मेलौलीको संशोधित बजेट ५२ करोड ४१ लाख
बैतडी : बैतडीको मेलौली नगरपालिकाको पाँचौं नगरसभाले ५२ करोड ४१ लाख ९३ हजार ९४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत असारमा सम्पन्न चौथो नगरसभाले पारित गरेका केही योजनालाई फेरबदेल गर्दै बजेट पारित गरिएको उपप्रमुख राधा ओझाले बताइन् । उनले भनिन्, 'नगरपालिकाको पाँचौं नगरसभाले चालु खर्चमा व्यापक कटौती गरेर विकास खर्च बढाएको छ । केही कार्यक्रम थप गरेर बजेट पारित गरेका छौं।'
गत असारमा नगरपालिकाले ३७ करोड ६५ लाख ७९ हजारमा सामाजिक सुरक्षा, संघीय अनुदानलगायतका शीर्षक थपेर बजेटको आकार बढाएको नगरप्रमुख कृष्णसिंह नायकले बताए ।नगरपालिकाको आवश्यकता अनुसार बजेटमा थपघट गरेर संशोधित बजेट पारित गरिएको उनले बताए।
नगरपालिकाभित्रका भौतिक पूर्वाधारका योजनालाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गरिएको प्रमुख प्रशसाकीय अधिकृत धर्मराज न्यौपानेले बताए । नगरसभाले नगरपालिकाका लागि गाडि किन्न छुट्याएको बजेट पानी ट्यांकर खरीद गर्ने शीर्षकमा छुट्याएको छ भने बसपार्क निर्माणका लागि पनि बजेट विनियोजन गरेको छ ।
यस्तै पाचौं नगरसभाले इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गर्ने, इलाका प्रहरी कार्यालयलाई (क) श्रेणीमा स्तरोन्नती गर्ने लगायतका सार्वजनिक महत्वका निर्णय पनि पारित गरेको छ ।
नगरपालिकामा अनिवार्य अंग्रेजी शिक्षा
नगरपालिकाभित्रको शैक्षिक गुणस्तर सुधारका लागि मेलौली नगरपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा आधारभूत तहमा अनिवार्य अंग्रेजी शिक्षा लागू गर्ने भएको छ । पहिलो चरणमा बालविकास र कक्षा १ मा अनिवार्य अंग्रेजी माध्यमबाट पढाइ गर्ने नगरपालिकाले नीति लिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।
प्रतिक्रिया दिनुहोस !