हे भगवान ! राजनीति नपसोस्
पोखरा ः डा. सन्दुक रुइतले सुरुआत र अन्तिमतिर एउटा कुरा दोहोर्याए। उनले भगवान पुकारेर भने, ‘हे भगवान राजनीति नपसोस्।’ उनको यो पुकारा उनी नेतृत्वमा सञ्चालित तिलगंगा आँखा अस्पतालका लागि हो। तिलगंगा अस्पतालले विकसित देशकै नागरिकहरुको पनि विश्वास आर्जन गरेको छ, जहाँ थुप्रै विदेशी उपचारका लागि आउँछन्। जब कि सामान्य ज्वरोखरोकै उपचारका लागि धेरै नेपाली सीमापारि भारत पुग्छन्। ठूलो रोगव्याधि लाग्दा नेताहरु सिंगापुरदेखि अमेरिकासम्म जान्छन्, सर्वसाधारण भने भारतकै भर पर्नुपर्छ।
अहिलेसम्म सरकारी हस्तक्षेपबाट मुक्त तिलगंगा अस्पतालमा राजनीति नपसोस् भन्ने डा. रुइतको कामना हो। सरकारी हस्तक्षेप नहुँदा नै अस्पताल सफल बनेको उनले सुनाए। संस्था चलाउन प्रतिबद्धता र इमान्दारी चाहिने उनले बताए। उनले भने, ‘उपलब्धि के हो भनेर कसैले मलाई सोध्यो भने भन्छु हामीले यसलाई राजनीतिबाट टाढै राख्न सक्यौं।’
डा. रुइतको नेतृत्वमा अस्पतालले त्यस्तो प्रख्याति आर्जन मात्रै गरेको छैन, उनी र उनको टिमका डाक्टरहरुले संसारका थुप्रै देश पुगेर अन्धोपनको उपचार गरेका छन्। लाखौंको आँखाको ज्योति फर्काएका छन्। यो सफलताको जस डा. रुइतले आफ्नो टिमलाई दिए। रुइत भन्छन्, ‘हाम्रो फोकस बिरामी हो। बिरामीले सरल तरिकाले सेवा लिन पाउनुपर्छ। बिरामीको आर्थिक क्षमताले सक्नुपर्छ। र स्वास्थ्य सेवा धनीलाई एउटा र गरिबलाई अर्काे हुनुहुँदैन। हाम्रा सरकारी अस्पतालमा सेवा नराम्रो हुँदा निजी क्षेत्रमा अस्पताल च्याउसरी उम्रिएका छन्।’
नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन डा. रुइतसँग सञ्चाकर्मी रवि लामिछाने कुराकानी गर्दै थिए। उनले कार्यक्रमको अन्तिमतिर पनि अस्पतालमा राजनीति नपसे हुन्थ्यो भन्ने कामना गरेका थिए। दृष्टि गुमाएकाहरुको ज्योति फर्काउँदा आफूलाई अत्यन्तै खुसी लाग्ने अनुभव साटेका डाक्टर रुइतले तराईको स्वास्थ्य क्षेत्र देख्दा आफूलाई रुन मन लाग्ने गुनासो गरे। त्यहाँका जनताले राम्रो सेवा पाउन नसकेको उनको भनाइ थियो। एकजना सहभागीको प्रश्नमा डा. रुइतले राष्ट्रपतिको प्रस्ताव आए पनि तत्काल आफूले नस्वीकार्ने दाबी गरे। उनले भने, ‘अहिले म आफ्नै काममा व्यस्त छु।’
बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित फेस्टिभलको दोस्रो दिनको अर्काे सत्रमा पत्रकार जनकराज सापकोटाले अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीसँग राजनीतिका विकृतिमाथि छलफल गरे। उक्त सत्रको शीर्षक थियो—राजनीतिको अपराधीकरण र अपराधीकरणको राजनीति। पत्रकार थापाले राजनीतिमा निष्ठा हराउन थालेको सुनाए। ‘२०४८ सालको चुनावको तथ्यांक हेर्ने हो भने १४२ जना जति जेल बसेका मान्छेहरु थिए’, उनले भने, ‘तर सत्तामा गएपछि धेरैले निष्ठाको, सिद्धान्तको राजनीतिलाई तिलाञ्जली दिए।’
चुनावका लागि धेरै पैसा खर्च गर्ने र त्यो पैसा गुन्डा र माफियाहरुबाट असुल्ने प्रवृत्ति राजनीतिकर्मीमा बढेको पत्रकार थापाले सुनाए। अर्का वक्ता सुवेदीले राजनीतिमा अपराधीकरण बढ्दै गए राज्य नै ध्वस्त हुनसक्ने विचार राखे। ‘पार्टीले नै गुन्डा भर्ती गर्छन्’, उनले भने, ‘राजनीतिमा स्वाभाविक रुपमा आएपनि पछि प्रतिस्पर्धीलाई सिद्धाउने र आफू टिकिरहने चाहनाले गुन्डा प्रयोग गर्छन्।’
शनिबारको पहिलो सेसनमा लोकगीत कि लोकप्रियता ? माथि नारायण अमृतसँग गायक हरिदेवी कोइराला, प्रकाश सपूत र झुमा लिम्बूले छलफल गरे। बालबालिकाको हातमा मोबाइल कि पुस्तक ? शीर्षकमा गफिए, करुणा कुँवर, बिना थिङ तामाङ, वसन्त गौतम र भवसागर घिमिरे।
सपनाको सम्मान र नारायण ढकालको पुस्तक तमसमाथि अन्तक्र्रिया समानान्तर रुपमा सञ्चालन भए। सपनाको सम्मान सेसनमा डा. रुपचन्द्र विश्वकर्मा, विमल गायक र सुभाष नेपालीसँग शिवहरि ज्ञवालीले छलफल गरे। तमस पुस्तक विमोचनका अवसरमा खगेन्द्र संग्रौला र गनेस पौडेलसँग गफिए, भूपेन्द्र खड्का। अध्ययनको भोक शीर्षकमा शान्ता चौधरी, करिश्मा मानन्धरसँग सविना कार्कीले कुराकानी गरिन्। कारागारमा किताबी संसार शीर्षकमा महेशविक्रम शाह, धर्मराज विश्वकर्मा र कुमारी लामाले छलफल गरे। भारतीय लेखक मनोरञ्जन व्यापारीले आफूले जीवनमा घटाएका वा घटाउनु परेका अनौठा घटनाबारे रोचक प्रसंग ‘बतासमा बारुदको गन्ध’ शीर्षकमा दिनेश काफ्लेलाई सुनाए।
मीरा राई, ननिता बज्राचार्यसँग शिवानीसिंह थारु जाग लम्क, चम्क हे खेलकुदका बदलिँदा आदर्श शीर्षकमा केन्द्रित छलफलमा जुटिन्। राइटिङ होम एन्ड होमल्यान्ड शीर्षकमा जमिल जन कोचाई र इतिशा गिरीले कुराकानी गरे। नेपाल नेक्सस ः राजनीतिमा भूराजनीति सेसनमा नेता गगन थापा, पत्रकार सुधीर शर्मा र यादव देवकोटाले छलफल गरेर महोत्सवको दोस्रो दिनको बिट मारे।