नरकबाट फर्केपछि ‘एक्टिभिस्ट’ बनेकी चरीमाया
![नरकबाट फर्केपछि ‘एक्टिभिस्ट’ बनेकी चरीमाया](https://annapurnapost.prixacdn.net/media/albums/Charimaya-women-trafficking_20191207114049_B7r5nZ2Oxl.jpg)
अमेरिकी विदेश मन्त्रालयबाट ‘आधुनिक दासता विरुद्धको नायक’ घोषित चरीमाया तामाङले जीवनमा अथाह पीडा भोगेकी छिन् । उनलाई दलालहरूले भारतको मुम्बईको कोठीमा पुर्याएका थिए । करिब दुई वर्ष उनले नरक भोगिन् । त्यहाँबाट मुक्त भएपछि उनी बेचिएका चेलीबेटीको उद्धारमा सक्रिय छिन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा परिचित नाम हो, चरीमाया तामाङ (४२) । उनी सन् २०११ मा अमेरिकी विदेश मन्त्रालयबाट ‘आधुनिक दासता विरुद्धको नायक’ को पुरस्कारबाट सम्मानित भइन् । २०६४ सालमा नेपाल सरकारबाट पनि सम्मानित भएकी थिइन् ।
उनी १६ वर्षको उमेरमा भारतमा बेचिएकी थिइन् । दुई वर्षपछि उनको उद्धार भएको थियो । उद्धारपछि नेपाल फर्किएकी उनले आफूजस्तै बेचिएका महिला तथा बालबालिकाको उद्धार र पुनःस्थापनाका लागि ‘एक्टिभिस्ट’का रूपमा काम गर्न थालिन् । शक्ति समूह भन्ने संस्था स्थापना गरिन् । सो संस्थाले सन् २०१३ मा एसियाको नोबेल पुरस्कार भनिने ‘रामोन म्याग्सेसे अवार्ड’ जितेको थियो । उनी अहिले
शिक्षक बन्ने सपना
सिन्धुपाल्चोकमा जन्मिएकी हुन्, चरीमाया । उनी परिवारकी कान्छी छोरी हुन् । सानोमा चुलबुले थिइन् । ‘साथीहरूसँग खेल्न निकै पर–परको गाउँसम्म पुग्थेँ,’ उनले सम्झिइन्, ‘गाउँमा धेरै डुलिहिँड्नेमध्येमा पर्थें ।’ त्यतिखेर छोरीहरूलाई खासै पढाइन्नथ्यो । तर, चरीमायाले गाउँबाट आधा घण्टा टाढा स्कुलमा कक्षा पाँचसम्म पढिन् । त्यसपछिको स्कुल दुई घण्टा टाढा थियो । ‘स्कुल टाढा भएकाले पढ्ने इच्छा हँुदा पनि पढ्न पाइनँ,’ उनले भनिन् ।
बाल्यकालमा शिक्षक बन्न चाहन्थिन्, उनी । ‘टिचर बनेर गाउँका दिदीबहिनीलाई पढाउन चाहन्थेँ,’ उनले सुनाइन्, ‘आफूले धेरै पढ्न नपाएपछि सपना अधुरो रह्यो ।’ तर, गाउँमा प्रौढ शिक्षाको सहयोगी भएर काम गरिन् । सानैदेखि समाजसेवाको भावना पनि उनमा थियो । उनका घरको आँगनमा एक्सन नेपाल नामक संस्थाले पुस्तकालय सञ्चालन गरेको थियो । ‘डोरीमा पुस्तक झुण्ड्याएर राखिएका हुन्थे’, उनले सम्झिइन्, ‘पढ्न इच्छुकले किताब छानेर लग्थे । पढेपछि फर्काउँथे ।’ स्कुलको औपचारिक शिक्षाबाट वञ्चित भए पनि उनले आफ्नै आँगनमा भएको पुस्तकालयबाट थुप्रै पुस्तक पढ्ने मौका पाइन् ।
त्यो भयानक दिन
चरीमाया गाउँमा मेलापात, घाँसदाउरा गर्थिन् । पुस्तकबाट हासिल गरेको ज्ञानले सिन्धुपाल्चोकमा छोरीचेली बेचिरहेका घटनाबारे जानकार थिइन्, उनी । ‘म त्यसविरुद्ध बोल्न थालेँ,’ उनले भनिन्, ‘जसले गर्दा स्थानीय दलालले मलाई धाकधम्की दिन थाले । तर, मैले हरेस खाइनँ ।’
२०५० सालमा चरीमायाका बुबा बिते । बुबाको मृत्युपछि परिवार समस्याबाट गुज्रिन थाल्यो । खनिखोस्री खाने पाखोबारी थियो । जेनतेन जीवन कटिरहेको थियो । धाकधम्की दिनेहरू अब विदेशमा जागिर लगाइदिने प्रलोभन दिन थाले । उनले मानिनन् । उनीविरुद्ध अपराधको योजना बन्यो । २०५० साल चैत महिनामा घरधन्दा सकेर उनी घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन् । एक्ली थिइन् । ‘दुई अपरिचित मान्छे मेरो छेउमा आए,’ उनले भनिन्, ‘विभिन्न प्रलोभन देखाउँदै फकाए । नमानेपछि डरधम्की दिन थाले । कुटपिट पनि गरे । त्यति गर्दा पनि म मानिनँ । आतिएँ, रोएँ, कराएँ । तर, सुनसान जंगलमा मेरो चित्कार कसले सुन्थ्यो ? त्यसपछि बेहोश हुने औषधि खुवाएर अपहरण गरे ।’
घटना भएको त्यस दिनलाई चरीमाया आफ्नो जीवनको भयानक दिन मान्छिन् । अचेत अवस्थामा उनलाई नेपाल कटाइयो । होशमा आउँदा सोह्रवर्षे उनी गोरखपुरमा पुगिसकेकी थिइन् । उनलाई भारत जाने रेलमा राखियो र फेरि अचेत पारियो । ‘नेपालबाट भारत पुर्याउँदासम्म कति रात, कति दिन मलाई बेहोश पारियो, थाहा छैन,’ उनले सम्झिइन्, ‘भारत पुगेपछि मात्र होश आयो । त्यहाँ मलाई एक जना महिलाको जिम्मा लगाइयो ।’
नारकीय जीवन
मुम्बईको कोठीमा बेचिएको थियो, उनलाई । जहाँ उनीजस्ता थुप्रै किशोरी थिए । सकेजति बल गरेर त्यहाँबाट फुत्कन खोजिन् । ‘तर, पिँजडामा परेको चरीको के सीप लाग्थ्यो र !’ उनले भनिन् । कोठीका मान्छेले मारेर फालिदिने धम्की दिन्थे । रात–रातभर रुन्थिन्, उनी । भनिन्, ‘कोठाको झ्यालको माथिपट्टि भेन्टिलेसन फुटेको थियो । त्यहाँबाट भाग्ने कोसिस गरेँ । तर, सकिनँ । आत्महत्याको प्रयास पनि गरेँ । पलङमाथि पंखा झुण्ड्याउने ठाउँ थियो । त्यसमा सल हालेर झुण्डिने कोसिस गरेँ । एक्कासि सल चुँडियो, म पलङमा पछारिएँ । मर्न पनि सकिनँ ।’
‘केही दिनपछि कोठीको सबैभन्दा ठूलो कोठामा चार जना डरलाग्दा पुरुष बसेका थिए,’ चरिमायाले थपिन्, ‘त्यस अँध्यारो कोठामा कोठीवालीले मलाई धकेलिन् । जहाँ एउटा पलङबाहेक केही थिएन । ती चार जनाले गिद्धले सिनो लुछेझैँ मेरो अस्मिता लुटे ।’ सामूहिक बलात्कारपछि उनी अचेत भइन् । होशमा आउँदा आफू जिउँदो लाश भएको उनले बताइन् । ‘होशमा आउँदा रक्ताम्य भएकी थिएँ,’ भावुक हुँदै उनले सुनाइन्, ‘मेरो नजिक कोही थिएन । आफ्नो शरीर टुक्रा–टुक्रा भएर कतै खसेको महसुस भयो ।’ त्यसपनि दिनहँु यौनपिपासुको शिकार बन्न थालिन् । ‘घर सम्झेर रुन्थेँ,’ उनले भनिन्, ‘चाडपर्व आउँदा गाउँघरको याद आउँथ्यो । तर, हरेक दिन पटक–पटक मर्न बाध्य थिएँ ।’
महिनावारी हुँदा बिदा हुन्थ्यो । उनलाई सधैँ महिनावारी नै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । ‘भाग्ला भनेर जनावरलाई जस्तै निगरानी गरिन्थ्यो,’ उनले सुनाइन्, ‘त्यसैले त्यहाँबाट निस्कने आशा नै मारिसकेकी थिएँ ।’
नयाँ बिहानी
भारतीय प्रहरी छापा मार्न पटक–पटक आउँथ्यो कोठीमा । कोठीवालीले बेचिएका युवतीलाई लुकाउँथिन् । ‘प्रहरीले भेट्यो भने मार्छन् भनेर घरवालीले डर देखाउँथिन्,’ चरीमायाले सुनाइन्, ‘पछि–पछि त प्रहरी आएको चाल पाउनेबित्तिकै हामी आफैँ पनि लुक्थ्यौँ ।’ उनले त्यहाँ कहालीलाग्दा २२ महिना बिताइन् । ‘त्यस कालकोठरीबाट बाहिर निस्किन्छु भन्ने कल्पना पनि गरेकी थिइनँ,’ उनले भनिन्, ‘अँध्यारो पछिको उज्यालोजस्तै मेरो जीवनमा अँध्यारो रातपछि नयाँ बिहानी आयो ।’ २०५२ सालमा त्यहाँ बेचिएका थुप्रै नेपाली चेलीको भारतीय प्रहरीले उद्धार गर्यो । जसमध्ये एक थिइन्, चरीमाया ।
उद्धारपछि पनि छ महिनाजति उनी भारतमा बसिन् । नेपाल सरकारले उनलाई लिन मानेन । उद्धार भएका अन्य नेपाली चेलीलाई भारत सरकारले मुम्बईको सरकारी गृहमा राख्यो । त्यहाँ पनि आफूहरूले अमानवीय व्यवहार भोगेको उनले सुनाइन् । ‘यौन शोषण नभए पनि त्यहाँ हामीलाई मान्छे गनिँदैनथ्यो,’ उनले भनिन् ।
नेपाल फिर्ता
२०५३ सालमा उनी नेपाल आइन् । आफ्नो देश फर्किंदा खुशी थिइन् । ‘घरपरिवारलाई भेट्न पाउँछु भनेर प्रफुल्ल थिएँ,’ उनले भनिन्, ‘तर, समाजको डर पनि उत्तिकै थियो ।’ विभिन्न डर बोकी उनी घर फर्किइन् । उनको डर साँचो भइदियो । गाउँमा उनलाई नराम्रो दृष्टिकोणले हेरिन्थ्यो । ‘उद्धार हुनेबित्तिकै दलालले मेरो परिवारलाई ज्यान मार्ने, घर जलाउने धम्की दिएको थियो,’ उनले भनिन्, ‘त्यसैले म घर फर्किंदा परिवार खुशी हुनुको साटो चिन्तित भयो ।’ गाउँमा बस्ने वातावरण नभएपछि उनी काठमाडौँ बस्न थालिन् । उनले दलालविरुद्ध मुद्दा हाल्ने निधो गरिन् । परिवारले साथ दियो । सिन्धुपाल्चोक, चौतारामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । अदालतमा मुद्दा दर्ता गरिन् । मुद्दा दर्ता भएको छ महिनापछि फैसला भयो । उनले जितिन् ।
त्यसपछि उनी चुपचाप बसिनन् । चेलीबेटी बेचबिखनविरुद्ध काम गर्नतिर लागिन् । शक्ति समूह नामक नंस्था स्थापना गरिन् । ‘हामीलाई नेपाल ल्याउने सात वटा संस्थामध्ये महिला पुनःस्थापना केन्द्रले समूह गठन गर्न सहयोग गर्यो,’ उनले भनिन्, ‘जसको फलस्वरूप शक्ति समूह जन्मियो ।’ कक्षा पाँचसम्म पढेकी उनी रोकिएको पढाइलाई निरन्तरता दिन काठमाडौं, ज्ञान ज्योति महिला माध्यमिक विद्यायलयमा पढ्न थालिन् । २०५७ सालमा चरीमायाले बिहे गरिन् । दुई छोरीकी आमा बनिन् । अहिले उनीहरूको पालनपोषणसँगै सामाजिक कार्यमा सक्रिय छिन् ।
उर्मिला स्याङ्तान
अन्नपूर्ण सम्पूर्णबाट (https://sampurnaweekly.com/)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)