अछाममा फेरि छाउगोठ भत्काइँदै
अछाम : अछाममा छाउ गोठमा एक महिलाको ज्यान गएपछि फेरि छाउ गोठ भत्काउने अभियान सुरु भएको छ। साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मृत्यु भएको छाउगोठबाट गोठ भत्काउने अभियान सुरु भएको हो।
साँफेबगर नगरपालिकाका वडाहरूले पछिल्लो समय छाउ गोठ व्यवस्थापन समिति गठन गरी छाउगोठ भत्काउने कामको थालनी गरेका छन्। साँफेबगर नगरपालिका ३ सिद्धेश्वर र १४ पातलकोटमा गरी १ सय ८० गोठ भत्काइएका छन्। पातलकोट छाउ गोठमुक्त घोषणाको तयारीमा रहेको वडाध्यक्ष कर्ण साउदले बताए। उनले भने, ‘१ सय २० गोठ भत्काएका छौं, नामको मात्र घोषणामै सीमित राख्दैनौं, यसलाई प्रभावकारी बनाउन पहिलो चरणमा जनचेतना जगाउने काम भयो, त्यसपछि आमा समूह, महिला सञ्जाल र युवा सञ्जालकै सक्रियतामा गोठ भत्काएका छौं, स्वतस्फूर्त रूपमा महिला लागेका छन्।’
अहिले साँफेबगर नगरपालिकाका वडाहरुले छाउ गोठमा बस्ने गरे नगरेको अवस्थाबारे अनुगमन गर्न थालेको सिद्धेश्वरका वडाध्यक्ष कृष्ण बुढाले बताए। उनले भने ‘अहिलेसम्म ६० छाउ गोठ भत्काएका छौ, यसका महिला आफै अग्रसर भएर लागेका छन्।’
बुढाले घरधुरी अनगमन र गोठ भत्काउने पहिलो चरणको कार्यक्रम सम्पन्न भएको बताए। ‘महिला सबैले अब घरमै सुरक्षित तरिकाले बस्छौं भनेर प्रतिवद्धता जनाउनु भएको छ’, उनले भने। कतिपय घरको संरचना पुरानो र सानो भएकाले पनि महिनावारी भएका बेला बस्न समस्या हुने गरेको उनले बताए। छाउपडी कुप्रथासम्बन्धी कानुन बनिसकेपछि छाउ गोठमा ज्यान गुमाएकी पार्वती बुढा रावतका जेठाजु छत्र रावतलाई अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको छ। एक दशकयता जिल्लामा पार्वतीलगायत १४ महिला तथा किशोरीले छाउ गोठमा ज्यान गुमाउन परेको छ।
प्रतिक्रिया दिनुहोस !