अब बैतडीको पाटनमा पनि प्याराग्लाइडिङ
बैतडी : बैतडीको पाटनमा आगामी माघदेखि नियमितरुपमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । प्याराग्लाइडिङको सफल परीक्षणपछि माघमहिनादेखि नियमितरुपमा प्याराग्लाडिङ सञ्चालनको तयारी भएको बैतडी अमेजिङ एडभेन्चर प्रालिका सञ्चालक भुपेन्द्र कार्कीले जानकारी दिए ।
'हामीले पाटनको जोलाबाँजदेखि एयरपोर्टसम्म प्याराग्लाइडिङको सफल परीक्षण गरिसकेका छौं । परीक्षणको क्रममा प्याराग्लाइडिङ गर्न सकिने देखिएको छ,'उनले भने, 'प्याराग्लाइडिङमार्फत जिल्लामा पर्यटक भित्र्याउने हाम्रो उद्देश्य रहेको छ ।'
भ्रमण वर्षलाई लक्षित गरेर पर्यटकलाई आकर्षित गर्न प्याराग्लाइडिङ सञ्चालनको तयारी भएको कार्कीले बताए । नयाँ कुरा भएकाले सबै आकर्षित भएका छन् ।
प्याराग्लाइडिङ गर्नेहरुको संख्या बढ्ने अनुमान रहेको कम्पनीका अर्का सञ्चालक कृष्णप्रसाद जोशीले बताए। भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्याराग्लाइडिङको आयोजना गरिएको बैतडी अमेजिङ एडभेन्चर्स प्रालिले जनाएको छ ।
जिल्लामा प्रशस्त पर्यटकीय सम्भावना रहेकाले प्याराग्लाइडिङले पनि राम्रो पर्यटक तान्ने माध्यम बन्ने कार्कीले बताए । पाटनसँगै दोगडाकेदार पनि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको उनले बताए ।
'हामीले पाटनमा प्याराग्लाइडिङ, दोगडाकेदारमा जीप लाइन र चमेलीया नदी र्याफ्टिङ सञ्चालनको तयारी गरेका छौं । यसमा सबैको सहयोगको आसा पनि गरेका छौं।' प्याराग्लाइडिङको सफल परीक्षण भएकाले पाटनमा यो व्यवसाय फस्टाउन सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए ।
प्याराग्लाइडिङ सञ्चालनले जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए ।उनले पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र विकासका लागि स्थानीय सरकारले पनि योजना अघि ल्याउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !