प्यारातालमा भारतको आँखा

प्यारातालमा भारतको आँखा

धनगढी :  भारतले कञ्चनपुरको प्यारातालमा आँखा गाढेपछि अहिलेसम्म सीमा विवाद सुल्झिन सकेको छैन । २०६१/६२ सालमा आएको नेपाल-भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमा स्तम्भ गाढेको थियो । 

कैलाली र कञ्चनपुरको भारतसँगको सीमानाको अधिकांश भाग दुधवा नेसनल पार्कसँग जोडिएको छ । कैलालीको झण्डै एक सय किलोमिटर र कञ्चनपुरको ७० किलोमिटर भन्दा बढी सीमा भारतको दुधवा नेसनल पार्कसँग जोडिएको छ । 

'प्याराताल दुधवा नेसनल पार्कका जंगली जनावरका लागि पानीको मुख्य मुहान हो, त्यसैले भारतले आफ्नो नेसनल पार्कका जनावरको पानीका आपूर्तिका लागि प्यारातालमा आँखा गाढेको छ,' स्थानीय कुबेर नाथले भने । उनले आफूहरुले प्यारताल भन्दा पनि ४ सय मिटर भारततिर मात्रै सीमा स्तम्भ रहेको बताए ।

'हाम्रो त वस्तुभाउ चराउने वन हो नी, हामी सानो छँदा देखिएका पिलर, ६ किलोमिटरको दुरीसम्म रातारात गायब भए । २०६१÷६२ को संयुक्त सर्भे टीम आउनुभन्दा अगाडि नै भारतले ती पुराना पिलर नेपालतर्फ सार्‍यो, किनकी उसको प्रार्थमिकतामा प्याराताल थियो,' नाथले भने । 

कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताल नजिकैको साविकको पिलर संख्या १९४ (हालको ७६२) देखि झण्डै ६ किलिमिटर पश्चिमसम्म भारतले ६ सय मिटर नेपालतर्फ सीमा पिलर गाढेको छ । '६ किलोमिटर लम्बाईमा ६ सय मीटर नेपालतिर पिलर सारिएका छन्, हजारौं हेक्टर नेपाली भूमी भारतले कब्जा गरिसक्यो, त्यसैले अहिले प्याराताल भारतमा परेको छ,' पुर्नवास नगरपालिका परासनका कुबेर नाथले भने।

गोविन्द गौतमको हत्यापछि पुर्नवास क्षेत्रमा यसरी भारतले नाकाहरु बन्द गरेको छ ।

प्यारातालको २०६२ साल अघिसम्म जिल्ला विकास समिति कञ्चनपुरले माछा मार्ने ठेक्‍का लगाउँदै आएको थियो । 'प्यारातालको जिल्ला विकास समितिले माछा मार्ने ठेक्‍का लगाउथ्यो, मेरै कार्यकालमा पनि प्यारातालको ठेक्‍का तत्कालिन जिविसले लगाएको थियो,' कञ्चनपुर जिल्ला विकास समितिका पूर्व उपसभापति राजेन्द्रसिंह रावलले भने ।

उनले पनि पुर्नवास क्षेत्रको सीमा विवाद नसुल्झिने मुख्य कारण प्याराताल भएको बताए । 'आनन्द बजारमा पर्ने कलभर्ड पनि नेपालतिर सारेमा त्यसको पूर्वमा पर्ने प्यारा ताल कब्जा गर्न सकिन्छ भनेर भारतीयले निहुँ खोजेका हुन्,' वडाअध्यक्ष नारायण प्रसाद जैशीले भने।

२०६१÷६२ सालको संयुक्त सीमा सर्भे टीमले नेपालको भूमीमा गाढेको पिलर संख्या १९५ स्थानीयले आन्दोलन गरी भत्काएपछि अहिले प्यारातालको पुरै कब्जा भने हुन सकेको छैन । '२०६२ सालसम्म नेपालले एकलौटी हिसाबले प्यारातालको माछा ठेक्‍का दिने गरेको थियो, नेपालमा द्वन्द चर्केको बेला पारेर भारतले एकलौटी रुपमा सीमा स्तम्भ सारेको देखिन्छ, त्यो उसको प्यारताल कब्जा गर्ने नियत हो, 'वडा अध्यक्ष जैशीले भने ।

कञ्चनपुरको पुर्नवास क्षेत्रका प्रदेश सभा सदस्य तारा लामा तामाङ पनि प्यारातालका कारण नै सीमा विवाद सुल्झिन नसकेको बताउँछन् । 'प्यारातालमा धेरै प्रजातीमा माछा पाइन्छन्, त्यो सीमसार क्षेत्र भएकाले चराहरुको पनि बासस्थान छ, अझ पानीको स्रोत नै प्याराताल भएकाले भारतले त्यसमा आँखा गाढेको देखिन्छ,' उनले भने ।

उनले नेपालीको आन्दोलन र पटक-पटकको विरोधका कारण अहिले भारतले कब्जा नै नगरिहाले पनि, प्याराताल नजिकको भारत छिर्ने बाटो भने बन्द गरिदिएको छ । 'प्यारतालको निकास भएको काठे पुलमा भारतले फलामको पाइप हालेर, त्यसमा साङ्लो लगाएर ताला नै लगाएको छ,' तामाङले भने । उनले साविकका पिलर रहेको भूमीमा नेपाली पक्षले जान नपाउने बताए ।

'जहाँ पहिलेका पिलर थिए, जो वास्तविक सीमाना थियो, त्यहाँ अहिले एसएसबीले जानै दिँदैन, प्यारताल पारी नेपालीको चरिचरन नै थियो, त्यो सब भारतीय एसएसबीको कब्जामा छ,' तामाङले भने। 'तर हामीहरु, सानो छँदा भने त्यहाँ पुराना पिलर देखिन्थे ।'

प्यारतालकै  कारण २०६१÷६२ मा भएको विरोध पछि पुर्नवास क्षेत्रमा हरेक वर्ष फरक फरक स्थानमा सीमा मिचेको भन्दै विरोध भइरहन्छन्। सुदूरपश्चिममा दार्चुलाको कालापानी पछिको ठूलो सीमा विवाद कञ्चनपुरको पुर्नवास क्षेत्रमा छ। 

२०७३ सालको फागुन २६ गते सीमाकै विवादका कारण पुर्नवास नगरपालिकाको आनन्द बजारमा स्थानीय युवक, गोविन्द गौतमको भारतीय सुरक्षकर्मीले गोली हानी हत्या गरेका थिए । अहिले पनि त्यो क्षेत्रका जनता सीमानाको टुंगो नलागेको भन्दै चिन्तित छन्।

पुर्नवास नगरपालिकाका मेयर जीवनबहादुर थापा यो समस्या दुई देशको उच्चस्तरीय राजनीतिक नेतृत्वले मात्रै समाधान गर्न सक्ने बताउँछन् । 'हामीले त, सीमामा उठेका सामान्य समस्या स्थानीय स्तरबाट समाधान हुन्छन् की भनेर हेर्ने मात्रै हो, तर पुर्नवासको जटील सीमा समस्या समाधानका लागि संयुक्त सर्भे टीम मात्रै नभएर प्रधानमन्त्री स्तरमा कुरा हुनुपर्छ,' थापाले भने ।

गौविन्द गौतमको हत्यापछि, सरकारले गठन गरेको विशेष नापी टोली र त्यसपछि दुई वर्षसम्म दुईवटा फरक /फरक संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा काम गरिसकेको छ । 

तर पुर्नवासको सीमा समस्या जटिल भएको भन्दै दुबै टोली, समस्या समाधान नै नगरी फर्किएका छन्। आर्थिक वर्ष २०७३/७४ मा नेपालका तर्फबाट प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वमा र २०७४÷७५ मा पनि प्रमुख नापी अधिकृत जनकराज भट्ट नेतृत्वको टीमले कञ्चनपुरको पुर्नवास क्षेत्रको सीमा समस्या समाधान गर्न सकेन।

'पुर्नवासको सीमा समस्या जटिल छ, अहिले जीपिएस लोकेसनले हेरेमा केही भाग भारततिर पर्न जान्छ, स्थानीय त्यो मान्न तयार हुन्न, स्थानीयको दाबी जिपिएस लोकेशन भन्दा भारततिर रहन्छ, त्यसैले यसको समाधान उच्चस्तरीय राजनीतिक नेतृत्वले मात्र गर्न सक्छ,' पहिलो संयुक्त सीमा सर्भे टोलीका प्रमुख नापी अधिकृत सुदर्शन धामीले भने । गौतमको हत्या भएको क्षेत्र, प्याराताल क्षेत्रबाट भारत जाने नाका बन्द गरिएपछि अहिले त्यहाँका बासिन्दा ३० किलोमिटर लामो गौरीफन्टा नाका प्रयोग गर्न बाध्य छन । 

भारतले वन्यजन्तुको पानीको स्रोतका लागि भन्दै कब्जा गर्न खोजेको प्याराताल।तस्बिर : शिवराज भट्ट
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.