साग विजेतालाई प्रधानमन्‍त्रीको ‘सरप्राइज’ : दुई स्वर्णलाई ११ लाख, कसलाई कति ?

साग विजेतालाई प्रधानमन्‍त्रीको ‘सरप्राइज’ : दुई स्वर्णलाई ११ लाख, कसलाई कति ?

काठमाडौं : सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एउटा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ। साग सकिएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर खेलाडीलाई ठूलो रकमसहितको पुरस्कार घोषणा गरेका हुन्।

खेलाडीसामु प्रसन्न मुद्रामा प्रस्तुत प्रधानमन्त्री ओलीले स्वर्ण जित्ने खेलाडीलाई जनही नौ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे। यस्तै दुईभन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँका दरले पुरस्कृत गरिनेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि बुधबार ट्विट गर्दै एकभन्दा स्वर्ण पदक जित्नेलाई प्रति स्वर्ण ११ लाख रुपैयाँ दिने उल्लेख गरेका छन्।

रजत पदक विजेतालाई जनही ६ लाख र कांस्यलाई जनही तीन लाख रुपैयाँ प्रदान गरिनेछ।

एकभन्दा बढी स्वर्ण जिते ११, रजत जित्नेलाई ६ र कांस्य जित्नेलाई ३ लाख

सरकारले घोषणा गरेको यो पुरस्कार रकम अहिलेसम्मकै धेरै हो। सागको अघिल्लो संस्करणमा सरकारले व्यक्तिगत विधामा स्वर्ण, रजत र कांस्य पदक विजेतालाई क्रमशः पाँच लाख, तीन लाख र एक लाख रुपैयाँ प्रदान गरेको थियो।

यसैगरी सरकारले टिम स्पर्धामा स्वर्ण विजेता खेलाडीलाई जनही पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ। टिम स्पर्धाको रजत र कांस्य पदकबारे कार्यविधि बनाएर पुरस्कार प्रदान गरिने बताइएको छ। टिम स्पर्धामा स्वर्ण विजेता टोलीका प्रशिक्षकलाई पनि जनही पाँच लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने जनाएको छ। सरकारले पदक विजेता खेलाडीका लागि एक अर्ब १३ करोड रुपैयाँ पुरस्कार राशिमा खर्च गर्न लागेको छ। सागका लागि सरकारले कुल पाँच अर्ब २५ करोड रुपैयाँ बजेट प्रदान गरेको थियो।

प्रधानमन्त्री ओलीले नेपाली खेलाडीको प्रदर्शन विदेशी खेलाडीको भन्दा कमजोर नभएको बताए। ‘सागमा तपार्इंहरुले राष्ट्को गौरव बढाउनुभएको छ। रजत र कांस्य पनि स्वर्णभन्दा कम छैनन्। स्वर्णका लागि अझै मेहनत गरेर खेल्नु होला। सरकार सधैँ खेलाडीका पक्षमा छ,’ प्रधानमन्त्री ओलीले भने। यसअघि अस्वस्थताका कारण साग उद्घाटन र समापन अवसरमा प्रधानमन्त्री ओली उपस्थित हुन सकेका थिएनन्। प्रधानमन्त्री ओलीले समापन समारोहमा भिडियोमार्फत सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओलीले बुधबार खेलाडीलाई निवासमै बोलाएर सम्बोधन गरेका हुन्।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको थियो। नेपाल पदक तालिकामा दोस्रो भएको थियो। पहिलो भएको भारतले भारतले एक सय ७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य पदक जितेको थियो। सागमा २६ खेलमा प्रतिस्पर्धा भएको थियो। सागका खेल काठमाडौं, पोखरा र जनकपुरका भएका थिए। पुरस्कार घोषणा कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादृुर सुनार विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राखेप पदाधिकारी, खेल संघका पदाधिकारी, प्रशिक्षक, व्यवस्थापक लगायत थिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.