दुई शालीन सर्जकको अस्त

दुई शालीन सर्जकको अस्त

यो साता नेपाली चलचित्र उद्योगले दुई मुर्धन्य कलाकार गुमाएको छ। चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका कलाकार तथा निर्माता केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीलाई एक दिनको अन्तरमा गुमाउनुपर्दा मर्माहत बनेको उद्योग अहिले शोकमा छ। नेपाली फिल्मका प्रतिभाशाली कलाकारको निधन हुँदा नेपाली फिल्म क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ। ५१ वर्षीय भट्टराईको आइतबार राति हृदयाघातका कारण निधन भएको हो भने ५८ वर्षीय क्षेत्री सुतिरहेको अवस्थामा मृत भेटिएका थिए।

‘मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाऊँ कुन ठाउँ जाऊँ मन्छे नमर्ने सहर हुँदैन’, डा. कृष्णहरि बरालले चलचित्र ‘नाईं नभन्नू ल’ का लागि लेखेर प्रेम परियारले गाएको यो गीत यी दुई कलाकारको जीवनमा लागू भएको छ। उनीहरूका लागि आयोजना गरिएका शोकसभाहरूमा गुन्जिरहेको छ, सबैलाई भावुक बनाइरहेको छ। अझ केशवका बाह्रबर्से छोरा निष्क भट्टराईले लेखको स्टाटसले जोकोहीका आँखा रसाउँछन्। उनले लेखेका छन्, ‘म भन्दिनँ रिप, तपाईं मसँगै हुनुहुन्छ। हजुर मसँग हरपल हरक्षण बस्नु है। म पर्खिरहनेछु... ... बुवा।’

कलाकारद्वय भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटर ह्यान्डलमार्फत दुई कलाकारप्रति समवेदना व्यक्त गरेका हुन्। उनले कलाकारद्वयका कला सधैं स्मृतिमा रहने बताएका छन्।

कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीलाई एक दिनको अन्तरमा गुमाउनुपर्दा नेपाली चलचित्र उद्योग क्षेत्र मर्माहत भएको छ नै, सँगसँगै ठूलो क्षति पनि पुर्‍याएको छ।

कलाकारद्वय भट्टराई र क्षेत्रीको एकैपटक पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भइरहँदा माहोल शोकाकूल भएको थियो। उद्योगले उनीहरूको योगदान स्मरण गरिरहेको थियो। नेपाल प्रहरीको एक टुकडीले दुवैलाई राष्ट्रिय सम्मान दिएको थियो।

केशवको फिल्मी यात्रा
२०२५ साल मंसिर ४ गते ओखलढुंगामा जन्मिएका भट्टराई फिल्ममा प्रवेश गर्नुअगाडि ‘सिभिल इन्जिनियर’ बन्न चाहन्थे। तर त्यसका लागि २ नम्बर नपुगेपछि उनले सिभिल इन्जिनियरिङ पढ्न पाएनन्। त्यसपछि उनी सीए पढ्दापढ्दै नेपाल विद्युत् प्राधिकरणमा काम गर्न थाले। उनले फिल्ममा काम गर्दागर्दै प्राधिकरणमा लामो समय जागिर खाए। आठ महिनाअघि चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्त भएपछि उनले प्राधिकरणबाट राजीनामा दिएका थिए।

संयोगले एक दिन उनको भेट फिल्म निर्देशक तुलसी घिमिरेसँग भयो। घिमिरेसँगको त्यो भेटले उनको जीवनको बाटो नै मोडिदियो। निर्देशक घिमिरेकै सल्लाहमा उनी फिल्म नगरीमा प्रवेश गरेका हुन्। घिमिरेले निर्देशन गरेको चलचित्र ‘कोसेली’ बाट उनले आफ्नो अभिनय यात्रा थाले। यो चलचित्रमा उनले एक अपराधीको भूमिका निर्वाह गरेका थिए। यसपछि उनी निरन्तर नेपाली चलचित्र कर्ममा लागिरहे कलाकार र निर्माताका रूपमा।

धेरै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका भट्टराई नायकका रूपमा भने फिल्म ‘पुकार’ मा देखिएका हुन्। नाच्न कमजोर मानिने उनी नायकभन्दा पनि अभिनेताका रूपमा नै बढी चिनिए। तुलसी घिमिरेकै फिल्म मितज्यूमा पनि उनी नायक बनेका थिए। केशव अभिनित ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘दक्षिणा’ लगायतका फिल्म निकै चर्चामा आए। उनले साना-ठूला गरी सयभन्दा बढी फिल्ममा काम गरे।

अभिनय गर्दागर्दै उनले फिल्म निर्माणमा हात हालेका हुन्। ‘दौंतरी’ फिल्मबाट उनको फिल्म निर्माण यात्रा सुरु भएको हो। यो फिल्मले मध्यम व्यापार गरेको थियो। उनले निर्माण गरेको फिल्म ‘आफ्नो मान्छे’ भने बक्स अफिसमा ब्लकबस्टर भएको थियो। फिल्मको गीत ‘चट्ट रुमाल क्या मालुम, कोटको खल्तीमा’ ले नै फिल्मको आधा लगानी उठाएको थियो। शिव रेग्मीको निर्देशन तथा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह अभिनित यो फिल्म उद्योगमा अहिलेसम्म पनि स्मरणीय फिल्मको कोटामा पर्छ।

उनले ‘पाहुना’, ‘ब्रास्लेट’, ‘छाडी गए पाप लाग्ला’, ‘देवर बाबू’ लगायत फिल्म निर्माण गरेका छन्। पछिल्लो समय उनले निर्माण गरेको फिल्म ‘यात्रा’ हो। सलिनमान बानियाँलाई नायक लिएर बनाइएको यो फिल्म भने बक्स अफिसमा सफल हुन सकेन।

फिल्म ‘आफ्नो मान्छे’ को कमाइले उनले अनामनगरमा घर किनेका थिए तर यसपछिका केही फिल्म क्रमशः फ्लप भएपछि उनले त्यो घर बेचेका थिए। ‘सो सिम्पल’ असफल भएपछि उनले घर बेचेर अनामनगरमै फ्ल्याट भाडामा लिएका थिए। आफ्नो सम्पूर्ण जीवन फिल्म कर्ममा बिताएका शालीन स्वभावका भट्टराई उद्योगमा सबैका प्रिय थिए। स्वच्छ छविका उनमा विभिन्न संघसंस्थामा आबद्ध हुँदा पनि सबैलाई मिलाएर लैजान सक्ने खुबी थियो।

कलाकार हुँदै फिल्म निर्माणमा लागेका भट्टराई २०७५ चैत ७ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका थिए। झण्डै साढे तीन दशक नेपाली फिल्म क्षेत्रमा बिताएका उनले यो क्षेत्रका समस्यालाई नजिकबाट केलाएका थिए। उनले बोर्ड अध्यक्ष भएपछि केही महत्वपूर्ण काम गरेका छन्। कलाकार र कलाकर्मीको भविष्यप्रति भट्टराई निकै चिन्तित थिए। कतिपय कलाकर्मी एवं प्राविधिकको निधनपछि उनीहरूको परिवारको बिचल्ली भएको देखेका भट्टराईले फेरि त्यो दिन नआओस् भनेर सामाजिक सुरक्षाकोषमा चलचित्रकर्मी एवं प्राविधिकलाई आबद्ध बनाउने अभियान सुरु गरेका थिए। चलचित्रकर्मी एवं प्राविधिकको मृत्युपछि दाह संस्कारका लागिसमेत चन्दा उठाउनुपर्ने अवस्था नआओस् भनेर बोर्डको पहलमा चलचित्रकर्मीलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउने प्रयास उनले गरेका थिए।

लामो समयदेखि नारा र बहसमा सीमित रहेको बक्स अफिस प्रणाली उनी अध्यक्षमा नियुक्त भएपछि मोफसलमा पनि लागू भएको थियो। राजधानीमा भने उनी बोर्ड अध्यक्षमा नियुक्त हुनुअगाडि नै लागू भएको थियो। उनकै कार्यकालमा तीन वर्षदेखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ वितरण गरिएको थियो।

विदेशी फिल्म जुनसुकै मितिमा प्रदर्शन हुँदा नेपाली फिल्मलाई असर गर्ने भएकाले उनले विदेशी फिल्मलाई पनि शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय लिएका थिए, जुन कार्यको फिल्मकर्मीले प्रशंसा गरेका थिए। केही दिनअगाडि उनको सक्रियतामा बोर्डले लोकेसन गाइड पुस्तक ‘फिल्मिङ इन नेपाल’ पनि ल्याइएको छ।

निभ्यो दीपकको दीप
दीपक क्षेत्री २०१७ सालमा इलाममा जन्मिएका बुवाआमाका छैटौं सन्तान हुन्। उनी सानै छँदा उनको परिवार दार्जिलिङ बसाइँ सरेको थियो। दाजिर्लिङमा हुर्केका उनी हिरो बन्ने सपना बोकेर परिवारलाई थाहै नदिई भारतको फिल्म नगरी मुम्बई हानिएका थिए। तर, त्यहाँ उनको सपना साकार भएन। विभिन्न हण्डर ठक्कर खाँदै उनले निर्माण मजदुरका रूपमा समेत काम गरे। मुम्बईमा आफ्नो हिरो बन्ने सपना पूरा हुने सम्भावना नदेखेपछि २०३८ सालमा उनी दार्जिलिङ फर्के। त्यतिबेला अमर राई आफ्नो नाट्य टोली लिएर काठमाडौंमा जाने तयारीमा थिए। क्षेत्री पनि त्यही टोलीमा मिसिएर काठमाडौं लागे। उनीहरूको नाट्य टोलीले एक महिनासम्म नाचघरमा शुभकामना नामक नाटक मञ्चन गर्‍यो। नाटक सकिएपछि टोलीका अन्य सदस्य दाजिर्लिङ फर्के भने क्षेत्री काठमाडौंमै बसे। यो नाटकसँगै सुरु भयो नेपालमा उनको अभिनय यात्रा। उनी एकपछि अर्को गर्दै नाटकमा व्यस्त हुन थाले। नाटकबाट फुर्सद निस्केको समय उनी राजधानीकै एक होटेलमा जागिर गर्थे।

२०४३ सालमा प्रकाश सायमीको निर्देशनमा मञ्चन भएको नाटक आधा पैसा तथा ब्रस इरेजर र क्यान्भासमा अभिनय गरेर उनले पुरस्कार पनि जिते। दी रेड लामा नामक अंग्रेजी फिल्मबाट उनले सिल्भर स्क्रिनमा डेब्यु गरेका हुन्। नाटकमा काम गर्दागर्दै खारिएको अनुभवका कारण फिल्मको पर्दामा पनि उनको अभिनयले प्रशंसा पाउन थाल्यो। चेतन कार्कीको फिल्म विश्वासमा काम गरेपछि क्षेत्रीले प्रकाश सायमीकै निर्देशनमा बनेको फिल्म पृथ्वीमा सशक्त खलनायकको भूमिका निर्वाह गरे। प्रताप सुब्बाको निर्देशनमा बनेको फिल्म दिदीमा क्षेत्री पहिलोपटक नायकका रूपमा देखा परे।

क्षेत्रीले प्रकाश सायमीको हतियार र सिमाना, नारायण पुरीको आगो र शंकर, राजकुमार राईको द कमान्डो, अशोक शर्माको नीरमाया, माझीदाइ, झोला, बाटोमुनिको फूल, सेतो सूर्यलगायत एक सय ५० भन्दा बढी फिल्ममा विभिन्न भूमिका निर्वाह गरेका छन्। नाटक फिल्म हुँदै उनले टेलिफिल्महरूमा पनि अभिनय गरेका छन्। उनले लय संग्रौलाको टेलिफिल्म युगको सिकारदेखि चेतना, देवी, थोरै भए पुगिसरी, जीवनचक्र, उद्घाटन, दसैंजस्ता टेलिफिल्ममा अभिनय गरेका छन्। फिल्म झोलाको छायांकनको समयमा उनी निकै बिरामी परेका थिए।

दर्जनौं नेपाली फिल्ममा खलनायक र चरित्र अभिनेताका रूपमा अभिनय गरेका कलाकार क्षेत्री पछिल्लोपटक यस वर्षको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ मा देखिएका थिए। जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्न सक्ने खुबी भएका उनले आफ्नो व्यक्तिगत जीवन भने निकै कष्टकर रूपमा बिताए। गतको वर्ष स्वरनलीमा मासु पलाएका कारण स्वर गुमाएका क्षेत्रीको केही सम अगाडि शल्यक्रिया गरिएको थियो। त्यसयता उनी स्वस्थ थिए। उनकी पत्नी विपना बस्नेत (नक्कली हिसिला यमी) पनि फिल्म क्षेत्रमै सक्रिय छिन्। विवाह नगरी पति–पत्नीका रूपमा विगत १७ वर्षदेखि दीपक र विपना एकसाथ बस्दै आएका थिए। विपना फिल्ममा हेयर ड्रेसरको काम गर्थिन् भने दीपक कलाकारितामा खारिएका थिए। एक छारा र एक छोरीसहित पतिबाट अलग्गिएकी विपना र दीपक फिल्ममा काम गर्ने क्रममा नजिकिएका थिए। दीपकले विपनाकै सन्तानलाई आफ्नै सन्ताका रूपमा सकारेका थिए। उनीहरू २०५९ सालदेखि पति-पत्नीका रूपमा सँगै बस्दै आएका थिए। उनकी छोरी रिस्ता बस्नेतले पनि केही फिल्ममा काम गरेकी छन्। दीपकको निधन हुँदा विपना र छोरी रिस्ता भने कार्यक्रमको सिलसिलामा मलेसियामा थिए। जीवनको अन्तिम क्षणमा उनीहरूले दीपकलाई देख्न पाएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.