पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण

पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माण

वीरगन्ज : पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई आकर्षित गर्न निकुञ्ज प्रशासनले विभिन्न काम थालेको छ। पर्सा वन्यजन्तु आरक्षलाई २०७४ असारदेखि निकुञ्जमा परिणत गरिएपछि मात्रै त्यसयता स्वदेशी तथा विदेशी पर्यटकलाई अवलोकन र घुमफिरका लागि निकुञ्ज खुल्ला गरिएको हो।

पहिले वन्यजन्तु आरक्ष रहँदा वन्यजन्तुको संरक्षण गर्ने मात्रै उद्देश्य रहेकोमा दुई वर्ष पहिले निकुञ्जमा स्तरोन्नति गरिएपछि पर्यटन पनि प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकको अवलोकन र भ्रमणका लागि खुला गरिएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमीर महर्जनले भने, ‘निकुञ्जमा स्तरोन्नति गरेयता निकुञ्ज क्षेत्रलाई पर्यापर्यटनको रूपमा पनि विकास गर्नुपर्छ, निकुञ्ज क्षेत्रबाट राज्यले आम्दानी पनि लिन सक्नुपर्छ भन्ने उद्देश्यले पर्यटकका लागि खुल्ला गरिएको हो।’ निकुञ्ज क्षेत्रमा दुई वर्षयता पर्यटनका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी उनले दिए।

पर्यटकको अवलोकन र घुमफिरका लागि निकुञ्जको जंगलभित्र पर्ने मकवानपुरको प्रतापुर, पर्साको रातेमाटे, रामभौरी भाथा, बाराको हलखोरीयामा गरी एक दर्जन पक्की भ्यू टावर निर्माण गरिएको छ। वन्यजन्तु अवलोकनकै लागि रुखको माथि माथि झोलुङ पुल पनि बनाउने तयारी गरिरहेको महर्जनले जानकारी दिए। यस्तै जंगलभित्र फायर लाइन बिस्तार गरिनुका साथै जंगली हात्ती नुहाउने स्थान र वन्यजन्तुका लागि बासस्थान र घाँसे मैदान पनि बनाउने काम भइरहेको महर्जनले बताए।

महर्जनका अनुसार पर्यटक प्रवेशका लागि बाराको आधार र अमलेखगन्जको हात्तीसार, पर्साको चारभैया र गडुवाइलान मकवानपुरको प्रतापपुरमा गरी ५ स्थानमा पर्यटक प्रवेश केन्द्र स्थापना गरिएको छ। निकुञ्जमा अवलोकन र घुमफिरका लागि आउने पर्यटकको सुरक्षा र वन्यजन्तुको चोरी शिकारी रोक्न निकुञ्जभित्र ठाउँठाउँमा सीसीटिभी क्यामेरा जडान गरिएको छ। निकुञ्ज भित्रका १५ स्थानमा निकुञ्ज प्रशासन र नेपाली सेनाको पोष्ट राखिएको जानकारी पनि उनले दिए। पर्यटकको सहजताका लागि आधभारस्थित निकुञ्ज प्रशासन कार्यालय परिसरमा डिजिटल सूचना केन्द्र, टिकट काउण्टरजस्ता भौतिक संरचना पनि निर्माण गरिएको छ।

पर्यटकलाई जंगल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती पनि राखिएका छन्। निकुञ्जभित्र फायर लाइन पनि भएकाले हात्तीमा जंगल सफारी गर्न नचाहने पर्यटकले निजी सवारीमा जंगल सफारी गर्न सक्ने व्यवस्था पनि मिलाइएको महर्जनले बताए। नेपालमा पाइने रैथाने हात्तीको बासस्थान संरक्षण गर्ने उद्देश्यले २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको चार सय ९९ वर्गकिलोमिटर जंगल क्षेत्रलाई पर्सा वन्यजन्तु आरक्षको रूपमा व्यस्थापन गरिएको थियो।

२०७२ सालमा भने बारातर्फको एक सय २८ दशमलव ३९ वर्गकिलोमिटर राष्ट्रिय वन क्षेत्रलाई पनि तत्कालीन पर्सा वन्यजन्तु आरक्षमा समाहित गरेर निकुञ्जका रूपमा स्तरोन्नति गरिएपछि यसको कूल क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्गकिलोमिटर छ। दुर्लभ वन्यजन्तु र वनस्पतिको जैविक विविधताले यो निकुञ्ज नेपालकै धनी निकुञ्ज हो, महर्जनले भने, ‘निकुञ्जमा दुर्लभ एक सिँगे गैंडा, रैथाने हात्ती, दुर्लभ पाटे बाघ, गौरीगाईजस्ता जनावार प्रशस्त छन्।

यसैगरी भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरी गाईका साथै झन्डै दुई सय प्रजातिका चराचुरुंगी छन्। कामिनी दह, हलखोरीया दह र लौकी दह गरी तीनवटा प्राकृतिक मनोरम ताल पनि निकुञ्जभित्र छन्। उनका अनुसार पछिल्लो गणनाअनुसार निकुञ्जमा वयष्क पाटे बाघ १८, रैथाने हात्ती ६० देखि ६५, एक सिँगे गैडा ५ वटा छन्। निकुञ्जमा प्रवेशका लागि नेपाली पर्यटकको हकमा १ सय रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि ७ सय ५० रुपैयाँ तथा अन्य मुलुकका पर्यटकका लागि एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको महर्जनले जानकारी दिए।

निकुञ्ज स्वदेशी र विदेशी दुवै खालका पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको महर्जनले बताए। उनले भने, ‘एक त यो राजधानी काठमाडौं र भारतीय बोर्डरबाट देशका अरू सबै निकुञ्जभन्दा छोटो दुरीमा छ, अर्को कुरा द्रूत मार्ग र दो श्रो अन्तर्राष्ट्रिय विमानस्थल यसकै नजिकमा बनिरहेको छ।’ द्रूत मार्ग बनेपछि भने काठमाडौंका पर्यटक दुई घण्टामै निकुञ्ज आएर दिनभर रमाइलो गरेर सोही दिन काठमाडौ फर्किन सजिलै भ्याउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.