ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष जेल चलान
![ज्यान मुद्दामा गाउँपालिका अध्यक्ष जेल चलान](https://annapurnapost.prixacdn.net/media/albums/Amari-lal_20191222084342_iAKWoOMow7.jpg)
कलैया : सवारी ज्यान मुद्दामा बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरिलाल राउत जेल चलान भएका छन्। डेढ दशकअघिको फैसलालाई कार्यान्वयन गर्दै बारा जिल्ला अदालतले आइतबार गाउँपालिका अध्यक्ष राउतलाई जेल पठाएको हो।
२०६२ सालमा भएको सवारी ज्यान मुद्दामा जिल्ला अदालतले राउतविरुद्ध २९ दिन कैद र दुई हजार जरिवाना फैसला गरेको थियो। फैसला अनुसार कैद भुक्तान नगरी बसेका राउतलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर अदालतमा पेश गरेको थियो। अदालतले पुरानो फैसलालाई कार्यान्यवन गर्ने क्रममा राउतलाई कारागार चलान गर्न आदेश दिएको हो।
आदेशसंगै प्रहरीले राउतलाई वीरगन्ज कारागार पठाएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए। प्रहरी उपरीक्षक खनालका अनुसार २०६२ सालमा राउतले चलाएको ना ४ प ३७८५ नम्बरको मोटरसाइकलले बाराको छातापिपरामा ६५ वर्षीया हसियादेवि चौधरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो।
चौधरीको मृत्यु भएपछि पीडित परिवारले राउतविरुद्ध अदालतमा रिट दायर गरेका थिए। सोही रिटमा जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते राउतविरुद्ध फैसला सुनाएको थियो। अदालतको फैसलापछि राउत कैद भुक्तान नगरी फरार रहेको देखिएकाले पक्राउ गरेर अदालतमा पेश गरेको प्रहरी उपरीक्षक खनालले बताए।
अदालतबाट कैद फैसला सुनाइएका राउत २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा निर्वाचित भएका हुन्। राउत नेपाल लोकतान्त्रित फोरमबाट उम्मेदवार बनेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)