सिद्धबाबामा सुरुङमार्ग बन्ने
रुपन्देही : सरकारले बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ निर्माण गर्ने भएको छ। सिद्धबाबाको मन्दिर क्षेत्रमा एक किलोमिटर क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। यो सडमा बर्सेनि ठूलाठूला दुर्घटना हुने गरेका छन्। वर्षामा पहिरोले यो सडक अवरोध हुने गरेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न एक महिनाभित्र टेन्डर प्रक्रिया सुरु गरिने जानकारी दिएका छन्। सिद्धबाबा क्षेत्रका लागि सरकारले महत्त्व दिएर बजेट विनियोजन गरिसकेकाले अब फटाफट काम अघि बढ्ने उनले दाबी गरे। आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले स्विस सरकारको सहयोगमा अध्ययन गराइसकेको भन्दै अब निर्माण सुरु हुने बताए।
‘सिद्धबाबा मन्दिर रहेको क्षेत्रमा एक किलोमिटरको सुरुङका लागि डीपीआर तयार भइसकेको छ। अब एक महिना भित्र टेन्डर प्रक्रिया गरेर निर्माण कार्यलाई तीव्रता दिन्छौं’, मन्त्री नेम्बाङले भने। सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण गर्न सरकारले १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्री नेम्वाङले सरकार विकासको महाअभियानमा लागेकाले सुरुङ मार्ग बन्दैन कि भनेर आशंका नगर्न आग्रह गरे। सिद्धबाबा क्षेत्रमा पटक–पटक पहिरो खस्दा धेरैले ज्यान गुमाएका छन्।
यसैबीच मन्त्री नेम्वाङले नेपाल पर्यटन वर्ष २०२० लाई लक्ष्य गरेर भैरहवा लुम्बिनी सडक विस्तारलाई तीव्रता दिन निर्देशन दिइएको जानकारी दिए। ‘वैशाखसम्म सडक विस्तारको काम सक्न निर्देशन दिएका छौं। त्यसअघि डिसेम्बर अन्त्यसम्म एकातर्फको कालोपत्रे भए पनि सक्न भनेका छौं’, उनले भने ‘पर्यटन वर्षको सुरुवातमा कम्तीमा धुलो नउड्ने खालको सडक बन्नुपर्छ।’ भैरहवा लुम्बिनी सडकलाई ४ लेनमा विस्तार गर्ने काम अहिले भइरहेको छ। निर्माणाधीन सडकका कारण भ्रमण वर्षमा लुम्बिनी आउने पर्यटकले धुलो खानुपर्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरिएको बेला मन्त्री नेम्वाङको उक्त भनाइ आएको हो।
मन्त्री नेम्वाङले भैरहवा लुम्बिनी सडकमा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकदारको ठेक्का खोस्ने तयारी भइरहेको पनि जानकारी दिए। ‘तिनाउ र डण्डा नदीमा लामो समयदेखि अलपत्र रहेका पुलको ठेक्का अब तत्काल तोडिँदै छ।’ उनले भने, ‘पुल निर्माण नभएसम्मको लागि यथासीघ्र बेलिब्रिज वा त्यो सम्भव नभए होमपाइप राखेर आवतजावत सुरु गर्न लगाएका छौं।
प्रतिक्रिया दिनुहोस !