धनुषा बमकाण्ड : प्रहरीले झोला उठाउँदा विस्फोट
जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित गएराति बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ। ढल्केवर–जनकपुरधाम सडकखण्ड अन्तर्गत मिलन चोकमा मध्यरात १२:१० बजे भएको विस्फोटमा पाँच जना घाइते भएका छन्।
शुक्रबार राति ११:३० बजे राजेश शाह (राजेश्वर)ले घरको भित्रि ग्रिलमा शंकास्पद झोला भेटेपछि प्रहरीलाई खबर गरेका थिए। खबरपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी निरीक्षक अमिर दाहालको नेतृत्वमा गएको टोलीले झोला चेकजाँच गर्ने क्रममा कुकर बम विस्फोट भएको हो।
स्थानीय विष्णुदेव महतोले घरपरिवारका सदस्यलाई घर खाली गराएर प्रहरी घटनास्थल आएपछि पुनः सबैजना घरमा प्रवेश गर्दा बिस्फोट भएको बताए। स्थानीय महतोले भने, ‘इन्सपेक्टर सरले झोला उठाउने बित्तिक्कै विस्फोट भयो, त्यतिवेला राजेशका घरका सबै सदस्यहरुले वरिपरि झुम्मिएको थियो, त्यही बेला विस्फोट भएपछि सबैजना घाईते भए।’
विस्फोटबाट बम झुन्डयाईएको ग्रील, घरको छाना, झ्यालको सिसा, शौचालयको ढोका, पक्कि भित्तासहितका बम विस्फोट भएको क्षेत्रमा क्षत विक्षत भएको छ।
मृत्यु हुनेहरुमा महेन्द्रनगरस्थित औषधि पसल सञ्चालन गर्दै आएका ५० वर्षिय राजेश साह (राजेश्वर), मृतकका जेठो छोरा आनन्द साह र प्रहरी निरीक्षक अमिर दाहालको उपचारको क्रममा मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय धनुषा महेन्द्रनगरस्थित कार्यरत दाहाल बम विस्फोटमा घाईते हुँदा उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो।
घाइतेहरुमा मृतक शाहका बुवा अन्दाजी ७० वर्षीय भिखारी साह, छोरीहरु २२ वर्षीय निक्की साह, २० वर्षीया अञ्जली कुमारी साह, छोरा १६ वर्षीय प्रकाशकुमार साह र स्थानीय शकिला खातुन घाइते भएका हुन्। विस्फोटमा प्रहरीको टोलीसँगै पुगेका प्रहरी जवान रिजन महतोसमेत घाइते भएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।
घाइते अञ्जली र आकाशको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ। मृतक साह ब्याजमा पैसा लगानी बझानी गर्दै आएको स्थानीयहरुले बताएका छन्।