टुप्पो सुक्ने रोगले सुन्तला सखाप

टुप्पो सुक्ने रोगले सुन्तला सखाप

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीका केशव क्षेत्री करिब १० वर्ष अघिसम्म सुन्तला बिक्री गरेर एक सिजनमा दुई लाखभन्दा बढी कमाइ गर्थे। उनको सुन्तलाबारीमा पाँच सय सुन्तलाका रूख थिए। तर, अहिले बारी रित्तो भइसकेको छ भने सबै रुख सुकेर सुन्तलाको स्वाद चाख्न नपाउने स्थिति आएको छ।

उनले भने, ‘सुन्तला नै मेरो परिवारको जीविकोपार्जनको आधार थियो। तर, पछिल्लो समय टुप्पोबाट सुन्तलाका रूख सुकेर सबै सखाप भइसकेका छन्। ५ सय रूख भएको बारीमा अहिले सुन्तलाको सुकेका मुढा मात्रै बाँकी छन्।’

सोही ठाउँका कैलाश पाण्डेय पनि सुन्तला बिक्रीबाटै परिवार चलाइरहेका थिए। तर, सुन्तलाको बोट टुप्पोबाट सुक्न थालेपछि उनको बारीमा सुकेका बोट मात्रै बाँकी छन्। उनले भने, ‘दुर्गाभवानी सुन्तला उत्पादनका लागि पकेट क्षेत्र हो। तर, सुन्तलाको बोटको टुप्पोबाट सुक्ने रोगले सबै सखाप भए। अहिले सुन्तलाको स्वादका लागि खोजी गर्नुपर्ने स्थिति छ।’

जिल्लाको दुर्गाभवानी, नागार्जुन, देउलेक, सदरमुकाम क्षेत्र, वासुलिंगलगायतलाई साविकको जिल्ला कृषि विकास कार्यालयले सुन्तला उत्पादनको पकेट क्षेत्रको रूपमा घोषणा गरेको थियो। १० वर्ष अघिसम्म बैतडीको सुन्तला नेपालमा मात्रै नभएर सीमावर्ती भारतीय बजार झुलाघाटसम्म पुग्ने गथ्र्याे। तर, पछिल्लो समय सुन्तलाको उत्पादन ह्वात्तै घटेको सुर्नया ३ का मञ्जु भट्टले बताइन्। उनले भनिन्, ‘अहिले कहीँकतै मात्र सुन्तलाको बोट देख्न सकिन्छ। सुन्तलाका रूख टुप्पोबाट सुकेर सखाप भइसकेका छन्।’

प्रशस्त सुन्तला फल्ने ठाउँमा सुन्तलाको स्वाद नचाखेको ५ वर्षभन्दा बढी भइसकेको सुर्नया–६ का नन्दराम अवस्थीले बताए। उनले भने, ‘पहिले हाम्रो गाउँमा प्रशस्त मात्रा सुन्तला फल्थ्यो। तर, सुन्तलाको रूख, टुप्पोबाट सुक्ने रोगका कारण सुन्तलाका बोट नै देख्न मुस्किल छ।’

सुन्तलामा डाईबेग अर्थात टुप्पोबाट बोट सुक्ने रोगले पकेट क्षेत्रमै सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, ‘सुन्तलाको बोटको टुप्पोबाट सुक्ने रोगका कारण सुन्तला उत्पादन ह्वात्तै घटेको छ। अहिले सुन्तला बिक्री गर्ने ठाउँमा आयात गर्नुपर्ने अवस्था आएको छ।’

बैतडीमा झन्डै ८ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ। तर, पछिल्ला वर्ष सुन्तला खेती हुने क्षेत्रफलसमेत घट्दै गएको चन्दले बताए। उनले भने, ‘सुन्तलामा देखिएको यो रोगको खासै औषधि पनि पाइँदैन। नयाँ जातको सुन्तलामा यो रोग बढी देखिएको छ।’

माटो परीक्षण गर्न किसानको माग

सुन्तलाबाट जीविकोपाजर्न गरिरहेका किसान सुन्तला फल्न छोडेपछि माटो परीक्षणको माग गरिरहेका छन्। प्रशस्त रूपमा सुन्तला फल्ने ठाउँमा सुन्तला सुक्नाको कारणबारे पत्ता लगाउनुपर्ने किसान देवदत्त भट्टले बताए। उनले भने, ‘सुन्तला जातका फलफूलका लागि बैतडी पकेट क्षेत्र हो। पछिल्लो समय सुन्तला सुकेर नष्ट भएका छन्। यो के कारणले भएको हो भन्नेबारे सरकारले चाँसो दिनुपर्छ।’

सुन्तला उत्पादन हुने ठाउँमा सुन्तलाका रूख नै सुक्नुको कारणबारे पत्ता लगाउनुपर्ने किसान केशव क्षेत्रीले बताए। उनले भने, ‘सुन्तला उत्पादन हुने पकेट क्षेत्रमा माटो परीक्षणको काम अघि बढाउनुपर्छ। सुन्तलामा लागेको रोगबारे पत्ता लगाइ यसको समस्या समाधान गरिनुपर्छ।’

फोटो ः टुप्पोबाट सुक्दै गरेको सुन्तलाको रूख। भगीरथ अवस्थी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.