प्यूठानमा सामाजिक डिभिजन
प्यूठान : प्यूठान र रोल्पालाई हेर्नेगरी विजुवार प्यूठानमा सामाजिक विकास डिभिजन स्थापना भएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयले डिभिजन स्थापना गरेको हो । प्रदेशबाट पाउने सेवा सुविधा अबदेखि जिल्लाबाटै हुनेछ । कार्यालयको मंगलबार प्रदेशसभा सदस्य हरीप्रसाद रिजालले उद्घाटन गरे ।
प्रदेश मन्त्रालयले जिल्लामा संचालन गर्ने कार्यक्रमको कार्यसम्पादनमा सहजता ल्याउनका लागि डिभिजन खोलिएको मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले जानकारी गराए । शिक्षा, महिला तथा बालबालिका, जेष्ठ नागरिक, अपांगता, श्रमरोजगार, युवा तथा खेलकुद, विज्ञान प्रविधिलगायतका क्षेत्रका कामहरुको सहजरुपमा उक्त डिभिजनबाट कार्यसम्पादन हुनेछ ।
डिभिजन स्थापना भएपछि मन्त्रालयबाट पाउने सेवा सुविधा लिन बुटवल नै धाउनुपर्ने बाध्यता हटेको छ । प्रदेशका १२ वटै जिल्लालाई हेनेगरी ६ वटा डिभिजन कार्यालय स्थापना गरिसकिएको ज्ञवालीले बताए ।
कार्यालयको प्रभावकारीता हेरेर आगामी वर्षदेखि १२ वटै जिल्लामा समेत डिभिजन खोल्न सकिने ज्ञवालीको भनाई छ । चालु आर्थिक वर्षमा डिभिजन कार्यालयले यसअघि तोकिएका योजना तथा कार्यक्रम कार्यान्वयन गर्नेछ । अर्को वर्षदेखि सवै डिभिजनले आफ्ना कार्यक्रमहरु समेत बनाउन पाउने मन्त्रालयले जनाएको छ ।
प्रदेशसभा सदस्य रिजालले बुटवलबाट हुने सेवा जिल्लाबाट हुनेभएपछि दुई जिल्लाका सेवाग्राहीलाई सहज भएको बताए । 'अहिलेसम्म मन्त्रालयका सेवा लिन दुःख बुटवल धाउनुपर्यो, 'उनले भने, 'अबदेखि धेरै सहज हुनेछ ।'
बजेट फ्रिज हुनबाट समेत यसले रोक्ने उनको विश्वास छ । प्रदेशको सेवा लिन धेरै समस्या झेल्नु परेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताए ।'प्रदेशका कार्यक्रमलाई जनताले नजिकबाट बुझन पाउने भएका छन्, उनले भने, 'प्यूठानमै कार्यालय हुँदा अझ उत्साहित छौँ।'
मन्त्रालयले डिभिजन प्रमुखको रुपमा आठौँ तहका अधिकृत विष्णुप्रसाद भुसाललाई तोकेको छ । कार्यालयमा पाँच जना कर्मचारी रहनेछन् । सामाजिक विकास डिभिजन कार्यालय सहित जिल्लामा स्वास्थ्य कार्यालय र प्यूठान अस्पताल प्रदेश मातहतमा सञ्चालनमा छन् ।