कहिले आउँछ रेल ?

कहिले आउँछ रेल ?

जनकपुरधाम :  रेल चढेर विवाह पञ्चमी मेला जान पाउने भएपछि सूर्यकलादेवी गत वर्ष निकै खुसी भइन्। तर, जयनगर–जनकपुर रेल चल्ने अनिश्चित हुँदा धनुषा जनकनन्दनी–४ खजुरीकी कामत रेल चढेर जनकपुर आउन पाइनन्। उनको आशा निराशामा परिणत भयो।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्ष मंसिर पहिलो साता लिक परीक्षण भएको थियो। रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चाले यस भेगमा उत्साह छाएको थियो।

‘एहि सँ पहिनही साल वियाह पञ्चमी मेलामो जयनगर सऽ कुर्थातकऽ रेल चलतै से सुनने रहीयैय, फेर सुनैछिय जे अुहँबेर नै चलत, अहुँ बेर रेल चढके सपना पूरा नै भेल’ (गत मंसिरमै विवाह पञ्चमी मेलामा जयनगरबाट जनकपुरधामबाट रेल चल्ने हल्ला थियो। यस वर्ष पनि चलेन। रेल चढेर मेला हेर्न जान नपाइने भो !)

कामतीजस्तै जनकनन्दनी, औरही गाउँपालिकालगायत क्षेत्रका स्थानीय रेल चढ्ने सपना अधुरै रहेको बताउँछन्। जनकनन्दनी गाउँपालिकाकै ८० वर्षीय जोगनी दासले भने, ‘उमर सेहो आबनइ रहीगेल, सोचैछली जे एकबेर रेल चैढ्क जानकी मैयाके दर्शन कैरतों, मुदाआब इ ललसा पूरा होयवाकआस मैरगेल’ (उमेरले अब साथ दिन छोड्यो। सोचेको थिएँ– एकचोटि रेल चढेर रामजानकी विवाह पञ्चमी हेरौं, माता जानकीको दर्शन गरौं। अब यो रहर पूरा हुने छाँट देखिएन)।

गत वर्ष विवाह पञ्चमी मेलाको तयारी भइरहँदा जयनगर–जनकपुरधाम–कुर्थासम्म लिक ओछ्याउने काम सम्पन्न भएको थियो। रेल चलेपछि आवतजावत गर्न र सामान सजिलै बजारमा पुर्‍याउन पाइने आस थियो सर्वसाधारणमा।

‘जनकपुरधाम नपुगेको पाँच वर्ष भयो। रेल चल्दा आउनजान सजिलो हुन्थ्यो। कहिले आउँछ होला त्यो दिन, फेरि रेल चलेको हेर्न इच्छा छ। मर्नुअघि एकपटक रेल चलेको हेर्न चाहन्छु’, जनकनन्दनी गाउँपालिकाका ८० वर्षीय मो. हामिद साफीले भने, ‘रेल चल्ने कुरा बच्चाबच्चीको खेलजस्तै भयो।’

धनुषाको सीमा क्षेत्र ईनर्वामा निर्माण भएको रेल स्टेसनसँग खजुरी, मैनाथपुर, बैदेही, परवाहा, जनकपुरधाम, कुर्था लगायतका जोडिएका छन्। यस्तै महोत्तरी लोहारपट्टी नगरपालिकाका महदैयातपनपुर, खुट्टापिराढी, लेउरी मुसहरी, मधेपुरा, बगडा र पिपरा गाउँपालिकाका रतौली र रतनपुर रेलमार्गसँग जोडिएका बस्ती हुन्। भंगाहा नगरपालिकाको पडरिया, हरिनमरी, धर्मपुर, कबिलासा र सिंगयाही एवं बलबान गरपालिकाका भलनी, धमौरा, रौजा, बनौटा, लेउरी र अधियानपुर कुर्थाबाट नजिकका बस्ती हुन्। दुई वर्षदेखि रेलको आसमा रहेका बासिन्दा निराश भएको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले बताए।

कुर्थासम्म रेल चलेपछि यातायातको सुगमता र बजारसँगको सम्बन्ध स्थापित हुने विश्वास स्थानीय बासिन्दामा थियो। रेल चल्ने अनिश्चित भएपछि अन्योल बढेको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादव बताउँछन्।

पहिलो चरणको ३४ किलोमिटर दूरीमा लिकमा इन्जिन र डिब्बाको व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भएको रेल विभागका साइट इन्जिनियर विनोद ओझा बताउँछन्। ओझाले भने, ‘रेल इन्जिन र लिक तयार भएर परीक्षणसमेत भइसकेको छ। इन्जिन र रेल डिब्बाको भारतको चेन्नई मद्रासमा रंगरोगन कार्य भइरहेको छ। त्यो काम सकिनेबित्तिकै रेल सञ्चालन हुन्छ।’

गत वर्षदेखि जनकपुरधाममा रेल चल्ने कुरा चल्दै आएको छ। कहिले असोजदेखि त कुनै बेला वैशाखदेखि रेल चल्ने कुरा समेत चल्यो तर रेल भने चलेन बरु रेल सेवा सुचारु हुनुभन्दा अगावै गत असारमा आएको बाढीले धनुषाको इनर्वामा रहेको रेल्वेको लिक बगाएर लग्यो। लिक मर्मत हुन एक महिना लाग्ने इन्जिनियर ओझाले बताए।

रेलवेका सामान चोरी

जनकपुरधाम–जयनगर रेलमार्ग सञ्चालनमा ढिलाइ भएपछि भौतिक संरचना चोरी हुन थालेको छ। लिकको क्लिप, टाइल्स, खानेपानीको धारा चोरी भएको रेल विभागका साइट इन्जिनियर विनोद ओझा बताउँछन्। उनले भने, ‘परवाहा स्टेसनको भ्mयाल ढोकादेखि लिएर ग्रिलसमेत चोरी भएको छ।’

नेपाल–भारत विकास साझेदारीअनुसार भारतीय वित्तीय अनुदानमा ३४ किलोमिटर लामो जयनगर–कुर्था ब्रोडगेज रेलमार्ग निर्माण गरिएको छ। कुर्था–जनकपुर–जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई विस्थापित गरी ब्रोडगेजको रुपमा विस्तार गरिएको हो। यसैगरी कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म पनि रेलमार्ग निर्माण कार्य भइरहेको छ। रेलमार्ग निर्माण भएका कारण जनकपुर–जयनगर रेल सेवा ६ वर्षदेखि बन्द छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.