छाउगोठ जान बाध्य पार्नेलाई जेल

छाउगोठ जान बाध्य पार्नेलाई जेल

अछाम : साँफेबगर नगरपालिका ४ मष्टामाडौं भण्डारी गाउँकी नन्दा बुढा मंसिर ३ गते छाउपडी गोठमा आगो बालेर बसिरहेकी थिइन्। गोठ साँघुरो भएकाले पनी यताउति फर्किन मिल्दैनथ्यो।

सुत्ने बेला तातो होला भनेर उनले आगो बालेकी थिइन्। गोठमा आगो तापेर बसिरहेकी उनको एक्कासि कुर्ताको पछाडि भागमा आगो लाग्यो। उनी कराउँदै बाहिर निस्किइन्। घरबाट उनकी छोरीले पानी खोजेर ल्याएर शरीरमा खन्याउँदासम्म ढाडको भाग जलिसकेको थियो। उनको परिवारले राति बयलापाटा अस्पताल पुर्‍याएपछि उनको ज्यान जोगियो।

‘रहर होइन बाध्यता हो, घरमा सासु धामी हुनुहुन्छ। घरमा बस्न त उहाँले दिनुहुन्न’, उनले भनिन्, ‘त्यो दिन मरिसकेकी थिएँ। छोरीले धन्न पानी खन्याइ र बाँचे। यति भइसक्दा पनि छाउपडी गोठमै बस्नुपर्ने बाध्यता छ।’

सोही गाउँकी मीना भण्डारी छाउ भएका बेला गोठमा आगो बालेर सुतिन्। राति गोठमा धुँवा भरिएपछि उनलाई सास फेर्न गाह्रो भयो। उनी हतार हतार उठेर बाहिर निस्किइन् र बाँचिन्। उनले भनिन्, ‘एक घण्टा त बेहोश नै भएछु।’

आगो तापेपछि सुत्न लाग्दा निभाएको तर क्रमशः धुँवा भरिएको उनको भनाइ छ। थाहा पाउना साथ हातखुट्टा टेकेर गोठबाहिर निस्केर ज्यान जोगाएको उनले सुनाइन्। अहिले उनलाई त्यही कारण श्वासप्रश्वाससम्बन्धी समस्या भएको छ। देवीदेउता र समाजको डरले फेरि गाउँमा छाउपडी गोठ बन्न थालेको उनले बताइन्।

मष्टामाडौंलाई २०७० सालमा छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। त्यतिबेला भत्काइएका छाउगोठ फेरि बनाइएका छन्। छाउगोठ मुक्त भएका वडाका अधिकांश महिला फेरि छाउगोठमै बस्न थालेका छन्। साँफेबगर नगरपालिकाका ७ वटा वडा छाउगोठ मुक्त वडा घोषणा भइसकेका छन्।

अछामका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका सुगम र मुख्य व्यापारिक केन्द्रका रूपमा मानिन्छन्। नगरपालिकाको कार्यालयसँगै जोडिएको वडा नम्बर ३ सिद्धेश्वर डिक्रेनीमा गएको मंसिर १६ गते पार्वती बुढा रावतको छाउगोठमै मृत्यु भयो।

त्यसपछि सिद्धेश्वरमा छाउगोठ भत्काउने अभियानमा महिला लागिपरेका छन्। साँफेबगर नगरपालिकाले अब छाउपडी कुप्रथा मान्नेलाई नगरबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्तादेखि शिक्षकको तलबसम्म रोक्ने भएको छ। मेयर कुलबहादुर कुँवरले भने, ‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि कोही पनि छाउगोठमा बसेको पाएमा सम्पूर्ण सेवा सुविधा रोकिने छ। छाउगोठमा जाने र जान बाध्य पार्नेलाई अब जेल हालिने छ।’

कानुन नमान्ने हक कसैलाई पनि नहुने कुँवरको भनाइ छ। छाउगोठमा बसे नबसेको अनुगमन रातमा गरिने छ। कडा कदम नचाल्दासम्म कुप्रथाको अन्त्य नहुने उनले बताए। हाल जिल्लाका साविकका ३१ गाविस छाउगोठ मुक्त घोषणा भएको सूची छ।

छाउपडी कुप्रथालाई न्यूनीकरण गर्न अछाममा अभ्यास नभएको होइन। तर जे जति लगानी भए पनि वर्षेनी छाउगोठमा महिला तथा किशोरीले ज्यान गुमाउने क्रम नरोकिएपछि उपलब्धि शून्य जस्तै छ। एक दशकयता जिल्लामा १४ महिला तथा किशोरीले छाउगोठमा ज्यान गुमाइसकेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.