नागरिक शिक्षा किन नसिक्ने ?

असल नागरिक, सचेत नागरिक र सभ्य नागरिक नै जुनसुकै मुलुकमा अमूल्य निधि हुन्। विकासको अन्तिम विन्दु भनेको पनि मानव विकास हो, नागरिक विकास हो। हाम्रा आजभोलिका क्रियाकलाप नागरिक शिक्षाविहीन बन्दै गइरहेका छन्। हामीलाई अरूका कुरा सुन्न र अरूको विचारमा विश्वास गर्न मन लाग्दैन। आफ्नो देशमा कुनै पनि काम नगरेर दुःखै भए पनि वैदेशिक रोजगारमा जान मन लाग्छ। सरकारलाई कर नतिरेर छल्न सकियो भने आफूलाई महान् हौं जस्तो बुझ्ने गर्छौं। समाज, राजनीति र देशप्रति नै हामीमा वितृष्णा बढेको छ।
केही समय पहिला सरकारी निकायद्वारा व्यवस्थापन गरिएको ट्याक्सीमा मिटर प्रणालीको विरोध गर्न ट्याक्सीचालक एकजुट भए। जब बजार अनुगमनका लागि सरकारी निकाय निस्कन्छ। यसमा पनि अधिकांश पसलेहरूले विरोध गर्नुका साथै अनुगमनकर्तालाई कुटपिट गर्नसमेत अघि सर्छन्। अनुगमनमा सहयोग गर्नुको सट्टा झन् विरोध र पसलसमेत बन्द गर्छन्। त्यसैगरी उपत्यकाबाट पुराना सवारी साधन नचलाउने भनेर निर्णय गरियो। यो निर्णय हुनासाथ यातायात व्यवसायीहरू विरोधमा निस्के। काठमाडौं उपत्यकामा प्लास्टिकका झोला नचलाउने भनेर प्रतिबन्ध गराइयो तर हामीले नै यसको उल्लंघन गरेर झन् बढी प्लास्टिकका ब्याग सञ्चय गर्न थाल्यौं। यी र यस्ता कुरामा अग्रसरता देखाउनु भनेको नागरिक शिक्षाको अभाव हो।
यसो भनिरहँदा हामीसँग पटक्कै नागरिक शिक्षा छैन भनेको होइन। अहिले देशको सिमाना जोगाउन नागरिक सबै एकजुट भएर लागेका छन्। केही वर्ष पहिलासम्म सार्वजनिक यातायात र सार्वजनिक स्थलमा चुरोट खाएर धुवाँ उडाउने गरिन्थ्यो। अहिले त्यो क्रम रोकिएको छ। नागरिकमा सचेत हुने क्रम विस्तारै बढ्दो छ। निर्माण व्यवसायीहरूले समयमा सडक बनाएर सकेनन् भनेर नागरिकले सम्बन्धित निर्माण व्यवसायीको पोस्टर टाँस्ने काम केही ठाउँमा गर्न थालेका छन्। हुन त यसो गर्नुलाई कसैले अराजक भन्न सक्लान् तर यसले निर्माण व्यवसायीहरूमा तोकिएको समयमा काम सम्पन्न गर्न दबाब सिर्जना हुन्छ।
नागरिक शिक्षा एउटा सचेत नागरिकको लागि नभइनहुने शिक्षा हो। सार्वभौमसत्ता जनताको राज्यमा नागरिक शिक्षा अपरिहार्य हुन आउँछ। लोकतान्त्रिक शासन व्यवस्थाको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, वातावरणीयलगायतका विकासका लागि नागरिक शिक्षाले महत्वपूर्ण भूमिका खेल्छ। मुलुकलाई आवश्यक पर्ने ज्ञान, सीप, क्षमता एवं दक्षताले नागरिक भरिपूर्ण हुनु नै नागरिक शिक्षा हो। जुन मुलुकमा नागरिकहरू नागरिक शिक्षाले भरिपूर्ण हुन्छन्, सोही मुलुकले विकासको गति लिन सक्छ।
नागरिक शिक्षा स्वशासनको शिक्षा हो। यसले हरेक व्यक्तिलाई स्वयम् व्यवस्थापन र स्वयम् नियन्त्रण गर्न सक्ने क्षमताको विकास गराउँछ। नागरिकलाई ऊर्जावान् एवं चेतनशील बनाउँछ। अहिलेका हामीजस्तो लोसे, अल्छी नभई हरेक कामकुरामा ऊर्जावान् एवं चेतनशील बनाउँछ। आफ्ना अधिकार र कर्तव्यहरूको उचित प्रयोग गर्न सिकाउँछ। स्वतन्त्रतालाई संवद्र्धन र प्रवद्र्धन गर्न क्षमतावान् बन्न सिकाउँछ। नागरिक शिक्षा यस्तो शिक्षा हो, जसले नागरिकका साहस, त्याग एवं बलिदान, सेवा र माया–ममताजस्ता गुणहरूको विकास गराउँछ। स्वस्थ राजनीतिक समाज निर्माण गर्छ। नागरिक र सरकारबीच असल सम्बन्ध निर्माण गर्छ।
नागरिक शिक्षाविना कुनै पनि नागरिक असल नागरिक, सचेत नागरिक बन्न सक्दैन। हामीसँग देशप्रति नै वितृष्णा छ। आफ्नो मुलुकमा सकारात्मक कुरा केही पनि देख्दैनौं हामी। सरकारलाई न्यूनतम कर तिर्नुुपर्यो भने पनि ज्वरो आउँछ हामीलाई। सरकारललाई विभिन्न कामका लागि दबाब दिन विभिन्न रचनात्मक र गुणात्मक काम गर्न सकिन्छ। त्यस्ता काम नगरेर हामीलाई विरोध मात्र गर्न मन पर्छ। नेपाल बन्द, हडताल र अन्य उच्छृङ्खल क्रियाकलाप गर्न हामीलाई आनन्द लाग्छ। यस्ता प्रवृत्तिले कसैको पनि फाइदा गर्दैन। यस्ता नराम्रा बानीबेहोरा कम गर्न हामीमा नागरिक शिक्षाको ज्ञान हुन जरुरी छ।
नागरिक शिक्षाका अवयवहरूमा मतदाता शिक्षा, राजनीतिक साक्षरता, अधिकार शिक्षा, शान्ति शिक्षा, प्रजातान्त्रिक शिक्षा आदि पर्छन्। यसका विभिन्न सिद्धान्तहरू छन्। सामुदायिकताको सिद्धान्त, निष्पक्षताको सिद्धान्त, मानव अधिकारको सिद्धान्त, नैतिकताको सिद्धान्त, सचेतताको सिद्धान्त, सहयोगको सिद्धान्त, सहभागिताको सिद्धान्त, कानुुनी राज्यको सिद्धान्त, स्वशासनको सिद्धान्त, उत्तरदायित्वको सिद्धान्तलगायतका अन्य सिद्धान्तहरूले नागरिकलाई एउटा सभ्य नागरिक, ज्ञान सीप र क्षमताले भरिपूर्ण नागरिक बनाउन सहयोग गर्छ।
हामीमा राजनीतिप्रति उदासीनता बढेको छ। हुन त राजनीतिले पनि समाजमा, मुलुकमा गर्नुपर्ने जति गरेको छैन। उच्च राजनीतिक संस्कारको अभाव छ। अहिले नागरिक शिक्षा अव्यवस्थित भएको छ। यो पार्टीगत शिक्षामा रूपान्तरित हुँदै जानु राम्रो कुरा होइन। हामी नेपाली एक सूत्रमा बाँधिन सकेका छैनौं। जहिलेसुकै झीनामसिना कुरामा आपसी मनमुटाव र झैझगडा भइरहेको छ। हामीमा राज्यप्रति विश्वास घटेको छ। भ्रष्टाचार, नातावाद, कृपावादको कारणले आमनागरिकमा सार्वजनिक सेवा प्रवाह गर्ने निकाय आफ्ना होइनन् भन्ने मान्यताले जरा गाडेको छ। गरिब नागरिक राष्ट्र सेवाको सट्टा अन्य देशमा गएर रोजगार गर्न बाध्य भएका छन्।
हामी नागरिकको आत्मानुशासन फितलो र कमजोर भइरहेको छ। विभिन्न कुरामा वकालत र खबरदारी गर्ने भनेर चिनिएको नागरिक समाज आफैं राजनीतिक खोल ओढेर बसेको अवस्था छ। हाम्रो विद्यालय शिक्षा व्यावहारिकभन्दा सैद्धान्तिक बढी रहेको छ। राज्यका नीति तथा अन्य कार्यक्रमबारे नागरिकलाई खासै थाहा हुँदैन। नीति सञ्चारलाई बेवास्ता गरिएको छ। जसले गर्दा पनि नागरिक शिक्षाको पाटो अगाडि बढ्न सकेको छैन।
‘नागरिक बर्दीविनाका प्रहरी हुन्’। त्यसैले हरेक नागरिक आफ्नो अधिकार, कर्तव्य, दायित्व र जिम्मेवारीबाट विमुख हुनु हुँदैन। नेपालको संविधान २०७२ अनुसार नागरिकका कर्तव्यहरू धारा ४८ मा देहायबमोजिम चारवटा छन्– १. राष्ट्रप्रति निष्ठावान् हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु। २. संविधान र कानुनको पालना गर्नु। ३. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु। ४. सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु। यसका साथै संविधानमा ३१ वटा मौलिक हकहरूको व्यवस्था गरिएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा पनि धेरै कुरा उल्लेख गरिएको छ।
नागरिक शिक्षा हरेक नागरिकका लागि अपरिहार्य र अनिवार्य हुनुपर्छ। यसको विस्तारका लागि हामीले औपचारिक र अनौपचारिक रूपमा गर्न सकिन्छ। अहिले भइरहेको विद्यमान औपचारिक पाठ्यक्रममा नवीन मान्यताअनुरूपको नागरिक शिक्षा समावेश गरेर परिमार्जन तथा सबलीकरण गर्नुपर्छ। अनौपचारिक नागरिक शिक्षाको विस्तारीकरणमा जोड दिनुपर्छ। विभिन्न मनोवैज्ञानिक परापर्शदातासमेत अन्य प्रशिक्षकहरूको उत्पादन गर्नु जरुरी छ। नागरिक शिक्षा हरेक नागरिकमा पुर्याउन अहिले विस्तार भएका सञ्चारका साधनहरूको व्यापक प्रयोग गर्नुपर्छ।
नागरिक शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो। खुला लोकतान्त्रिक समाजमा मात्र यसको अस्तित्व सम्भव छ। यो शिक्षा जुनसुकै उमेर समूहकालाई प्रदान गर्न आवश्यक हुन्छ। नागरिक शिक्षाले मुलुकलाई एक ढिक्का बनाउने लक्ष्य र उद्देश्य लिएको हुन्छ। सुरुमा देशअनुरूप विकास भएको नागरिक शिक्षाले हाल विश्वव्यापी रूप ग्रहण गरेको छ। नेपालको हालको लोकतान्त्रिक संघीय गणतान्त्रिक व्यवस्थालाई सबल र सफल बनाउनका लागि नागरिक शिक्षाको आवश्यकता छ।
हाम्रो समाज अहिले पनि सभ्यता, सचेतना र विकासमा वामे सर्दै गरेको अवस्था छ। यो अवस्थाबाट निकै अगाडि बढ्नका लागि नागरिक हक, अधिकार, कर्तव्य र दायित्वप्रति सचेत बन्दै एकअर्काप्रति जिम्मेवार बन्न नागरिक शिक्षा एक मात्र अस्त्र हुन सक्छ। नागरिक शिक्षाको समाजीकरण गर्न राज्यले ध्यान दिनुपर्छ। नागरिक शिक्षामा सरकारले लगानी बढाउन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस !
