बैतडीका उच्च भू-भागमा हिमपात
बैतडी : बैतडीका उच्च भू-भागमा बिहीबार रातीदेखि हिमपात भएको छ । मौसममा आएको परिवर्तनसँगै उच्च भू-भागमा हिमपात भएको हो । जिल्लाका सतबाँझ, खोड्पे, श्रीभावर, सिगासधुरा, रौलाकेदार,जित्कीजुवाँड, ग्वाल्लेकधुरालगायतका उच्च भू-भागमा हिमपात भएको स्थानीयले जनाएका छन् ।
हिमपातले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । 'बिहीबार साँझदेखि अलिअलि पानी परेको थियो, राती हिमपात भएपछि अत्यधिक चिसो बढेको छ, पाटन नगरपालिका ८ खोड्पेका मोहन बिष्टले भने, 'बालबालिका, बुढाबुढी र पशुचौपाय बढी प्रभावित भएका छन्।'
हिमपातले सवारी साधन सञ्चालनमा समस्या भएको सवारी चालकले बताए । खोड्पे, सतबाँझ,श्रीभावरलगायतका ठाउँमा सवारी साधन सञ्चालनमा समस्या आएको चालक कृष्णबहादुर बोहराले बताए । उनले भने, 'हिउँका कारण सडकमा जीप गुडाउन गाह्रो भएको छ ।'
जिल्लाका उच्च भू-भागमा हिमपात भएपछि सबै ठाउँमा चिसो बढेको छ । चिसोका कारण दैनिक जनजीवन कष्टकर भएको सुर्नया ८ ढोलेका भानबहादुर बोहराले बताए ।
हिमपात भएपछि किसान खुसी
हिउँदे वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । लामो समयदेखि खडेरी परेको थियो, गहुँबाली र तरकारी बालीका लागि धेरै राम्रो भएको दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसान कृष्णदत्त भट्टले बताए। उनले भने, 'हिउँले खेतबाली राम्रो हुन्छ, तरकारीबाली र गहुँबालीमा लाग्ने रोगकीरा पनि मर्छन् ।'
गहुँबाली तथा तरकारी बालीका लागि हिउँदे वर्षा र हिमपात निकै लाभदायक हुने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । उनले अहिलेको वर्षा र हिमपातले हिउँदेबाली सप्रिने बताए।।
हिउँदे वर्षा नहुँदा सुक्न लागेका हिउँदेबालीलाई फाइदा भएको छ । हिमपातले हिउँदे फलफूलका बिरुवा रोप्ने तयारीमा रहेका किसानलाई समेत फाइदा हुने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक अर्जुन खड्काले बताए।'हिउँदे फलफूलका बिरुवा रोप्ने समय सुरु भएको छ । खाल्डो तयार पारेर विरुवा रोप्ने तयारी गरेका किसानलाई हिमपातले सिंचाइको काम गरेको छ,'उनले भने।
प्रतिक्रिया दिनुहोस !