हिमाली बाख्रा घोरल

हिमाली बाख्रा घोरल

म्याग्दी : घोरल अक्करे भीरमा पनि सहजै हिँड्डुल गर्न र दौडिन सक्छ। मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा यो चर्छ। अत्यन्तै भिरालो ठाउँमा पनि दौडन र उफ्रन सक्नु यसको विशेषता हो। समुद्री सतहबाट तीन सयदेखि तीन हजार मिटरको उचाइमा यो पाइन्छ। उच्च पहाडी र भित्री मधेस घोरलको बासस्थान हो।

घोरलको काँधको उचाइ ६५ देखि ७० सेन्टिमिटर हुन्छ। तौल २५ देखि ३५ किलोग्राम हुन्छ। घोरलको घाँटीको तल्लो भाग सेतो रङको हुन्छ। घोरल बाख्रा प्रजातिमा पर्छ। नेपाली अनुसन्धानकर्ताहरूले यसलाई हिमाली बाख्रा भनेका छन्। यसको अंग्रेजी नाम हिमालयन घोरल र वैज्ञानिक नाम निमोरहेड्स गोरल हो।

यो एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो। हेर्दा बाख्रा जस्तै देखिने घोरल बाख्राभन्दा चार किसिमले फरक हुन्छ। यसको टाउकोमा ग्रन्थी हुन्छ। भाले र पोथी दुवै तुलनात्मक रूपमा साना कदका हुन्छन्।

भालेको दाह्री हँुदैन। पोथी घोरलका चार वटा स्तनहरू हुन्छन्। यसको शरीर खैरोदेखि हल्का कालोसम्म हुन्छ। यसका सिङहरू तिखा र पछिल्तिर मोडिएका हुन्छन्। भालेका सिङहरू पोथीका भन्दा मोटा र थोरै घुमेका हुन्छन्।

छोटो पुच्छर हुने घोरलका भाले र पोथी तीन वर्षमा वयस्क भई प्रजनन योग्य हुन्छ। गर्भ रहेको एक सय ७० देखि दुई सय १८ दिनको बीचमा पाठापाठी जन्माउँछ। यसले एक पटकमा एउटा पाठापाठी जन्माउँछ। घोरलको सरदर आयु १५ वर्ष हो। मुख्य आहारा घाँस, पात, पालुवा र कन्दमूल हो।

यिनीहरू सानो बथानमा पनि पाइन्छन्। खतरा भान भएमा स्वाँ-स्वाँ सिं-सिंको आवाज निकाल्छन्। साना बुट्टा भएको झाडीतिर वा भीरमा बांगोटेढो रूपमा दौडन्छन्। घास भएका भिराला पहाड घोरलका मुख्य बासस्थान हुन्। मासुको लागि सिकार र बासस्थानको कमी घोरल संरक्षणमा देखिएका मुख्य चुनौती हुन्।

डँढेलो लगाउँदा घोरलको बासस्थानमा असर परेको छ। सिकारीहरूले घोरल मार्नका लागि भीरमा डँढेलो लगाएको पाइन्छ। डँढेलो र चोरी सिकारी नियन्त्रण गरेर घोरलको संरक्षणमा जोड दिनुपर्ने देखिएको छ। घोरलको अवस्था र संख्याको बारेमा यकिन तथ्यांक पहिचान भएको छैन। थप अनुसन्धानको आवश्यकता रहेको संरक्षणकर्मीहरू बताउँछन्।

नेपाल, भुटान, चीनको (दक्षिणी तिब्बत), भारत र पाकिस्तानमा घोरल भेटिएको छ। नेपालमा मुख्यगरी धौलागिरि हिमालको आसपासमा पर्ने ढोरपाटन सिकार आरक्ष, म्याग्दी, मुस्ताङमा घोरलको धेरै बसोबास भएको पाइन्छ। यसका अलावा अन्नपूर्ण, सगरमाथा, मनास्लु, गौरीशंकर हिमाल आसपास तथा भित्री मधेसमा पनि घोरलको बसोबास छ।

जंगलमा पर्याप्त मात्रामा आहारा नपाएपछि घोरल पछिल्लो समय मानव बस्ती नजिक आउन थालेका छन्। हिमपात, खडेरी र डँढेलोको समयमा घोरलका लागि जंगलमा आहाराको अभाव हुन्छ। चरणको लागि खेतबारी र बेंसीमा आएको समयमा सिकारीहरूको निशानामा पर्ने गरेका छन्। घोरल सिकार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही र जरिबाना हुने व्यबस्था रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.