पूर्वराजा ज्ञानेन्द्र आफैँ गाडी हाँकेर पुगे मन्दिर
कपिलवस्तु : पूर्वराजा ज्ञानेन्द्र शाहले आज शुक्रबार कपिलवस्तु जिल्लाको धार्मिक भ्रमण गरेका छन् ।
जिल्लाको बुद्धभूमि नगरपालिकाको गोरुसिंगेस्थित पशुपतिनाथको मन्दिर दर्शन र पूजाआजाका लागि पूर्वराजा शाह दिउँसो गोरुसिंगे पुगेका थिए । यस अवसरमा पूर्वराजा शाहले पशुपतिनाथ मन्दिरमा हिन्दू धर्म परम्परा अनुसार पुजा आजा गरे ।
शाह आफैँ गाडी चलाएर साँझ करिब ४ बजे गोरुसिंगे पुगेका थिए । करिब १ किलोमिटरको दूरीमा लामवद्ध सर्वसाधारणबाट शाहले पुष्पगुच्छाको स्वागत ग्रहण गर्दै भेटघाट गरेका थिए ।
सो अवसरमा स्थानीयले राजतन्त्र र हिन्दूराज्यको पक्षमा नारावाजी समेत गरेका थिए । पूर्वराजालाई हेर्न बालबालिका, युवा, वृद्धवृद्धाको भीड नै लागेको थियो । पशुपतिनाथ मन्दिर दर्शनपछि पूर्व राजा शाहले वाणगंगा नगरपालिकाको जितपुरमा आयोजित कपिलवस्तु महोत्सवको अवलोकन गरेका थिए ।
पूर्वराजाको भ्रमणमा सुरक्षा व्यवस्था कडा गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको साथमा शिवसेना नेपालका स्वयंसेवक परिचालन भएका थिए । यस क्रममा ज्ञानेन्द्र शाहले भने सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । पशुपतिनाथ मन्दिरको पूजापछि पूर्व शाह रुपन्देही फर्केका छन् ।