डोजरले महिला हुत्याउने चालक धरौटीमा रिहा
बैतडी : सडक निर्माणका क्रममा विवाद हुँदा डोजरले महिला हुत्याउने चालक किशोर बोहरा थुनामुक्त भएका छन्। बैतडीको दशरथचन्द नगरपालिका वडा नं–९ ग्वाल्लेकमा गत कार्तिक ४ गते सडक निर्माणका क्रममा विवाद हुँदा बोहोराले चलाएको डोजर हुत्याउँदा एक महिला घाइते भएकी थिइन्। भिडियो सार्वजनिक भएपछि बोहरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
मुद्दा दर्ता गरेपछि बोहरालाई पुर्पक्षका लागि जिल्ला अदालतले मंसिर १ गते कारागार चलान गरेको थियो। जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासले बोहरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालतको पौष ३ गतेको आदेश अनुसार बोहरालाई ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला कारागार बैतडीका जेलर अनिल तिवारीले जानकारी दिए। उनले भने ‘जिल्ला अदालतको आदेश अनुसार बोहरालाई कारागार चलान गरिएको थियो। उच्च अदालतले थुनामुक्त गरी धरौटीमा राखेर अनुसन्धान गर्ने आदेश सहित पत्र दिएपछि बोहरालाई थुनामुक्त गरिएको छ।’
बोहरामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको र सो मुद्दाको टुंगो नलागेकाले उच्च अदालतको आदेश अनुसार धरौटीमा रिहा गरिएको तिवारीले बताए। यसअघि डोजर चलाउन उक्साउने आरोपमा पक्राउ परेका स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी तथा डोजर मालिका भानीदत्त जोशी पनि ५०–५० हजार धरौटी बुझाएर रिहा भएका थिए। सडक खन्ने क्रममा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएपछि घटनाको सर्वत्र आलोचना भएको थियो।
डोजरकाण्डपछि अहिले सो क्षेत्रमा सडक निर्माण कार्य पूर्णरुपमा रोकिएको छ।
प्रतिक्रिया दिनुहोस !