बम पड्काएर उद्योगी, व्यापारी धम्क्याउने गिरोह पक्राउ
वीरगन्ज : बाराका उद्योगी र व्यपारीलाई धम्की दिनुका साथै बम विस्फोट गराइ फिरौती रकम माग्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बाराको परवानिपुर गाँउपालिका-४ का ३१ वर्षीय प्रमोद साह गोढ, २० वर्षीय देव शंकर राम , बाराकै जीतपुरसिमरा उपमहानगरपालिका-२० का २० वर्षीय अच्छेलाल गोसाई र बाराकै फेटा गाँउपालिका-३ का ३९ वर्षीय दिपेन्द्रकुमार धानुक रहेका छन्।
चारै जनाले बाराको परवानिपुर गाउँपालिका-४ एमएस इँट्टा उद्योगका संचालक मनोजप्रसाद साह तेलीसँग ३ महिना पहिले फिरौती बापत १५ लाख रुपैयाँ मागेका थिए। तेलीले रकम दिन अस्वीकार गरेपछि गत कात्तिक ४ गते तेलीको इँट्टा उद्योगमा बम विष्फोट गर्नुका साथै फिरौती रकम नदिए ज्यान मार्ने धम्की दिएका थिए।
पक्राउ परेका चारै जनाको गिरोहले बाराकै प्रसौनी गाउँपालिका ४ बस्ने नन्दकिशोरप्रसाद कुम्हाललाई पनि मोबाइलबाट धम्की दिइ ५० लाख रुपैयाँ फिरौती मागेका थिए।
फिरौती रकम नदिएपछि असोज १० गते राती कुम्हालको घर छेउमा सुतली बम विष्फोट गराएका थिए।
बाराकै परवानिपुर गाउँपालिका ४ स्थित नारायणी आयल रिफाइनरीका सञ्चालकलाई पनि फिरौतीका लागि फोन गरी धम्की दिएका थिए। फिरौती रकम नपाएपछि असोज २ गते उद्योग छेउमा सुतली बम विष्फोट गरी तर्साएर २५ हजार रुपैयाँ लिएका थिए।
पक्राउ परेका चारैजनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !