लुम्बिनी बौद्ध विश्‍वविद्यालयको १५ वर्षपछि स्वरुप फेरिँदै

लुम्बिनी बौद्ध विश्‍वविद्यालयको १५ वर्षपछि स्वरुप फेरिँदै

बुटवल : विश्‍वविद्यालय भन्‍नासाथ ठूला-ठूला संरचना, प्रशस्त विद्यार्थी, पुस्तकालय, अनुसन्धान केन्द्रसहितलाई बुझिन्छ । तर मुलुकको विशिष्टिकृत लुम्बिनी बौद्ध विश्‍वविद्यालय भने एक दशक काठमाडौंको एउटा कोठामा सीमित रह्यो ।

सरकारले काठमाडौंमा रहेका विश्‍वविद्यालयका सम्पर्क कार्यालय हटाउने निर्णय गरेपछि यसले विश्‍वविद्यालयको स्वरुप पाएको छ । स्थापनाको १५ वर्षपछि शैक्षिक संस्थाको स्वरुप देखिन थालेको हो । ऐनमा केन्द्रीय कार्यालय लुम्बिनी रहने उल्लेख्य भएपनि विश्‍वविद्यालय पाँच वर्षअघिसम्म काठमाडौंमै सीमित थियो ।

विश्‍वविद्यालय त्यहाँ नियुक्त पदाधिकारीकै कारण खुम्चिएको हो। त्रिभुवन विश्‍वविद्यालय वा अन्यबाट सेवानिवृत्त प्राध्यापकलाई पदाधिकारीमा नियुक्ती गर्ने प्रवृतिका कारण अन्य विश्‍वविद्यालय समेत विकास हुन सकेका छैनन्। अहिले पनि काठमाडौं बाहिरका विश्‍वविद्यालय त्यसको शिकार बनिरहेका छन् ।

लुम्बिनी बौद्ध विश्‍वविद्यालयमा स्थानीय पदाधिकारी नियुक्त भएपछि यसले फड्को मारेको हो । विश्‍वविद्यालयको हालका रजिष्टार डा. तिलकराम आचार्य केन्द्रीय क्याम्पसका पूर्व सहायक प्रमुख हुन् । उनको नियुक्तीसँगै विश्‍वविद्यालयका पदाधिकारी पहिलो पटक लुम्बिनी आएका थिए । 

त्यसलगत्तै लुम्बिनीबाटै शैक्षिक कार्यक्रम सुरु गरिएको थियो ।विश्‍वविद्यालयका पदाधिकारी काठमाडौंमै बस्ने प्रवृत्तिका कारण विश्‍वविद्यालयले स्थापनाको लामो समयसम्म शैक्षिक गतिविधि सञ्चालन गर्न सकेको थिएन । दुई वर्षअघि सरकारले विश्‍वविद्यालयका काठमाडौंमा रहेका सम्पर्क कार्यालय हटाउने निर्णय गरेपछि सबै पदाधिकारीहरु अहिले लुम्बिनी हाजिर हुने गरेका छन्।

विश्‍वविद्यालयका पदाधिकारी दोहोरो सुबिधा लिएर काठमाडौं बसेको भन्दै आलोचना समेत भएको थियो । निवर्तमान उपकुलपति डा. नरेशमान बज्राचार्यले एक वर्षमा करिब दुई महिनामात्रै विश्‍वविद्यालयको केन्द्रीय कार्यालयमा बिताएका थिए । त्रिुभवन विश्‍वविद्यालयमा सेवा गर्ने प्राध्यापक अन्य विश्‍वविद्यालयमा पदाधिकारी बन्दा विकासमा ध्यान नदिएको गुनासो अझै हटेको छैन । सरकाले पदाधिकारी नियुक्ती गर्दा सोही विश्‍वविद्यालयमा सेवारतलाई नियुक्ती गर्नुपर्ने माग समेत हुँदै आएको छ ।

लुम्बिनीमा भएको बौद्ध शिखर सम्मेलनपछि स्थापना भएको बौद्ध विश्‍वविद्यालय मुलुककै फरक प्रकृतिको शैक्षिक संस्था मानिन्छ । बौद्ध दर्शन, कला, धर्म, संस्कृति, पुरातात्विक विषय यसका अध्यापन दायरा हुन् ।

विद्यावारिधी (पिएचडी)बाट शैक्षिक कार्यक्रम सुरु गरेको विश्‍वविद्यालयले ०७१ सालमा स्नातकोत्तर तहमा बौद्ध शिक्षाको पठनपाठन थालेको हो । अहिलेसम्म छैठौं ब्याजका विद्यार्थीले बौद्ध दर्शन अध्ययन गरिरहेका छन् भने स्नातक तह र एक वर्षे प्रमाणपत्र तहका कक्षा समेत थपिएका छन् । 

'केन्द्रीय कार्यालयमै कक्षा सञ्चालन र भौतिक पूर्वाधार निर्माण थालिएपछि विश्‍वविद्यालयको दायरा बढ्दै गएको छ, रजिष्टार डा. तिलकराम आचार्यले अन्नपूर्णसँग भने, 'अब शैक्षिक क्रियाकलापसँगै भौतिक पूर्वाधारलाई रफ्तारमा अघि बढाउँछौं।'

लुम्बिनी पर्सामा विश्‍वविद्यालयको केन्द्रीय कार्यालय र क्याम्पस सञ्चालनमा रहेको छ । केन्द्रीय क्याम्पसले स्नातक र एक वर्षे प्रमाणपत्र तहका भाषा कक्षा समेत सुरु गरेको छ । बुटवलमा स्नातक तहमा ट्राभल एण्ड टुरिजम र कानुन (बिएएलएलबी) कक्षा सञ्चालनमा रहेका छन् । विश्‍वविद्यालयमा अहिले करिब १ हजार विद्यार्थी पुगेका छन् । ०७१ सालमा जम्मा ७० जना विद्यार्थी भर्ना भएका थिए ।

बौद्ध विश्‍वविद्यालयले काठमाडौंका  विभिन्न सातवटा निजी कलेजलाई सम्बन्धन दिएको छ । रजिष्टार आचार्यले विदेशी विद्यार्थीलाई भर्ना लिने गरी तयारी भइरहेको बताएका छन् । 'पूर्वाधार नभएका कारण प्रर्याप्त मात्रामा विद्यार्थी भर्ना गर्न कठिन थियो, अब केही संरचना तयार भएका छन्,' उनले भने ।

बौद्ध विश्‍वविद्यालय भएपछि सो सम्बन्धित पूर्वाधारको अभाव छ । विश्‍वविद्यालयले ११ विगाहा जग्गामा आधारभूत पूर्वाधार निर्माण गरेको छ । सरकारले भवनबाहेक अन्य पूर्वाधार निर्माणका लागि बजेट नदिँदा बौद्ध संस्कृति सम्बन्धित पूर्वाधार बनाउन कठिन रहेको विश्‍वविद्यालयले जनाएको छ । 

विश्‍वविद्यालयले लुम्बिनी विकास कोष परिसर र सुण्डीमा सुबिधायुक्त छात्राबास, पदाधिकारी निवास, शिक्षक आवास निर्माण गरेको छ । २० करोडको लागतमा अनुसन्धान केन्द्र तथा करिव ११ करोड लागतमा पुस्तकालय भवन निर्माणधिन रहेका छन् ।

शैक्षिक पर्यटन क्षेत्र

बौद्ध दर्शन विश्‍वका धेरै विश्‍वविद्यालयमा अध्यापन हुन्छ । तर विदेशी नागरिक लुम्बिनीलाई विशेष महत्व राख्ने गरेका छन् । यो विश्‍वविद्यालयलाई शैक्षिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने संभावना रहेका छन् । त्यसका लागि अझ धेरै पूर्वाधार आवश्यक रहेको रजिष्टार आचार्यले बताए । 

लुम्बिनी आउने प्रायः पर्यटक बौद्ध विश्‍वविद्यालयको अवलोकनमा पुग्ने गरेका छन् । केही समयअघि विश्‍वविद्यालय परिसरमै बनेको स्तुपामा बुद्धका अस्तुधातु प्रतिस्थापन गरिएपछि यसको आकर्षण बढेको हो ।

विश्‍वविद्यालयले ७ करोडको लागतमा स्तुपा बनाएको हो । जसमा म्यानमारका भिक्षुहरुको सहयोगमा अस्तुधातु राखिएको छ । बौद्ध समुदायमा अस्तुधातु राखिएको स्तुपालाई महत्व दिइन्छ ।

विश्‍वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले विश्‍वकै नमुना विश्‍वविद्यालय बनाउने योजनासहित काम भइरहेको बताछन् । 'हामी मुलुकका अन्य विश्‍वविद्यालयभन्दा भिन्न हौं, यसको फरक प्रकृति छ, उनले भने, 'स्वदेशी विश्‍वविद्यालयको प्रतिष्पर्धी बन्दै नमुना बन्ने योजनामा छौं ।'

बौद्ध सर्किटका थुप्रै पुरातात्विक क्षेत्रको अध्ययन हुन बाँकी छ । यही विश्‍वविद्यालयले नै त्यस्ता जनशक्ति उत्पादन गर्ने रजिष्टार आचार्यले बताए । आर्कालोजी, म्युजियोलोजी, थेरवाद, महायान विषय विश्‍वविद्यालयमा अध्यापन भइरहेका छन् । यी विषयले अध्ययेता उत्पादन गर्दै पुरातात्विक क्षेत्रको अन्वेषण सघाउ पुग्ने विश्‍वविद्यालयले जनाएको छ ।

बौद्ध क्षेत्रमा विस्तार

विश्‍वविद्यालयले बौद्ध स्मारक क्षेत्रमा शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ । विश्‍वविद्यालयलाई बौद्ध दर्शनसँग जोडेर बहुविषयमा लैजादै कपिलवस्तु र देवदहमा कक्षा सञ्चालनको योजना बनाएको हो ।

रुपन्देहीको देवदहलाई बुद्धको मावली मानिन्छ । त्यहाँको १०० विगाहा जमिनमा भौतिक पूर्वाधार गर्ने योजना रहेको रजिष्टार आचार्यले बताए । 'जग्गा प्राप्तिका लागि मन्त्रालयमा फाइल पुगेको छ, उनले भने, 'मन्त्रीपरिषद्ले जग्गा स्विकृति दिनासाथ पूर्वाधार निर्माण हुन्छ ।'

विश्‍वविद्यालयलाई शैक्षिक टुरिजम क्षेत्रका रुपमा विकास गर्ने योजना बनाइएको छ । विदेशी विद्यार्थीलाई अध्ययन अनूमति दिए लुम्बिनी प्रवद्र्धनमा सघाउ पुग्नेछ । त्यसकै लागि बुद्धस्थल तिलौराकोट र नवलपरासीको रामग्राममा समेत विश्‍वविद्यालयलाई विस्तार गर्ने योजना रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.