मैले करिब ७ वर्ष अध्यापन गरेँ।’ त्यसपछि उनी फेरि खोटाङ गएर करिब चार वर्ष अध्यापन गरे। यसरी उनले अब आफूले आफ्नै विद्यालय खोल्ने विचार गरे। त्यसपछि २०३९ सालमा भक्तपुरको मिबाछेंमा एभरेस्ट स्कुलको स्थापना गरी संस्थापक प्रधानाध्यापक बने। यहीँबाट उनको प्रधानाध्यापकको यात्रा प्रारम्भ हुन्छ। उनी सम्झिन्छन् ‘म शिक्षक बन्नुमा पनि काकाहरूकै प्रभाव हुनुपर्छ, किनभने मेरा काकाहरू सबैजना शिक्षक नै हुनुहुन्थ्यो।’
प्रधानाध्यापक
विद्यालय खोल्नुको कारण बताउँदै भक्तपुरको यस क्षेत्रको अभिभावकहरूको ‘यहाँ एउटा विद्यालय भइदिए हुन्थ्यो’ भन्ने मनसाय बुझेर विद्यालय खोलेको बताउँछन्। भन्छन् ‘यहाँका स्थानीयको माग थियो कि ‘यहाँ एउटा स्कुल भए हुन्थ्यो’ मैले यही कुरालाई बुझेर यो स्कुल स्थापना गरेको हुँ।’ स्थापनाको समयमा कक्षा ५ सम्म हुँदा झौखेलमा रहेको र पछि हाइस्कुल बनाउने उद्देश्यले मिबाछेंमा ल्याएको बताउँछन्।
विभिन्न विद्यालयका शिक्षक वा भाइसप्रिन्सिपल भएर काम गरे पनि संस्थापक प्रधानाध्यापकको कार्य निकै चुनौतीपूर्ण रहेको बताउँछन्, भक्त। ‘कुनै पनि संस्थाको प्रमुख हुनु आफैंमा चुनौतीपूर्ण कार्य हो,’ उनी भन्छन् ‘त्यसमाथि पनि यस क्षेत्रमा त अभिभावक, विद्यार्थी, सिंगो स्कुललगायत सिंगो शिक्षकशिक्षिका सबैको जिम्मेवारी लिनुपर्ने रहेछ।’ उनी थप्छन् ‘प्रिन्सिपल २४ सै घण्टा घटिरहनुपर्छ। जुन त्यति सहज छैन।’
शिक्षामा समस्या
शिक्षाप्रति राज्यको गम्भीर नरहेका कारण शिक्षा क्षेत्रमा विभिन्न समस्या देखिएको बताउँदै राज्यप्रति उनी गुनासो पोख्छन्। ‘राज्यले राजस्व खर्च गरेर वा राज्यको ढुकुटी खर्च गरेर सञ्चालित आमसरकारी विद्यालयको स्तर उठाउन सकेको छैन,’ भन्छन् ‘तर संस्थागत विद्यालयलाई अलिकति पनि सहयोग गरेको छैन। सरकारी र निजी विद्यालयलाई समान व्यवहार नगरेको खण्डमा शिक्षामा सुधार आउन सक्दैन।’
सरकारी विद्यालयमा विद्यार्थीलाई ४५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ। तर, निजी विद्यालयका विद्यार्थीलाई यो सुविधाबाट वञ्चित गरेको प्रति उनी दु:खेसो पोख्छन्। यही लोभका कारण आधारभूत शिक्षा जति निजी विद्यालयमा लिएर कक्षा ९ र १० मा सरकारी विद्यालयमा जाने प्रवृत्ति बढेकोमा निकै चिन्तित छन्। उनी प्रश्न गर्छन् ‘के यस प्रवृत्तिले सरकारी विद्यालयको स्तर बढेको छ त ? ’ उनी थप्छन्, ‘राम्रो शिक्षा दिनमा निजी विद्यालयको ठूलो हात छ। तर, सरकारले उल्टै निजी विद्यालयका कारण गुणस्तरमा बाधा पुर्याएको भन्छ। यो गलत प्रवृित्त हो।’
हाम्रो देशमा दिनप्रतिदिन साक्षरता दर बढेको देखाए पनि वास्तवमा साक्षरता दर बढेको छैन। त्यसैले यो समय भनेको देशको सबैलाई जसरी नि शिक्षा दिने कार्य गर्न जरुरी रहेको बताउँछन्। ‘अहिले निजी विद्यालयलाई आरोप लगाउनुभन्दा जसरी हुन्छ शिक्षामा जोड दिनु। भन्छन्, ‘अहिलेको समयमा चाहे त्यो निजीबाट होस्, चाहे गुठीबाट होस्, चाहे त्यो सरकारीबाट होस्, चाहे विभिन्न धार्मिक संगठनबाट होस्, देशको शिक्षा एउटा लेभलमा नपुगेसम्म सबैले शिक्षा शिक्षा शिक्षा मात्र भन्नुपर्छ।’
देशमा गुणस्तरीय शिक्षाको अभावमा हरेक दिन युवा विदेशी रहेको अवस्थामा निजी विद्यालयले यसलाई कम गरिरहेको बताउँछन्, भक्त। ‘यदि यस्तै बिदेसिने अवस्था रहिरह्यो भने भविष्यमा झनै ठुलो दुर्घटना निम्तिन सक्छ। यसलाई निजी विद्यालयले रोकेको छ।’ उनी भन्छन् ‘त्यसैले राज्यले निजी विद्यालयलाई सम्मान गर्न सक्नुपर्छ।’ यसो गरे मात्र देशको शिक्षामा सुधार आउने उनको सुझाव छ।