ठगीमा सवा लाख चिनियाँ

ठगीमा सवा लाख चिनियाँ

पइचिङ : यो वर्ष चीनमा १ लाख १८ हजारवटा सञ्जाल ठगीका घटना भएका छन्। साथै उक्त मामिलामा संलग्न ९९ हजार शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार १ लाख १८ हजारवटा यस्ता ठगी मुद्दाको समाधान गरिएको छ।

सार्वजनिक सुरक्षा मन्त्रालयले यसै वर्षको जुन महिनाबाट सामाजिक सुव्यवस्थाको निरन्तर स्थिरता तथा सुनिश्चितताका लागि ‘युन च्येन’ अर्थात् ‘बादल तरबार’को कारवाही चलाएको थियो। यो युन च्येन विविध किसिमका नयाँ नयाँ साइबर अपराध रोक्न सञ्चालन गरिएको हो। यो युन च्येन अपरेशनपछि स्थानीय सार्वजनिक सुरक्षा अंगले ५७६ वटा राष्ट्रिय सम्पत्तिमाथि जालसाजी गर्ने गिरोहको पर्दाफास गर्नुका साथै ८ हजार ९८२ संदिग्ध अपराधीहरूलाई पक्राऊ गरेको थियो।

सार्वजनिक सुरक्षा मन्त्रालयको अपराध अनुसन्धान ब्यूरोका निर्देशक लिउ चोङ यीले स्थानीय सार्वजनिक सुरक्षा अंगले सार्वजनिक सुरक्षा मन्त्रालयको सुराकीमा देशभित्र कारबाही चलाएको बताए। ब्यूरो निर्देशक लिउका अनुसार देशभरि दूरसञ्चार नेटवर्कमा जालसाजी गर्ने घटनाको संख्या निकै बढेको छ।

मोबाइल फोन कार्ड र बैंक कार्ड सम्बन्धी अवैध र आपराधिक गतिविधिविरुद्ध लड्न सार्वजनिक सुरक्षा मन्त्रालयले २० वटा भन्दा बढी प्रान्तमा विशेष अभियान चलाएको थियो। मन्त्रालयका अनुसार धेरै ठूला मोबाइल फोन कार्ड र बैंक कार्ड आपराधिक नेटवर्कहरू दक्षिणपूर्व एशियाबाट सञ्चालित छन्। त्यस्ता गतिविधि चीन–म्यान्मा सीमानासँगै दक्षिणपूर्व एशियामा धेरै हुने गरेको छ। सार्वजनिक सुरक्षा मन्त्रालयले विभिन्न शहर तथा प्रान्तका सुरक्षा एजेन्सीसँग मिलेर कम्बोडिया, फिलिपिन्स, भियतनाम, लाओसलगायतका देशहरूका स्थानीय प्रहरीसँगको सहकार्यमा ६५ वटा त्यस्ता ठाउँमा छापा मारेको छ। त्यहाँबाट यस्ता फ्रड केसमा संलग्न २ हजार ५५३ शंकास्पद चिनियाँलाई देश फिर्ता ल्याएको चोङक्वो सिनवन नेटवर्कले लेखेको छ।

कतिपय यस्ता अपराधीहरू विदेश भागेर यस्तै अवैध तथा आपराधिक गतिविधिमा संलग्न हुँदैआएको पनि बताइएको छ। विभिन्न देशको प्रहरीसँगको सहकार्यमा धेरै संख्यामा यस्ता अड्डाहरूलाई नष्ट गरे पनि अपराधीहरू उम्केर छिमेकी देशहरूमा फेरि पनि यस्तै गतिविधिमा सक्रिय रहने गरेका छन्। त्यसैगरी यूरोपबाट पनि यस्ता गतिविधिमा संलग्नहरूलाई पक्रेर देश फिर्ता ल्याई कारबाही बढाएको जनाएको छ।

यसैबीच २४ तारिखमा आयोजित पत्रकार सम्मेलनमा नेपालसँगको संयुक्त सहकार्यमा सीमापार अनलाइन जालसाजी गतिविधिमा संलग्न १२२ चिनियाँ पक्राउ परेको चीनले बताएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले चिनियाँ र नेपाल प्रहरीको संयुक्त सहकार्यमा सीमापार अनलाइन जालसाजी गतिविधिमा संलग्न १२२ चिनियाँ पक्राउ परेको बताएका हुन्। सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै प्रवक्ता कङले ती चिनियाँ नागरिक सीमापार अनलाइन जालसाजी गतिविधि साइबर ठगीमा संलग्न भएको बताएका थिए।

उनले भने, ‘यी चिनियाँ नागरिकहरूलाई सीमापार अनलाइन जालसाजी गतिविधिमा संलग्न भएको आशङ्का गरिएको छ। सम्बन्धित घटना हाल अनुसन्धानको दायरामा छन्।’ यो चीन र नेपालको प्रहरीले गरेको एउटा महत्वपूर्ण संयुक्त अपरेशन भएको उनले खुलासा गरे। चीन नेपालसँग विभिन्न क्षेत्रहरूमा सहकार्यलाई निरन्तरता दिन इच्छुक भएको उनले बताए। कानून कार्यान्वयन, संयुक्त रूपमा सीमापार अपराधको सामना र दुई पक्षबीचको मैत्रीपूर्ण आदानप्रदानलाई प्रवर्धन गर्न चीन उत्सुक भएको कङको कथन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.