सागको रौनक

सागको रौनक

सन् १९८४ बाट सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) तेस्रोपटक नेपालमा आयोजना हुन लागेको हो। के छ त तयारी ? कस्तो छ त रौनक ?


त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अहिले सिँगारिएको छ। आइतबारबाट सुरु हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मुलुककै एक मात्र अन्तर्राष्ट्रिय रंगशालालगायत विभिन्न खेलस्थलको शृंगारपटारमा नेपाली खेलकुद नेतृत्व लागेको छ। मंसिर १५ देखि २४ सम्म हुन लागेको १३औं सागका लागि विदेश पाहुना नेपाल आइसकेका छन्। मुलुकको प्रतिष्ठासँग जोडिएको सागलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न पूरै खेलकुद क्षेत्र अन्तिम तयारीमा जुटेको छ। मुलुकले तेस्रोपटक आयोजना गर्न लागेको १३औं सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्।

१३औं सागमा २६ खेलकै खेलाडी नेपाल आइसकेका छन्। १३औं सागमा सबैभन्दा बढी खेलाडी आयोजक नेपालबाट सहभागी हुँदैछन्। नेपालबाट ५९४ खेलाडी सहभागी हुनेछन्। यसैगरी श्रीलंकाबाट ५५६, भारतबाट ५३५, बंगलादेशबाट ४७८, पाकिस्तानबाट ३७८, माल्दिभ्सबाट २५२ र सबैभन्दा कम भुटानबाट ११७ जना खेलाडी गरी कुल २९१० जना सागमा सहभागी हुँदैछन्। यसैगरी सातै देशबाट गरेर ७६९ जना प्रशिक्षक तथा अफिसियल्स सागमा खटिने छन्।

१३औं सागमा समावेश २६ खेलमध्येबाट जम्मा ३१७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसैगरी ३१७ रजत र ४८१ कांस्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। सागमा समावेश खेलमध्ये सबैभन्दा बढी स्वर्ण पौडीमा रहेको छ। पौडीमा ३८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। यसैगरी एथलेटिक्समा ३६, तेक्वान्दोमा २९, उसुमा २२ तथा कुस्ती, भारोत्तोलन र सुटिङमा २०÷२० स्वर्णका लागि हाम्रा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। अन्य टिम गेम्समा महिला र पुरुष गरी दुई÷दुई स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

हरेक दुई÷दुई वर्षमा हुँदै आएको सागको १३औं संस्करण नेपालको यथेष्ट तयारी नहुनु र २०७२ को भूकम्पले महत्वपूर्ण भौतिक संरचनामा क्षति पुगेका कारण पटकपटक सर्दै पछिल्लो मंसिर १५ को मितिमा आइपुगेको हो। यसअघि तीनपटक सागको मिति पर धकेलिसकेको थियो।

सागमा २६ खेल

१३औं सागमा ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट, आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, कराते र गल्फ गरी २७ खेल राख्ने निर्णय भएको छ। आयोजकको हिसाबले नेपालले कराते र गल्फ खेल थप्ने निर्णय गरेको हो। तर, अन्तिम समयमा नेपालबाहेक अन्य राष्ट्र सहभागी नभएपछि प्याराग्लाइडिङ भने सागमा नहुने भएको छ। प्यारग्लाइडिङ नहुने भएपछि अब २६ खेलमा मात्र प्रतिस्पर्धा हुनेछ। प्याराग्लाइडिङमा नेपालबाहेक अरू राष्ट्रले सहभागिता जनाउन चाहेनन्। उनीहरूले खेलाडीको अभाव देखाउँदै सहभागी नहुने निर्णय गरेका थिए। गत वर्ष इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक जितेको थियो। एसियाली खेलकुदमा रजत पदक जितेपछि नेपालले प्याराग्लाइडिङलाई सागमा समावेश गरेको थियो।

खेलस्थलको अन्तिम टुंगो

१३औं सागका लागि खेलस्थलको टुंगो पनि लगाइसकिएको छ। राष्ट्रिय खेलकुद परिषद्को १३औं साग सचिवालयले प्रतियोगितामा सहभागी २६ वटै खेलको खेलस्थलको अन्तिम टुंगो लगाएको हो। १३औं सागमा आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, ह्यान्डबल, बिच भलिबल, ट्रायथोलन र भारोत्तोलन पोखरामा सञ्चालन हुनेछ। यस्तै कुस्तीका खेलहरू भने जनकपुरमा हुनेछ। यसैगरी एथलेटिक्स दशरथ रंगशाला, बास्केटबल त्रिपुरेश्वरको कभर्डहल, बक्सिङ सादोबाटो कराते हल, साइक्लिङ र गल्फ गोकर्ण र फुटबल दशरथ रंगशालामा आयोजना गरिने भएको छ।

यस्तै जुडो र उसु लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा आयोजना हुँदा कराते, सुटिङ, स्क्वास, पौडी, टेनिस, तेक्वान्दो र कुस्ती सातदोबाटोमा आयोजना हुनेछ। सातदोबाटोको तेक्वान्दो एकेडेमीमा कुस्ती र तेक्वान्दोका खेल सञ्चालन हुनेछ भने कराते हलमा करातेसँगै बक्सिङका खेल सञ्चालन हुनेछ।

यसैगरी कीर्तिपुरको नयाँबजारमा फेन्सिङ र खोखो खेल सञ्चालन हुँदा पुरुष क्रिकेट पनि कीर्तिपुरकै त्रिवि मैदानमा हुनेछ। कबड्डीका खेलहरू भने हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा हुने १३औं साग सचिवालयले जनाएको छ। १३औं सागको पुरुष र महिला भलिबल त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ भने थ्री बाई थ्री बास्केटबल त्रिपुरेश्वरकै मिनि कभर्डहलमा सञ्चालन हुनेछ। १३औं सागको लोगो उड्दै गरेको परेवा र मस्कटमा कृष्णसार राखिएको छ।

१३औं सागमा समावेश अधिकांश खेल मंसिर १५ देखि सुरु भए पनि महिला तथा पुरुष भलिबलका खेल भने गत बुधबारदेखि नै सुरु भइसकेको छ। पुरुष तथा महिला भलिबलका खेलहरू त्रिपुरेश्वरस्थित कभर्डहलमा हुनेछ।

 प्रतियोगिताका लागि राम्रो तयारी

छोटो तयारीका कारण १२औं साग नेपालका लागि पदकको हिसाबले सोचेजस्तो बन्न सकेन। भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले कम्तीमा १० स्वर्ण जित्ने अपेक्षा गरेको थियो। तर, छोटो तयारीका कारण नेपालले जम्मा तीन स्वर्णमै चित्त बुझाउनु परेको थियो। जुडो, उसु र पुरुष फुटबलमा नेपालले एकएक स्वर्ण जितेको थियो। पदकको निकै आशा गरिएको तेक्वान्दो स्वर्णविहीन हुँदा नेपाल पदक तालिकामा समग्रमा छैटौं स्थानमा थियो। नेपालले तीन स्वर्णसहित २३ रजत र ३४ कांस्य पदक जितेको थियो।

तर, यसपटक भने नेपालले राम्रो तयारी गरेको छ। सागमा सहभागी २६ वटै खेलका खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको छ। थुप्रै खेलले विदेशी प्रशिक्षक झिकाएका छन् भने केही खेलको प्रशिक्षण विदेशमा हुँदै आएको छ। सुरुमा प्रदेश ५ मा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सागका लागि प्रशिक्षणमा राखिएको थियो। पछिल्लो समय उनीहरूमध्येबाट पनि छनोट गरी अन्तिम टोलीलाई विशेष प्रशिक्षण सञ्चालन हुँदै आएको छ।

सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाल उत्कृष्ट प्रदर्शनसहित पदक तालिकामा दोस्रो भएको थियो। यसपटक पुनः आफ्नै देशमा आयोजना हुन लागेको १३औं सागमा त्यही उपलब्धि दोहो‍र्‍याउन नेपालले ठूलै कसरत गरिरहेको छ। आठौं सागमा ३१ स्वर्ण जितेको नेपालले यसपटक ५० भन्दा बढी स्वर्ण जित्ने दाबी गर्दै आएको छ।

तीन वर्षअघि आयोजना अधिकार ग्रहण

भारतको गुवाहाटीमा सन् २०१६ फेब्रुअरी १६ मा सम्पन्न १२औं सागको समापन समारोहमा नेपालले १३औं साग आयोजनाको अधिकार प्राप्त गरेको थियो। इन्दिरा गान्धी स्टेडियममा तत्कालीन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले १३औं साग आयोजनाको झन्डा ग्रहण गरेका थिए। नेपालले आयोजनाको अधिकार तीन वर्षअघि नै पाए पनि पटकपटक मिति सर्दै आएको छ। निर्धारित मिति चौथोपटक सर्दैै पछिल्लोपटक आगामी डिसेम्बर १ देखि १० सम्म आयोजनाको मिति तय भएको हो।

सरकारले पछिल्लो समय देखाएको अग्रसरताले १३औं सागका विषयमा हुँदै आएको टीकाटिप्पणी र आशंका विस्तारै मत्थर हुन थालेको छ। ‘मंसिरमा साँच्चै साग हुन्छ’ भने विश्वासको वातावरण बन्न थालेको छ। द्रुत गतिमा पूर्वाधार तयारी र अन्य व्यवस्थापकीय तयारीले शंका आशंका हटेको छ। नेपालका लागि साग आयोजनाको अन्तिम मौका भएकाले निर्धारित मितिमा गर्नुको विकल्प छैन। यो कुरालाई सरोकार निकायले पनि राम्रैसँग बुझेको हुनुपर्छ। सन् १९८४ बाट सुरु भएको साग तेस्रोपटक नेपालमा आयोजना हुन लागेको हो। यसअघि सन् १९८४ को पहिलो र सन् १९९९ को आठौं संस्करण नेपालमै आयोजना भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.